गृहपृष्ठ स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकमा तीन जनाको नाम सिफारिस
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । लोकसेवा आयोगका प्रतिनिधि र स्वास्थ्य मन्त्रालयका सचिव सम्मिलित छनोट समितिले तीन जनाको नाम छानेर स्वास्थ्य मन्त्रालयमा पठाएको छ ।
सिफारिस हुनेमा बिमाविज्ञ डा. दामोदर बसौला, बिमा समितिका पूर्वनिर्देशक श्रीमान कार्की र नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक रमेशकुमार पोखरेल छन् ।
निर्देशक सिफारिस समितिले कार्यकारी निर्देशकमा नियुक्ति गर्नुको कारण, योजना, बिमा बोर्डको निर्देशक भएपछि गर्ने काम लगायतका विषयमा पावर पोइन्ट प्रस्तुति र अन्तर्वार्ता गरेको थियो । पावर पोइन्ट प्रस्तुतिका आधारमा कार्तिक ६ गते डा. सतिसकुमार देव, श्रीमान कार्की, शैलेसकुमार मिश्र, दामोदर बसौला र रमेशकुमार पोखरेल प्रारम्भिक छनोटमा परेका थिए । कार्तिक ७ गते लोकसेवा आयोगमा उनीहरुसँग अन्तर्वार्ता गरेपछि समितिले तीमध्ये पनि डा. बसौला, कार्की र पोखरेलको नाम छनोट गरी स्वास्थ्य मन्त्रालय पठाएको स्वास्थ्य मन्त्री उपेन्द्र यादवका प्रमुख सल्लाहकार डा. कृष्णकुमार राईले जानकारी दिए । मन्त्री यादवले अब ती नाम मन्त्रिपरिषदमा लैजाने छन् । सोही सिफारिसका आधारमा मन्त्रीपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशक नियुक्त गर्ने छ ।
छनोट समितिमा लोक सेवा आयोगका अध्यक्ष वा उनले तोकेका एक प्रतिनिधि संयोजक, स्वास्थ्य मन्त्रालयका सचिव सदस्य सचिव र मन्त्रालयले तोेकेका एक सदस्य थिए । बोर्डमा अहिले डा. मदन उपाध्यायले कार्यकारी निर्देशकको जिम्मेवारी सम्हालिरहेका छन् । बोर्डको प्रशासकीय प्रमुखको रूपमा काम गर्न पूर्णकालीन पदाधिकारीको रूपमा एक कार्यकारी निर्देशक रहने व्यवस्था छ ।
कार्यकारी निर्देशक हुन योग्यता
मान्यता प्राप्त शिक्षण संस्थाबाट अर्थशास्त्र, व्यवस्थापन, कानून, चिकित्साशास्त्र, जनस्वास्थ्य वा स्वास्थ्य अर्थशास्त्रसम्बन्धी विषयमा कम्तीमा स्नातकोत्तर गरी गरी सम्बन्धित क्षेत्रमा कम्तीमा दश वर्षको अनुभव प्राप्त गरेको र ६५ वर्ष ननाघेको व्यक्ति बोर्डको अध्यक्ष हुन पाउने कानुनी व्यवस्था छ ।
कार्यकारी निर्देशकको जिम्मेवारी
स्वास्थ्य बिमासम्बन्धी नीति, रणनीति, योजना, बजेट तथा कार्यक्रम तयार गरी बोर्ड समक्ष पेश गर्ने, स्वास्थ्य बिमासम्बन्धी तालिम, अध्ययन, अनुसन्धान, सुपरीवेक्षण, अनुगमन तथा मूल्याङ्कनसम्बन्धी कार्य गर्ने र गराउने, स्वास्थ्य बिमा कार्यक्रमको सूचना, सञ्चार तथा समन्वयसम्बन्धी कार्य गर्ने र गराउने कार्यकारी निर्देशकको जिम्मेवारी हुन्छ । यस्तै स्वास्थ्य बिमा कार्यक्रममा आवद्धतासम्बन्धी व्यवस्था, सेवास्तरको निर्धारण, सेवा प्रदायकसँग गरिने सम्झौताको शर्त तथा भुक्तानी विधि तयार गरी बोर्ड समक्ष पेश गर्ने, बोर्डको आय व्ययको लेखा राख्ने, आन्तरिक नियन्त्रण प्रणाली लागू गर्ने र लेखा परीक्षण गर्ने, गराउने, बोर्डको निर्णय कार्यान्वयन गर्ने, गराउने, वार्षिक प्रतिवेदन तयार गरी बोर्ड समक्ष पेश गर्ने र तोकिए बमोजिम अन्य कार्य गर्ने काम, कर्तव्य र अधिकार कार्यकारी निर्देशकलाई हुन्छ ।
नियुक्तिसम्बन्धी व्यवस्था
बोर्डको अध्यक्ष र कार्यकारी निर्देशक सरकारले नियुक्त गर्ने छ भने स्वास्थ्य मन्त्रालयबाट सहसचिव स्तरको अधिकृत र अर्थमन्त्रालयको सहसचिव सदस्य चुनिने व्यवस्था छन् । यस्तै सम्बन्धित क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव प्राप्त गरेका व्यक्तिबाट मन्त्रालयले मनोनित गरेका कम्तीमा दुई जना महिलासहित तीन जना बोर्डको सदस्य हुने व्यवस्था छ । बोर्डमा बिमितबाट पनि सदस्य हुन्छन् । बिमितमध्येबाट मन्त्रालयले मनोनीत गरेका एक महिलासहित दुईजना सदस्य रहने व्यवस्था छ । सरकारले नियुक्त गरेका कार्यकारी निर्देशक बोर्डको सदस्य सचिवका रुपमा रहनेछन् ।
पदावधी
अध्यक्ष, कार्यकारी निर्देंशक र सदस्यहरुको पदावदी ४ वर्ष तोकिएको छ । तर, कार्यकारी निर्देशकको हकमा बढीमा एक पटकको लागि निजलाई पुनः नियुक्ति गर्न सकिने व्यवस्था छ ।
पारिश्रमिक
कार्यकारी निर्देशकको पारिश्रमिक, सेवाको शर्त तथा सुबिधा तोकिए बमोजिम हुनेछ । अहिलेसम्म यति नै भनेर तोकिएको छैन ।
प्रकाशित समय १२:२३ बजे

















