गृहपृष्ठ बजेटको कार्यान्वयनमा लाग्न अर्थमन्त्रीकाे अाग्रह 

बजेटको कार्यान्वयनमा लाग्न अर्थमन्त्रीकाे अाग्रह 

yubaraj-khatiwoda फाइल तस्बिर

काठमाडौं- अर्थमन्त्री युवराज खतिवडाले मुलुकको समृद्धिका लागि बजेटको कर्यान्वयनमा जोड दिनुपर्ने खाँचो औंल्याएका छन् । बजेट राष्ट्रिय अर्थतन्त्र निर्माणको पक्षमा उभिएको दाबी गर्दै उनले यसको कार्यान्वयनबाट मुलुक समृद्धिमार्फत समाजवाद निर्माण गर्ने दिशामा उन्मुख हुने बताए ।
प्रतिनिधिसभाको बैठकमा आइतबार सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले बजेट उद्देश्यमूलक रहेको दाबी गरे । अर्थमन्त्री खतिवडाले जनताको न्यूनतम आवश्यकता पूरा गर्दै बजेटले काम र रोजगारीलाई उच्च प्राथमिकता दिएको पनि स्पष्ट पारे ।
मन्त्री खतिवडाले बजेट कार्यान्वयमा ध्यान पनि सांसदहरूको गम्भीर ध्यानाकर्षण समेत गराए । उनले सामाजिक सुरक्षाको कार्यक्रमलाई अघि बढाउने दृढता पनि व्यक्त गरे । अर्थमन्त्री खतिवडाले संघीयतालाई धान्न राजस्व संकलनलाई जोड दिइएको पनि बताए । उनले सरकारले अर्थतन्त्रलाई अघि बढाउन निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने पनि स्पष्ट पारे ।
प्रदेश र स्थानीय तहमा संस्थागत संरचना नबनेकाले धेरै बजेट छुट्याउने गल्ती नगरिएको मन्त्री खतिवडाको स्पष्टीकरण छ । उनले बजेट प्रगतिशील कर प्रणालीमा आधारित रहेको दाबी गरे । ८ प्रतिशतको आर्थिक वृद्धिदर गराउन आफू सफल हुने उनको दाबी छ । अर्थमन्त्री खतिवडाले वित्त आयोगका सचिवालयको सूत्रअनुसार बजेट विनियोजन गरिएकाले यसमा विभेद भएको भन्न नमिल्ने पनि बताए ।
अर्थमन्त्री खतिवडाले लगानी बढाउन सरकारले सार्वजनिक निजी आर्थिक ऐन ल्याउने योजना पनि बजेटमा व्यवस्था गरिएको पनि बताए । उनले प्रधानमन्त्री कार्यालयमा बजेट केन्द्रित भएको भन्ने भनाइमा सत्यता नरहेको पनि दाबी गरे ।
उनले घोषणपत्र, नीति कार्यक्रममा भनिएका कुरा कार्यान्वयन गर्दा केही छुटे भन्दैमा आलोचना गरिहाल्न नसुहाउने बताए ।
जनताको न्यूनतम कुरा पूरा गर्दै समृद्धितिर जाने लामो यात्रामा सरकार रहेको उल्लेख गर्दै उनले रोजगारी, उत्पादकत्व बढाउन श्रमलाई प्राथमिकता दिएको बताए । गति नभएको अर्थतन्त्रलाई गतिशील बनाउन बजेट, नीति कार्यक्रम ल्याउँदा बढी आलोचना भयो कि भन्ने आफूलाई महसुस भएको भन्दै अर्थमन्त्री खतिवडाले कुशासन र भ्रष्टाचारलाई रोक्न बजेटमा सुशासनलाई जोड दिएको उनको दाबी छ ।
बजेट केन्द्रीकृत र संघीयताविरोधी भएको सांसदहरुको आरोपमा अर्थमन्त्री खतिवडाले प्रदेश र स्थानीय तहलाई कानुनअनुसार बजेट बाँडफाँट गरेको प्रस्टीकरण दिए । चालू वर्षको बजेटमा २ खर्ब खर्च नभएर राष्ट्र बैंकमा थन्किरहेको उल्लेख गर्दै उनले अर्को बजेटका बेला स्थानीय तहमा कर्मचारी समायोजन, संस्थाहरु निर्माण, कानुनहरु निर्माण भइसकेका हुने भएकाले त्यतिबेला बजेट बढाउन सकिने बताए ।
यसअघि बैठकमा प्रतिपक्षका सांसदले आगामी आर्थिक वर्षको बजेट प्रभावकारी, व्यावहारिक र वस्तुपरक नरहेको बताएका थिए । विपक्षी दलका सांसदहरूले भने बजेट यथार्थपरक नभएको भन्दै चर्को आलोचनासमेत गरे । यद्यपि आर्थिक वर्ष २०७५÷७६ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलमा भाग लिँदै सत्ता पक्षका सांसदहरूले बजेट वस्तुपरक रहेको भन्दै कार्यान्वयनमा जोड दिनुपर्ने खाँचो औंल्याए ।
सांसद भानुभक्त ढकालले सरकारले आगामी आवका लागि प्रस्तुत गरेको बजेट हालसम्मकै प्रभावकारी रहेको भन्दै विरोधका लागि विरोध गर्ने प्रवृत्ति गलत रहेको बताए । विगतमा राज्यकोषको चरम दुरूपयोग गरिएको र देखाउनका लागि मात्रै केही कार्यक्रम ल्याइएको भन्दै उनले वर्तमान सरकारले यथार्थवादी बजेट प्रस्तुत गरेको दाबी गरे ।
अर्का सांसद राजेन्द्र लिङ्देनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका क्रममा व्यक्त भएका प्रतिबद्धताबाट वर्तमान सरकार पर हटेर बजेट निर्माण गरेको भन्दै यस्तो प्रक्रियाबाट आर्थिक समृद्धि प्राप्त गर्न नसकिने टिप्पणी गरे । त्यस्तै सांसद सुजाता कोइरालाले शान्ति प्रक्रिया अझैसम्म नटुंगिएकाले सहमति, सहकार्य र एकता अगाडि बढ्नुपर्नेमा जोड दिँदै नेपाली कांग्रेसलाई एक्ल्याएर जाने कार्यले राम्रो नगर्ने बताइन् । अन्य सांसदहरुले बजेटका कमी कमजोरीहरु उठाउँदै त्यसमा सुधार गरी समयसापेक्ष बनाउन आग्रह गरे ।

प्रकाशित समय ०९:३८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु