गृहपृष्ठ कोभिड-१९ सँग जुध्न एडिबीको ३० अर्ब सहुलियतपूर्ण ऋण
कोभिड-१९ सँग जुध्न एडिबीको ३० अर्ब सहुलियतपूर्ण ऋण
एसियाली विकास बैंक (एडिबी)ले कोरोना भाइरस महामारी (कोभिड-१९) सँग जुध्नका लागि नेपाल सरकारलाई करिब ३० अर्ब रुपैयाँ (२५ करोड अमेरिकी डलर)को सहुलियतपूर्ण ऋण दिएको छ । यससम्बन्धी सम्झौतामा सोमबार नेपाल सरकार र एडिबीबीच हस्ताक्षर भएको छ ।
बैंकको बोर्डले हालै ‘कोभिड-१९ एक्टिभ रेस्पोन्स एन्ड एक्सपेन्डिचर सपोर्ट (केरेस) कार्यक्रमअन्तर्गत नेपाललाई दिइने यो ऋण सहयोग स्वीकृत गरेको थियो । यो नेपालका लागि बजेटरी सहयोगका रूपमा प्राप्त भएको हो, अर्थात सरकारले यो रकम बजेटभित्रका कार्यक्रममा खर्च गर्नसक्छ ।
अर्थमन्त्री डा. युवराज खतिवडाका उपस्थितमा अर्थमन्त्रालयका सचिव शिशिरकुमार ढुंगाना र एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक मुख्तर खामुखानोवले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
सो अवसरमा अर्थसचिव ढुंगानाले एडिबीबाट प्राप्त सहयोगले कोरोना महामारीको प्रभावलाई सम्बोधन गर्न घोषणा गरिएको सरकारको राहत कार्यक्रमलाई सहयोग पुर्याउने तथा यसले नेपाली स्वास्थ्य प्रणाली सबल पार्न, सामाजिक सुरक्षा प्रदान गर्न र थप रोजगारी सिर्जना गर्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।
एडिबीका नेपालका लागि राष्ट्रिय निर्देशक खामुखानोवले यो चुनौतीपूर्ण समयमा नेपाललाई सहयोग गर्न एडिबी पूर्ण प्रतिबद्ध छ भएको भन्दै महामारीविरुद्ध लड्न र नागरिकमा पर्ने प्रभावलाई कम गर्ने कार्यक्रमको कार्यान्वयन गर्न सरकारसँग मिलेर काम गर्ने बताए ।
यो ऋण सहायताबाट सरकारले परीक्षण प्रयोगशालाहरू बढाउन, सबै प्रदेशमा क्वारेन्टिन सुविधा स्थापना, संक्रामक रोगको रोकथाम, नियन्त्रण र उपचारका लागि गुणस्तरीय स्वास्थ्य सेवाकाे सवलीकरण, सुसज्जित अस्पताल, औषधि तथा उपकरणहरूको आपूर्ति, योग्य डाक्टर र स्वास्थ्यकर्मीहरूसहित स्वास्थ्य पूर्वाधारको विकास गरी सार्वजनिक स्वास्थ्य प्रणालीलाई सुदृढीकरण गर्न सहयोग पुर्याउने अर्थमन्त्रालयले जनाएकाे छ।
यो कार्यक्रमले विशेष गरी गरिब र कमजोर वर्गमाथि परेको महामारीको प्रतिकूल आर्थिक र सामाजिक प्रभावहरु कम गर्नका लागि सरकारलाई सहयोग पुर्याउनेसमेत जनाइएको छ ।
प्रकाशित समय १३:५२ बजे

















