गृहपृष्ठ बृहत् बुद्ध परिपथ : लुम्बिनी पर्यटन विकासको आधार

बृहत् बुद्ध परिपथ : लुम्बिनी पर्यटन विकासको आधार

Lumbini-Mayadevi-Mandir

नेपाल सरकारले आउँदो अंग्रेजी वर्षको सुरुआतसँगै सुरु गर्न लागेको नेपाल भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारले सञ्चालन गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ प्रदेशको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण हुने विश्वास गरिएको छ । लुम्बिनी भ्रमण वर्ष २०७६ र आसन्न नेपाल भ्रमण वर्ष २०२० लाई लक्ष्य गर्दै प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले सोमबार बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गरेको सरोकारसँगको छलफल एवं अन्तर्क्रियामा सहभागीले बुद्ध परिपथलाई गतिशील बनाउनुपर्नेमा जोड दिए । कार्यक्रममा सहभागीले लुम्बिनी र बुद्धकालीन सभ्यताका नेपालका सबै क्षेत्र तथा प्रमुख हिन्दु धर्मका क्षेत्रलाई जोडेर तयार पारिएको बृहत् परिपथ नै पर्यटन विकासको खास आधार हुने बताउँदै लुम्बिनीको गुरुयोजना चाँडो सम्पन्न गर्नुपर्नेमा जोड दिए ।

त्यस अवसरमा उद्योगमन्त्री लीला गिरीले बुद्ध जन्मस्थललाई केन्द्रमा राखेर समग्र परिपथको विकास गर्न प्रदेश सरकारले योजनाबद्ध कामको थालनी गरिसकेको जानकारी दिँदै त्यसलाई अझ प्रभावकारी बनाउन निजी क्षेत्र र सरोकार पक्षसँग सहकार्य गरिने बताए । उनले भने, ‘लुम्बिनी र गौतम बुद्धसँग सम्बन्धित तराईका जिल्लाका सबै स्थान, रुपन्देहीको रोहिणी नदी, त्यसको बुद्धकालीन सभ्यता र बुद्धबल्लीको बुटवल सभ्यतालाई समेत समावेश गर्न सुझाव दिइसकिएको छ ।’

मन्त्री गिरीले लुम्बिनी आउने स्वदेशी र विदेशी पर्यटकका लागि हवाई टिकटमा एकरूपता ल्याउन आवश्यक रहेको बताए । उनले रोहिणी नदीको गौतमबुद्धसँग ठूलो महत्व रहे पनि त्यसको अस्तित्व हराउँदै गएकामा चिन्ता व्यक्त गर्दै लुम्बिनीसँगै देवदह, रामग्राम, तिलौराकोटलगायत बौद्धस्थलको पनि समुचित विकास गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा प्रदेशसभा सदस्य फकरुद्दिन खाँले लुम्बिनी क्षेत्रको विकासका लागि प्रदेश सरकारलाई जिम्मा दिनुपर्ने बताए । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले लुम्बिनीको गुरुयोजना सकाउन अन्तर्राष्ट्रियस्तर सँगै जान आवश्यक छ भने । लुम्बिनीमा विश्वस्तरको ध्यान कार्यक्रम गर्ने तयारी गरिरहेका स्वामी आनन्द अरुणले बुद्धजयन्तीलाई ध्यान दिवसका रूपमा मनाउनुपर्ने सुझाव दिए । गैंडहवा गाउँपालिका प्रमुख बच्चु केवटलगायतले पर्यटन विकासका लागि सबैको सहकार्य हुनुपर्नेमा जोड दिए ।

त्यस अवसरमा स्थानीय युवा, अगुवा र व्यवसायीले स्थानीयवासीको अपनत्व हुने गरी प्रभावकारी कार्यक्रम बनाउनुपर्ने सुझाव दिएका थिए । लुम्बिनी विकास कोषका अधिकृत तथा लुम्बिनीकै बारेमा शोध गरिरहेका हरिध्वज राईले प्रस्तुत गरेको कार्यपत्रमा संस्कृतिविद् वसन्त बिडारी र डा. शारदा पौडेलले टिप्पणी गरेका थिए । वरिष्ठ पत्रकार हेमबहादुर विष्टले प्रस्तुत गरेको कार्यपत्रमा संस्कृतिविद् डा. गितु गिरी र पत्रकार डिआर घिमिरेले टिप्पणी गरेकाका थिए । उद्योग मन्त्रालयका सचिव डा. राधा वाग्लेले प्रदेश नं ५ को पर्यटन प्रवर्द्धनका लागि मन्त्रालयका तर्फबाट अघि सारिएका योजना एउटा आधार बन्ने बताए । छलफलमा यहाँका विज्ञ, संस्कृतिविद्, लुम्बिनी विकास कोष, पर्यटन-यातायात-होटल व्यवसायी, स्थानीय समुदायका अगुवासमेतको सहभागिता थियो । (रासस)

प्रकाशित समय १०:३४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु