गृहपृष्ठ प्रदेश १ का इन्धन ट्यांकरमा सेक्युरिटी लकिङ

प्रदेश १ का इन्धन ट्यांकरमा सेक्युरिटी लकिङ

locking-system-newskarobar

नेपाल आयल निगम प्रदेश १ कार्यालयले भारतबाट इन्धन ओसार्ने ट्यांकरमा सेक्युरिटी लकिङ सिस्टम लागू गरेको छ । निगमको प्रदेश कार्यालयपरिसरमा आइतबार लकिङ सिस्टम प्रणाली उद्घाटन गरिएको हो ।

इन्डियन आयल कर्पोरेसन र नेपाल आयल निगमका पदाधिकारीको उपस्थितिमा लकिङ सिस्टम प्रणाली लागू गरिएको छ । मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य र नेपाल आयल निगमका कार्यकारी निर्देशक सुशील भट्टराईले भारतको बरौनीबाट लक गरी ल्याइएको ट्यांकरको ताल्चा खोल्दै सुरक्षात्मक लकिङ प्रणालीको सुरुवात गरे ।

कार्यक्रममा निगमका कार्यकारी निर्देशक भट्टराईले आधुनिक लक सिस्टम कुनै पनि हालतमा सफल हुने बताए । लक सिस्टम लागू गर्ने विषयमा छलफल गर्दा यसअघि अवरोध भएको भन्दै भट्टराईले आक्रोशसमेत व्यक्त गरे ।

प्रदेश कार्यालयले इन्डियन आयल कर्पोरेसनको सिलिगुडी र बरौनी डिपोबाट ट्यांकरमार्फत इन्धन आयात गर्दै आएको छ । इन्धनमा चुहावट बढेपछि लकिङ सिस्टमको आवश्यकता महसुस गरिएको हो । सेक्युरिटी लकिङ सिस्टम लागू भएपछि भारतमा इन्धन लोड गर्ने ठाउँमा ट्यांकरहरुमा लगाइएको ताला नेपालस्थित नेपाल आयल निगमको डिपोमा मात्र खोलिनेछ ।

यसो गर्दा ढुवानीका क्रममा हुने इन्धन चोरी र मिसावटको क्रम रोकिने निगमका प्रदेश कार्यालय प्रमुख भानुभक्त खनालले बताए । क्षेत्रीय डिपो विराटनगरका लागि तीन सय ५० ट्यांकरले इन्धन ओसार्ने गरेका छन् ।

निगमको प्रदेश कार्यालयले भारतको बरौनीबाट ९० प्रतिशत इन्धन आयात गर्छ । क्षेत्रीय डिपोमा वार्षिक २ लाख ४० हजार किलोलिटर डिजेल र ६६ हजार किलोलिटर पेट्रोल आयात हुन्छ ।

प्रकाशित समय ११:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु