गृहपृष्ठ एकै महिनामा २ अर्ब ७२ करोडको सुन आयात
एकै महिनामा २ अर्ब ७२ करोडको सुन आयात
चालू आवको असोजसम्म कच्चा सुन शून्यबराबर आयात
एकै महिनामा पौने ३ अर्बको सुन आयात भएको छ । चालू आर्थिक वर्षको असोजसम्म सुन आयात ठप्प रहेकोमा कात्तिकमा मात्रै २ अर्ब ७२ करोड ५० लाख ९२ हजार रुपैयाँबराबरको सुन भित्रिएको छ ।
भन्सार विभागले हालै सार्वजनिक गरेको पहिलो चार महिनाको तथ्यांकअनुसार करिब १० करोड मूल्यको गहनालगायतको सुनको सामान पनि भित्रिएको छ । चालू आवको पहिलो तीन महिनाको अवधिमा कच्चा सुन शून्य परिमाणमा आयात भएको थियो भने करिब साढे ६ करोड ५ लाख रुपैयाँबराबरको गहना आयात भएको थियो । जबकि, गत आवको पहिलो तीन महिनामा ७ अर्ब ५६ करोड ११ लाख ५० हजार रुपैयाँबराबरको सुन भित्रिएको तथ्यांक छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्य सुनको मूल्य उच्च भएका बेला बजारमा ठूलो मात्रामा गरगहना बिक्रीका लागि आएकाले व्यवसायीले कच्चा सुन किन्नै नपरेको बताउँछन् । ‘कात्तिकसम्म पनि पसल-पसलमा सुनका गहना थुप्रिएका थिए,’ उनले भने, ‘पसलमै सुन थुप्रिएका कारण व्यवसायीले नयाँ सुन किन्नै परेन ।’ तिहार आसपासदेखि पुराना गहना सकिएको र मूल्य ७० हजार आसपासमै स्थिर देखिएपछि सुनको माग बढ्न थालेको उनले स्पष्ट पारे ।
साउन १ गतेदेखि लगातार बढ्न थालेको सुन साउनभरमै प्रतितोला ७३ हजार रुपैयाँसम्म पुगको थियो । साउन १ गते प्रतितोला छापावाल सुनको मूल्य ६४ हजार ५ सय रुपैयाँ थियो । मूल्य उच्च हुँदा निकै ठूलो परिमाणमा बजारमा पुराना गरगहना आएको उनले बताए । अहिले बजारमा पुराना सुन आउन छाडेको, पहिलाको सकिएको र विवाहको सिजन पनि भएकाले माग बढेको उनले बताए ।
महाकाली ज्वेलर्सका सञ्चालक राजेश जगडिया पनि व्यवसायीसँग पुराना गरगहनाका सकिएकाले कात्तिकदेखि सुन खरिद गर्न थालेको बताउँछन् । ‘ठूलो परिमाणमा पुराना गरगहना आएकाले असोजसम्म सुन किनिएन,’ उनले भने, ‘कात्तिकदेखि चहलपहल बढ्यो, बजार अहिले करिब–करिब पहिलाकै अवस्थामा आइसकेको छ ।’
तिहारदेखि व्यवसायीले नयाँ सुन किन्न थालेको जगडियाले बताए । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अहिले बजारमा दैनिक २० किलो सुन खपत भइरहेको छ । शुक्रबार प्रतितोला छापावाल सुन ७१ हजार ६०० र तेजावी सुन ७१ हजार ३०० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।
यो पनि पढ्नुहोस्
सुन किनबेच बढ्यो, न्युरोडका पसलमा घुइँचो
सुन आयात ठप्प, ९९ प्रतिशतले घट्यो आयात
सुनको मूल्यमा दिनदिनै कीर्तिमानी, यस्ता छन् ५ कारण
प्रकाशित समय १६:११ बजे

















