गृहपृष्ठ ओली सरकारका आठ मन्त्रीका २३ गल्ती
ओली सरकारका आठ मन्त्रीका २३ गल्ती

इतिहासकै शक्तिशाली भनिएको केपी ओली नेतृत्वको सरकार गठन भएको पाँच महिना बितिसकेको छ । तर, निर्वाचनअघि जनतामा बाँडेका सपना र पाँच महिने गतिविधिको तालमेल नमिल्दा सडकदेखि सदनसम्म सरकारको आलोचना भइरहेको छ । यस्तो हुनुमा अरु कोही नभएर ओली सरकारका मन्त्री नै मुख्य जिम्मेवार देखिन्छन् ।
आलोचना बढ्दै गएपछि सत्तारुढ दलका नेता सरकारलाई घेराबन्दीमा पारिएको भन्दै बचाउमा उत्रिएका छन् । सरकारी पक्षले बाह्य शक्ति, समूह वा विपक्षी गलत प्रचारबाजीमा उत्रिएको दाबी गरिरहँदा मन्त्रीकै कारण सरकार बदनाम हुँदै गएको भने कसैबाट छिपेको छैन । मन्त्री विवादमा तानिँदा सिंगो सरकार र प्रधानमन्त्री ओलीप्रति जनताको विश्वास क्रमशः टुट्दै गएको छ । आफ्नै मन्त्रीका कारण प्रधानमन्त्रीले लोकप्रियता गुमाउँदै गएका छन् ।
ओली सरकारका कुन–कुन मन्त्रीले कस्ता गल्ती गरिरहेका छन्, जसले ओली सरकारलाई विवादित र अलोकप्रिय बनाइरहेको छ ?
रघुवीर महासेठ, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री
विवाद नम्बर १ : महानिर्देशक सरुवा
सरकारका सबैभन्दा बढी विवादित मन्त्री हुन्, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रघुवीर महासेठ । सार्वजनिक यातायात क्षेत्रको सिन्डिकेट हटाउन महत्वपूर्ण भूमिका खेलेका यातायात व्यवस्था विभागका तत्कालीन महानिर्देशक रूपनारायण भट्टराईलाई हटाएपछि उनी विवादमा तानिन थालेका हुन् । महानिर्देशक भट्टराईलाई यातायात मन्त्रालयमा काज सरुवा गरेको दुई महिनाभन्दा बढी बित्यो तर मन्त्री महासेठले उनलाई अहिलेसम्म कुनै भूमिका दिएका छैनन् । अहिले उनी दैनिक कार्यालयमा काम गर्न होइन, हाजिर गर्न जाने गर्छन् । सिन्डिकेट कायम गर्न सकिन्छ भन्ने मनसायले सडकमा एकाधिकार कब्जा गर्न चाहने यातायात व्यवसायीको प्रभावमा परेर मन्त्री महासेठले महानिर्देशक हटाउने गल्ती गरेका थिए ।
विवाद नम्बर २ : सिन्डिकेट ब्युँताउने प्रयास
सार्वजनिक यातायतामा स्वच्छ प्रतिस्पर्धा हुने गरी सिन्डिकेट अन्त्यको घोषणा हुँदा जनता खुसी भएका छन् । असार मसान्तबाट सिन्डिकेट हटाउने सरकारको निर्णयमा महासेठ बाधक बनेपछि यातायात समितिलार्ई कम्पनीमा दर्ता गर्ने प्रक्रिया लम्ब्याइएको छ । विभागीय मन्त्री नै अवरोधक बनेपछि सार्वजनिक यातायातमा सिन्डिकेटको जालो तोड्ने सरकारको योजनामा धक्का पुगेको छ । मन्त्री महासेठ नै भित्री रूपमा व्यवसायीको पक्षपोषणमा लागेको आरोप लागिरहेको छ ।
विवाद नम्बर ३ : ‘कामचोर ठेकेदार’को पक्षमा लबिङ
विभागका महानिर्देशकलाई हटाएसँगै कामचोर ठेकेदारमाथि कारबाही गर्ने गृह मन्त्रालयको योजनामा पनि महासेठ तगारो बने । वर्षाैंदेखि ठेक्का ओगटेर काम नगरी बस्ने र काममा लापर्बाही गर्नेमाथि कारबाही गर्ने गृहमन्त्रीको अभियानमा अवरोधक बन्दै ठेकेदारको बचाउमा लागेपछि महासेठ सर्वाधिक विवादमा तानिए । गृहमन्त्रीले काठमाडौँमा ५ सय हाराहारीका परियोजनामध्ये झन्डै ३ सय आयोजनाको ठेक्का सम्झौताअनुसार काम नभएको भन्दै ‘कामचोर’ ठेकेदारको तथ्यांक संकलन गरेर कारबाही गर्ने बताएपछि महासेठले रोकेका थिए ।
विवाद नम्बर ४ : बीपी मार्गमा ठूला सवारी खुला
बीपी राजमार्गमा ठूला सवारीसाधन सञ्चालन नगर्न सर्वाेच्च अदालतले दिएको आदेशविपरीत मन्त्री महासेठले निर्णय लिए । बनेपा– खुर्कोट– सिन्धुलीसम्मको बीपी हाइवेमा महासेठले ठूला यातायात व्यवसायीको प्रभावमा परी मापदण्डविपरीतका ठूला बस सञ्चालन गर्न अनुमति दिए । सडकको क्षमता र संरचना नहेरी निर्णय गरेको भन्दै व्यापक आलोचनामात्र भएन, सर्वोच्च अदालतमा रिटसमेत परेको छ ।
विवाद नम्बर ५ : सडकका खाल्डा पुर्न नसक्नु
वर्षामा काठमाडौंको मुटु मानिने बौद्ध–जोरपाटीको सडकको दुरवस्थालाई लिएर सर्वसाधारण सरकारको उछितो काढिरहेका छन् । कतिपयले त बौद्ध–जोरपाटी सडकमा जमेको पानीको तस्बिर खिचेर ‘यही हो ओलीको पानीजहाज’ भनेर उडाउने मौकासमेत पाएका छन् । मन्त्री महासेठले ‘कामचोर’ ठेकेदारलाई उन्मुक्ति दिएका कारण सडकको खाल्डा नपुरिएको भन्दै उनी आलोचित छन् ।
रामबहादुर थापा, गृहमन्त्री
विवाद नम्बर १ : निषेधित क्षेत्र तोक्ने निर्णय
काठमाडौंको माइतिघर मण्डलालगायतका विभिन्न क्षेत्रलाई निषेधित क्षेत्र तोक्ने निर्णयको विरोधमा तालुकदार मन्त्रालय गृहसहित सरकारको ठूलो आलोचना भयो । निर्णय बदरको माग गर्दै सर्वोच्च अदालतमा रिटसमेत पर्याे । हुन त सर्वोच्चले सरकारलाई उक्त निर्णय तत्काल कायान्वयन नगर्नू भनी अन्तरकालिन अन्तरिम आदेश दिइसकेको छ । तर, यसबारे सरकारको आलोचना हुन भने छाडेको छैन । विपक्षीसँगै मानवअधिकारकर्मी, नागरिक अगुवा र सर्वसाधारणलेसमेत गृहमन्त्रीको आलोचना गरिरहेका छन् ।
विवाद नम्बर २ : उपकुलपति नियन्त्रण
वरिष्ठ चिकित्सक गोविन्द केसीको अनसन र चिकित्सा शिक्षा विधेयक सरकारलाई टाउको दुखाइ बनिरहेका बेला अर्का डाक्टरको विवाद थपिएको छ । संस्कृत विश्वविद्यालयका उपकुलपति डा. कुलप्रसाद कोइरालालाई विदेश भ्रमणमा जानबाट रोक्ने क्रममा सरकारले प्रहरी लगाएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बालुवाटार ल्यायो । आफूलाई विमानस्थलबाट बालुवाटार ल्याएर बन्दी बनाएको भन्दै कोइरालाले सरकारको खोइरो खने । सरकारले चाहिँ उपकुलपति कोइरालाले प्रक्रिया पूरा नगरेको दाबी गर्यो । यो विषयले पनि गृहमन्त्री थापा विवादमा तानिए ।
विवाद नम्बर ३ : डाक्टरलाई अभद्र व्यवहार
द्वन्द्वकालका घाइतेको अपांगताका भएकाहरुको मेडिकल रिपोर्ट आफ्नो अनुकूल नबनाएको निहुँमा गृहमन्त्री थापाको निर्देशनमा राष्ट्रिय ट्रमा सेन्टरमा कार्यरत वरिष्ठ हाडजोर्नी विशेषज्ञ डा. भोजराज अधिकारीमाथि दुव्र्यवहार गरियो । सरकारी चिकित्सक संघ (गोदान) का आजीवन सदस्यसमेत रहेका अधिकारीलाई गृह मन्त्रालयमा बोलाएर दुव्र्यवहार गरिएको भन्दै गृहमन्त्री थापा विवादित बन्न पुगे । गृहमन्त्रीले गर्न लगाए/लगाएनन्, त्यो अर्काे पाटो हो तर पदको दुरुपयोग गर्दै आफ्नो टिमका अरुले गरेका त्यस्ता रबैया बन्द गर्न तथा त्यस्ता गतिविधि गर्नेलाई कारबाही गर्न गृहमन्त्री थापा असफल भएको भन्दै उनको आलोचना भएको छ ।
विवाद नम्बर ४ : सुनकाण्ड
सुन तस्करी प्रकरणमा ठूला कारोवारी पक्राउ गर्ने घोषणा गरेका गृहमन्त्री थापाले आफ्नो योजना पूरा गर्न नसक्दा सरकार सुन तस्कारको बचाउमा लागेको हो कि ! भन्ने आशंका आमनागरिकमा जन्माएको छ । केही लगानीकर्ता तथा व्यापारी पक्राउ परिसकेका छन् । यद्यपि, पक्राउ परेका एसएसपी श्याम खत्रीभन्दा ठूलो ओहदाका कर्मचारी कोही पनि पक्राउ परेका छैनन् । जबकि, गृहमन्त्री स्वयंले भनेका थिए, ‘सुन तस्करीमा खत्रीभन्दा ठूला ओहदाका संलग्न छन् ।’
विवाद नम्बर ५ : अपराध र भ्रष्टाचार
गृह प्रशासन सुधार कार्य योजनामा गृहमन्त्री थापाले मुख्यतः राष्ट्रिय एकताको संरक्षण, अपराध नियन्त्रण, भ्रष्टाचार, कालोबजारी नियन्त्रण र जनतालाई ‘क्विक सर्भिस डेलिभरी’लाई प्राथमिकता दिएका छन् । तर, यिनै विषयमा आमनागरिक गुनासो गरिरहेका छन् कि सरकारले कामै गरेन । बजेट घोषणा भएयता १५ प्रतिशतभन्दा बढी महँगी बढेको छ । बजार अनुगमन नहुँदा आमजनताले गृहमन्त्रीको कामको आलोचना गरेका छन् ।
गोकुल बाँस्कोटा, सूचना तथा सञ्चारमन्त्री
विवाद नम्बर १ : एनटिभीको कार्यक्रम बन्द
पत्रकारिता क्षेत्रमा कपाल फुलाएका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले मन्त्रालयको जिम्मेवारी पाउँदा पत्रकारहरुले आफ्नो प्रतिनधित्वको महसुस गरेका थिए । तर, अन्तर्वार्ताका क्रममा आफ्ना कमी–कमजोरी उजागर गरिदिएको भन्दै हुकुमी शैलीमा नेपाल टेलिभिजनको कार्यक्रम बन्द गराएपछि बाँस्कोटा निकै आलोचित भए । नेपाल टेलिभिजन कसैकोे व्यक्तिगत सम्पत्तिले चलेको नभई जनताको करबाट चलेको संस्था हो । तर, व्यक्तिगत सम्पत्तिजस्तै गरी मन्त्री बाँस्कोटाले पदीय अधिकार दुरुपयोग गरेपछि आलोचित बनेका छन् ।
विवाद नम्बर २ : फ्रिक्वेन्सी वितरणमा चलखेल
दूरसञ्चार क्षेत्रको फ्रिक्वेन्सी वितरण प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन फ्रिक्वेन्सी नियमावलीको मस्यौदा तयार गरिने भनिए पनि मन्त्री बाँस्कोटाले गरेका छैनन् । आफूनिकटका व्यक्तिको प्रभावमा परेर फ्रिक्वेन्सी वितरणमा चलखेल गर्न खाजेको आरोप उनलाई लागिरहेको छ । टेलिकमले इन्टरनेट शुल्क महँगो बनाउन लागेको विषयलाई समेत जोडेर मन्त्रीको विरोध हुने गरेको छ । विदेशका इन्टरनेटको मूल्य दिनप्रतिदिन घटिरहँदा नेपालमा बढाउन लागिएको भन्दै आलोचना भएको हो ।
रवीन्द्र अधिकारी, संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री
विवाद नम्बर १ : मनलाग्दी ६० करोड वितरण
तत्कालीन संसदको विकास समिति सभापति हुँदा सरोकारवाला पक्षलाई समितिको बैठकमा बोलाएर झाँको झारेर पठाउने गरेका रवीन्द्र अधिकारीले अहिले आफैं मन्त्री बनेपछि विभिन्न संघ–संस्थालाई मन्त्रीस्तरीय निर्णयबाट करोडौं रुपैयाँ बाँडेका छन् । असार पहिलो साता ८७ र जेठको अन्तिम सातामा ४४ गरी एक सय ३१ संस्थालाई उनले पैसा बाँडेका हुन् । आफ्ना पार्टीका नेताका नाममा खुलेका संस्थालाई मात्रै १५ करोड हाराहारी रकम उनले बाँडे । देश र जनताको भलाइका लागि काम गर्नेभन्दा अनुदान दिनुपर्ने रकम पार्टीनिटकका झोले संघ–संस्थालाई बाँडेको भन्दै उनी आलोचित र विवादित बनेका हुन् ।
विवाद नम्बर २ : भ्रष्टाचारका अभियुक्तलाई विज्ञ समूहमा नियुक्त
नागरिक उड्डयनका क्षेत्रमा विज्ञता हासिल गरेकाहरूको विज्ञ समूह अर्थात थिंक ट्यांक समूहमा विवादित छविका हरिभक्त श्रेष्ठलाई एटीएम तथा हवाई कानुन विज्ञका रूपमा नियुक्त गरेपछि मन्त्री अधिकारी थप विवादमा आए । श्रेष्ठ भ्रष्टाचारको ठूलो उदाहरण मानिने बहुचर्चित लाउडा विमान काण्डका अभियुक्त हुन् । तर, उनलाई नै नागरिक उडड्यन विज्ञका रूपमा नियुक्त गरेपछि मन्त्री अधिकारीको विवाद लिस्टमा अर्को बुँदा थपिएको हो । चौतर्फी आलोचना बढेपछि उनले श्रेष्ठलाई विज्ञ समूहबाट हटाएका छन् ।
विवाद नम्बर ३ : अंगरक्षकलाई छाता र कोट बोकाउने
अन्तर्राष्ट्रिय विमानस्थल खोज्नका लागि मन्त्री अधिकारी सुर्खेतका सम्भावित ठाउँको स्थलगत अवलोकनमा लागि हिँडेका थिए । पानी पर्दा छाता ओडाउने र घाम लाग्दा कोट अंगरक्षकलाई बोकाएर उनी विवादमा आए । छाता ओडाउने र कोट फुकालेर नेपाली सेनाबाट खटिएमा सुरक्षाकर्मीलाई बोकाएपछि सामन्ती शैली देखाएको भन्दै उनी आलोचित भएका छन् ।
डा. युवराज खतिवडा, अर्थमन्त्री
विवाद नम्बर १ : श्वेतपत्र
२०७४ चैत १६ गते मुलुकको अर्थतन्त्र धराशयी र रित्तो भएको भन्दै अर्थमन्त्री खतिवडाले श्वेतपत्र जारी गरे । त्यतिबेला मुख्य विपक्षी कांग्रेस र केही अर्थविद्ले श्वेतपत्रका केही विषय कपोकल्पित र प्रायोजित भएको टिप्पणी गरे । यतिमात्रै भइदिएको भए यो विषय सामान्य नै रहन्थ्यो । तर, सरकारकै अर्को निकायले श्वेतपत्रलाई ‘झुटपत्र’ करार गरिदियो । अर्थमन्त्रीको तथ्यांकलाई चुनौती दिँदै तथ्यांक विभागले बैशाख १३ गते आर्थिक अभिलेख सार्वजनिक गर्यो, जहाँ अर्थतन्त्रको आकार बढेको देखाइयो ।
विवाद नम्बर २ : गभर्नर चलाउन खोज्नु
अर्थमन्त्री हुनासाथ खतिवडाले नेपाल राष्ट्र बैंकका गभर्नर चिरञ्जिवी नेपाललाई चलाउन खोजे । त्यसको चौतर्फी विरोध भएपछि उनी पछि हटे ।
विवाद नम्बर ३ : सेयर बजारबारे अभिव्यक्ति
गभर्नर चलाउन खोजको विषयले खेप्नुपरेको आलोचना कम नहुँदै अर्थमन्त्री डा. युवराजत खतिवडा बीबीसी नेपाली सेवालाई दिएको एउटा अन्तर्वार्ताबाट थप विवादमा तानिए । त्यहाँ उनले पुँजीबजारको लगानीलाई अनुत्पादक क्षेत्रको लगानीको रुपमा ब्याख्या गरेपछि आलोचना भयो ।
विवाद नम्बर ४ : कमजोर बजेट
अर्थमन्त्री खतिवडा गत जेठ १५ गते बजेट भाषणपछि सबैको तारो बन्न पुगे । विपक्षीसँगै उनले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कै सांसदको पनि कटाक्ष सहनुपर्यो । बहालवाला मन्त्री र पहुँच भएका नेताको निर्वाचन क्षेत्रमा मनलाग्दी बजेट छुट्याएको र पहुँच नभएका सांसदको क्षेत्रमा विगतको बजेटभन्दा घटाएको भन्दै संसदमा आफ्नै दलको सांसदले उनको उछित्तो काटे । त्यतिमात्रै होइन, उनलाई वडाध्यक्ष जितेर देखाउन आफ्नै दलका सांसदले चुनौतीसमेत दिए ।
मातृका यादव, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री
विवाद नम्बर १ : बजार छाडा छाडेको
वनमन्त्री भएका बेला २०६५ असार ४ गते जिल्ला विकास समिति ललितपुरका एलडीओलाई शौचालयमा थुनेर चर्चामा आएका मातृका यादव दोस्रोपटक मन्त्री बन्नासाथ बजार अनुगमन रोकेर विवादमा आए । उद्योग तथा आूुर्तिमन्त्री भएको भोलिपल्टबाटै नयाँ स्वरुपमा मात्र बजार अगुमगन सुरु गर्ने भन्दै अनुगमन रोकेर बजार छाडा छोडिदिए । फलस्वरुप, विचौलिया तथा व्यापारीले उपभोक्त लुट्नुसम्म लुटे । यसबाहेक भ्रष्टाचार गर्नेलाई छाड्दिन भन्ने यादवले अहिलेसम्म यो मामिलामा माखो मारेका छैनन् ।
विवाद नम्बर २ : उखु कृषकलाई बेवास्ता
मन्त्री नियुक्त हुनेबित्तिकै यादवले उखु कृषकको भुक्तानी नगर्ने चिनी उद्योगीलाई जेल हाल्नेसम्मको चेतावनी दिए । तर, उखुको मूल्य महिनौंदेखि नपाएको भन्दै कृषकहरु दुई महिनासम्म आन्दोलित हुँदा पनि वास्ता गरेनन् । कारबाही गर्ने चेतावनी दिएर कृषकको पैसा नतिर्ने उद्योगीसँग लत्रिएको भन्दै मन्त्री यादवको आलोचना भयो ।
बिना मगर, खानेपानी तथा सरसफाइमन्त्री
विवाद : हिमालको पानी
खानेपानीमन्त्री बिना मगर कुनै निर्णयभन्दा पनि भाषणले विवादमा तानिएकी छन् । पिउने पानी अभावमा राजधानीबासी छटपटाइरहेका बेला सगरमाथाको पानी विदेश निर्यात गरेर ठूलो रकम आम्दानी गर्न सकिने भाषण पटक–पटक गरेपछि उनको आलोचना भएको छ । ८१ प्रतिशतभन्दा बढी जनतालाई सुरक्षित खानेपानी नपुगेको विषयमा योजना बनाउन छाडेर हिमालको पानी विश्वबजारमा बेचेर मुलुक समृद्ध बनाउने उनको योजनालाई धेरैले हाँसोमजाककै रुपमा उडाए ।
गिरिराजमणि पोखरेल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री
डा. गोविन्द केसी प्रकरण
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको माग गर्दै लगातार अनसन बस्दै आएका डा. गोविन्द केसी प्रकरणले शिक्षामन्त्री गिरिराजमणि पोखरेललाई विवादमा तानेको छ । सरकारी कर्मचारी भएर केसीलाई आन्दोलन गर्ने छुट नभएको र सरकारले गर्ने निर्णयमा व्यक्तिको माग प्रधान नहुने जवाफ दिएपछि प्रधानमन्त्री ओलीसँगै शिक्षामन्त्री पोखलेलको पनि आलोचना भइरहेको छ ।
प्रकाशित समय १३:३४ बजे