गृहपृष्ठ एनआईसी एशिया बैंकबाट ८.२५ प्रतिशत ब्याजदरमै कर्जा
एनआईसी एशिया बैंकबाट ८.२५ प्रतिशत ब्याजदरमै कर्जा
‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने मूल नाराका साथ उत्तरदायी बैंकिङ अभ्यास गर्दै आएको एनआईसी एशिया बैंकले सुपर चामत्कारिक घर कर्जा, सुपर चामत्कारिक सवारी कर्जा र सुपर चामत्कारिक व्यवसाय कर्जा योजना सार्वजनिक गरेको छ । बैंकले नेपालको बैंकिङ क्षेत्रकै सर्वाधिक न्यून ब्याजदर तथा प्रशासनिक शुल्क रहेको तीन सुपर चामत्कारिक कर्जा योजना ल्याएको हो ।
योजनाअनुसार बैंकले ८.२५ प्रतिशत ब्याजदर तथा ०.२५ प्रतिशत प्रशासनिक शुल्कमा तीनै कर्जाहरु उपलब्ध गराउने र उक्त ब्याजदर एक वर्षसम्मका लागि परिवर्तन नहुने व्यवस्था गरेको जनाएको छ ।
सुपर चामत्कारिक घर कर्जाअन्तर्गत घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण, घर निर्माण गर्नका लागि जग्गा खरिद आदि वित्तीय सेवा सुविधा लिन सकिनेछ । न्यूनतम पाँच वर्षदेखि अधिकतम ३० वर्ष कर्जाको समयावधि कायम गरिएको छ भने अधिकतम १ करोड ५० लाखसम्म कर्जा सीमा कायम गरिएको छ । जसअन्तर्गत अधिकतम ५० लाख रुपैयाँसम्मको ओभरड्राफ्ट सुविधासमेत लिन सकिनेछ ।
घर निर्माण गर्दाको हकमा बैंकले निर्माण लागतको शतप्रतिशतसम्म कर्जा प्रवाह गर्ने, घर निर्माणका लागि अधिकतम पाँच वर्षसम्मको मोराटोरियम अवधि लिन सकिने र उक्त अवधिमा ऋणीले कर्जाको ब्याजमात्र भुक्तानी गर्न सक्नेसमेत सुविधा छ । यसबाहेक फ्लेक्जिबल इएमईमार्फत ग्र्राहकले आर्थिक क्षमताअनुसारको इएमआई वार्षिक रुपमा आफैंले निधारण गरेर भुक्तानी गर्न सक्नेछन् । यो योजनाअन्तर्गत घर कर्जा उपभोग गरिरहेका ग्राहकले बन्डल अफरअन्तर्गत सवारी कर्जा उपभोग गर्न सक्ने व्यवस्थासमेत छ । अन्य बैंक तथा वित्तीय संस्थामार्फत घर कर्जा उपभोग गरिरहेका ऋणीले कर्जा स्थानान्तरण गरी आर्थिक भारलाई न्यून गर्न सक्ने बैंकले जनाएको छ ।
यस्तै सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत रातो प्लेटका निजी तथा व्यवसायका लागि सवारी र विद्युतीय सवारीका लागि कर्जा प्राप्त गर्न सकिनेछ । अन्य बैंकमार्फत सवारी कर्जा उपभोग गरिरहेकाहरुले पनि सुपर चामत्कारिक सवारी कर्जाअन्तर्गत कर्जा स्थानान्तरण गर्न सक्नेछन् । यो योजनाअन्तर्गत अधिकतम २ करोड कर्जा सीमा कायम गरिएको छ । सवारी धितो राखेको हकमा कर्जा अवधि अधिकतम १० वर्षसम्म र सवारी तथा रियल इस्टेट दुबै धितो राखेको खण्डमा अधिकतम १५ वर्षसम्म कर्जा अवधि हुने व्यवस्था गरिएको छ ।
बैंकले साना तथा मझौला उद्योग व्यवसायलाई प्रोत्साहन गर्न सुपर चामत्कारिक व्यवसाय कर्जा योजना ल्याएको हो । जसअन्तर्गत उद्योगी तथा व्यवसायीले आफ्नो व्यवसायको आवश्यकताअनुसार आवधिक कर्जा तथा ओभरड्राफ्ट मिश्रित रुपमा उपभोग गर्न सक्नेछन् । यस्तो कर्जा सीमा अधिकतम १ करोड रुपैयाँसम्म निर्धारण गरिएको छ ।
सुपर चामत्कारिक कर्जामार्फत ग्राहकलाई सहज रुपमा कर्जा प्रदान गर्ने रणनीतिअनुरुप आवश्यक कागजात प्राप्त भएको ४८ घण्टाभित्र निर्णय दिइने नायब प्रमुख कार्यकारी अधिकृत सुधिरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १३:२१ बजे

















