गृहपृष्ठ नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशतमात्रै

नेपालको आर्थिक वृद्धिदर ६.५ प्रतिशतमात्रै

Economic Growth_NewsKarobar

विश्व बैंकले चालू आर्थिक २०७६/७७ वर्षमा नेपालको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतमात्रै रहने नयाँ प्रक्षेपण गरेको छ । यो सरकारले राखेको भन्दा झन्डै २ प्रतिशत कम वृद्धि अनुमान हो । सरकारले यो वर्ष ८ दशमलव ५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ ।

बैंकले गरेको नयाँ प्रक्षेपणमा यसअघिको भन्दा वृद्धिदरमा ०.१ प्रतिशतले बढाइएको छ । यसअघि ‘नेपाल डेभलमेन्ट अपडेट्स’ मा आर्थिक वृद्धिदर ६ दशमलव ४ प्रतिशत हुने उल्लेख थियो ।

बैंकले नेपालको संघीयता कार्यान्वयनका लागि हालै स्वीकृत गरेको १० करोड अमेरिकी डलर (करिब ११ अर्ब रुपैयाँ) को विकास ऋणका लागि तयार पारेको नेपालको स्थितिपत्रमा वितेको वर्ष (सन् २०१८/१९)मा ७ दशमलव १ प्रतिशतको वृद्धिदर हासिल भएको संशोधित अनुमान गर्दै चालू आवमा भने वृद्धिदर घट्न प्रक्षेपण गरिएको हो ।

कृषि क्षेत्रमा हुने सुधारहरूका कारणले यो वर्ष यस क्षेत्रको वृद्धिदर ४ दशमलव ५ प्रतिशत रहने तथा सिमेन्ट उद्योग र जलविद्युत्मा हुने लगानीसँगै निर्माणमा आउने तीव्रता तथा ऊर्जाको उपलब्धताले औद्योगिक क्षेत्रको वृद्धिदर पनि सकारात्मक रहने बैंकको भनाइ छ ।

बैंकले रेमिट्यान्स प्रवाहमा हुने वृद्धि र सन् २०२० मा मनाइने नेपाल भ्रमण वर्षका कारण पर्यटकको संख्या बढ्न गइ त्यसले सेवा क्षेत्रको वृद्धि पनि माथि लाने प्रक्षेपण गरेको छ ।

प्रकाशित समय १६:१२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु