गृहपृष्ठ चिनियाँ टोलीद्वारा झापाका नदी तटबन्धका लागि सर्वेक्षण
चिनियाँ टोलीद्वारा झापाका नदी तटबन्धका लागि सर्वेक्षण
चिनियाँ अधिकारीहरूले झापाका नौवटा नदीमा तटबन्ध निर्माणको गुरुयोजना बनाउन प्रारम्भिक सर्वेक्षण काम सुरु गरेका छन् । चिनियाँ प्रविधिज्ञ याउको नेतृत्वमा आएको सात सदस्यीय टोलीले बुधबारदेखि सर्वेक्षण सुरु गरेको हो । तीमध्ये केही पूर्वाधार विज्ञ छन् ।
टोलीले झापाको मावा, रतुवा, कमल बनियानी, कृष्णे, सतासी, कन्काइ, बिरिङ, निन्दा र हडिया नदीको वस्तुस्थितिको अध्ययन गर्नेछ । टोलीले पहिलो दिन झापा र मोरङमा पर्ने मावा नदीको अध्ययन गरेको छ ।
जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलका अनुसार जिल्लाका मुख्य सबै नदीको बहाव नियन्त्रण गर्न गुरुयोजना बनाउन चिनियाँ प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको हो । टोलीले नदीहरूको अध्ययन गरी सरकारलाई प्रतिवेदन बुझाउनेछ । त्यसै आधारमा यसै वर्षदेखि तटबन्धको काम सुरु गर्ने सरकारको योजना छ ।
चिनियाँ टोलीले १५ दिन जिल्लामा बसेर झापाका मुख्य नदीहरूको अध्ययन गर्नेछन् । जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाँदा भएको समझदारीअनुरुप टोली अध्ययनका लागि आएको हो ।
टोलीले समग्रमा झापाका नौवटा मुख्य नदीहरूको वस्तुस्थितिको अध्ययन गर्नुका साथै स्थानीय तहका प्रमुख र प्रभावित क्षेत्रका बासिन्दाका मागको समेत अध्ययन गर्ने उनले जानकारी दिए । यी नदीहरूबाट प्रत्येक वर्ष जिल्लाका ४० हजार जनसंख्या प्रभावित हुँदै आएका छन् ।
(रासस)
प्रकाशित समय १९:०२ बजे

















