गृहपृष्ठ नेपाल लाइफले २० प्रतिशतले बढायो बिमा शुल्क संकलन
नेपाल लाइफले २० प्रतिशतले बढायो बिमा शुल्क संकलन

नेपाल लाइफ इन्स्योरेन्सको बिमा शुल्क संकलन १९.७८ प्रतिशतले बढेको छ । कम्पनीले शुक्रबार जारी गरेको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार असारसम्मा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन भएको हो । कम्पनीले गत वर्षको सोही अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बिमा शुल्क संकलन गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैयाँबाट बढेर ५३ करोड ३ लाख रुपैयाँ पुगेको छ । कम्पनीले ४० हजार २४३ वटा दाबीबापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैयाँ भुक्तानी गरेको छ भने एक अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैयाँबराबरको बिमा दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पुँजी ५ अर्ब ४९ करोड रुपैयाँ छ । त्यस्तै जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैयाँ सञ्चित छ भने जीवन बिमा कोषमा ८७ अर्ब २ करोड रुपैयाँ छ ।
प्रकाशित समय १७:३४ बजे