गृहपृष्ठ एनआइसी एसिया बैंकको पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक
एनआइसी एसिया बैंकको पहिलो त्रैमासिक वित्तीय नतिजा सार्वजनिक
एनआइसी एसिया बैंकले चालू आ.व. २०७७/७८ को पहिलो त्रैमासिकको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकिङ क्षेत्रको अधिकांश वित्तीय सूचकांकहरूमा अग्रणी स्थान ओगटेको यस बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू उत्साहजनक रहेका छन् ।
कोरोना भाइरसको महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमीजस्ता विषम परिस्थितिका बाबजुद पनि यस बैंकले पहिलो त्रैमासिकमा वार्षिक प्रति सेयर आम्दानी ४२.१४ रुपैयाँ आर्जन गर्न सफल भएको छ । बैंकले गत वर्षको सोही अवधीको तुलनामा १ प्रतिशतले मुनाफा वृद्धि गर्न सफल भई एक अर्ब २ करोड खुद मुनाफा आर्जन गरेको छ । बैंकको स्व–पुँजीमा प्रतिफल (आरओइ) २२.९६ प्रतिशत रहेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी रहेको अनुमान गरिएको छ ।
बैंकको यस प्रथम त्रैमासिकसम्ममा कर्जातर्फ २९.८ अर्बले वृद्धि भई कुल कर्जा रकम २०३.६ अर्ब पुगेको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १२९ अर्बको कुल वृद्धिमा यस बैंकले २३ प्रतिशतको हिस्सा रहेको छ । साथै बैंकको स्वदेशी मुद्राको निक्षेप संकलनतर्फ ३६.०६ अर्बले वृद्धि गरी स्वदेशी मुद्राको निक्षेप संकलन २४४.८७ अर्ब पु-याउन बैंक सफल भएको छ । जुन मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब १७२ अर्बको कुल वृद्धिमा यस बैंकको हिस्सा २१ प्रतिशत रहेको छ । साथै बैंकको कुल निक्षेप रकममा व्यक्तिगत निक्षेपको हिस्सा ६४ प्रतिशत रहेको छ भने संस्थागत निक्षेपको हिस्सा ३४ प्रतिशत रहेको छ । यस विषम परिस्थितिमा समेत बैंकले कर्जा असुलीमा निकै उत्साहजनक नतिजा हासिल गर्न सफल भई गत वर्ष अन्त्यमा ०ं.७५ प्रतिशत रहेको निष्कृय कर्जालाई यस त्रैमासिकसम्ममा ०.४० प्रतिशतमा झार्न बैंक सफल भएको छ ।
बैंकले आफ्नो रणनीतिअनुसार कर्जा पोर्टफोलियोमा न्यून जोखिम कायम गर्ने उद्देश्यले साना तथा मझौला कर्जा र रिटेल कर्जामा लगानी विस्तार गर्ने नीति अवलम्बन गर्दै आएको छ । सोहीअनुरूप गत आर्थिक वर्षसम्ममा बैंकले कुल कर्जा लगानीको अंशमा करिब ८२ प्रतिशत कर्जा यस प्रकारका रणनीतिक क्षेत्रहरूमा विस्तार गरेको छ । बैंकले अवलम्बन गरेको सो रणनीतिको परिणाम स्वरूप बैंकका प्रमुख १० ग्राहक महानुभावहरूको कुल कर्जा अंश बैंकको कुल कर्जाको ३.२५ प्रतिशत मात्रै रहेको छ, जुन समग्र बैंकिङ क्षेत्रकै सबैभन्दा उत्कृष्ट किसिमको र अत्यन्त न्यून जोखिम भएको मध्ये पर्दछ । साथै बैंकको कुल कर्जामा ५ करोड रूपैयाँभन्दा कम सीमा भएका कर्जाहरूको अंश ७८.८५ प्रतिशत रहेको छ । जुन बैंकिङ्ग क्षेत्रहरूमध्ये उत्कृष्टमा पर्छ । बैंकले निक्षेपतर्फ पनि स–साना निक्षेप एवं व्यक्तिगत निक्षेप वृद्धि गर्दै जाने रणनीति अवलम्बन गरी अगाडि बढिरहेको छ । जसको परिणाम स्वरूप प्रमुख १० निक्षेपकर्ताहरूको बैंकको कुल निक्षेपमा रहेको अंश केवल १३.३४ प्रतिशत मात्रै रहेको छ, जुन बैंकिङ क्षेत्रकै उत्कृष्ट मानिन्छ ।
बैंकिङ क्षेत्रको विभिन्न वित्तीय तथा गैर वित्तीय सुचांकहरूमा अग्रणी स्थानमा रहेको यस बैंक गत आ.व. २०७६/७७ को अन्त्यमा कुल आम्दानी, शाखा कार्यालयहरू, एटिएम, पीओएस मर्चेन्ट र क्युआर मर्चेन्टमा मुलुकका अन्य वाणिज्य बैंकहरूमध्ये पहिलो स्थान ओगट्न सफल भएको छ । साथै स्व-पुँजीमा प्रतिफल, ग्राहकको संख्या, कर्जा प्रवाह र चल्ती तथा बचत निक्षेप (सीएएसए) तर्फ अन्य वाणिज्य बैंकहरूमध्ये दोस्रो स्थानमा रहेको छ भने निक्षेप संकलनको हिसाबमा तेस्रो र खुद नाफामा चौथो स्थान ओगट्न सफल भएको छ । बैंकद्वारा आ.व. २०७६/७७ को लागि हालसम्म आफ्नो लाभांश सार्वजनिक गरेका बैंक तथा वित्तीय संस्थाहरूमध्ये सबैभन्दा बढी २० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश २१ मंसिर २०७७ मा सम्पन्न हुन गइरहेको बैंकको २३ औं वार्षिक साधारण सभाले स्वीकृत गर्ने एजेन्डा रहेको छ ।
बैंकलाई आम जनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंकप्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर ३२७ शाखा कार्यालयहरू, ४७० एटिएम, १०२ वटा एक्स्टेन्सन काउण्टर एवं ७३ वटा शाखारहित बैंकिङमार्फत् बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हो । २२ लाखभन्दा बढी ग्राहकका साथ सञ्चालनमा रहेको यस बैंकका प्रमुख वित्तीय परिसूचकहरू अत्यन्त उत्साहप्रद रहेका छन् ।
उत्तरदायी बैकिङको अभ्यास गर्दै आएको यस बैंकले प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब २ अर्ब ६५ करोडभन्दा बढी राजस्व नेपाल सरकारलाई भुक्तानी गरिसकेको छ भने वित्तीय समावेशीकरणका लागि मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यानजस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूमा तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा शाखा विस्तार गरी सञ्चालन गर्दै आइरहेको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुधीरनाथ पाण्डेले जानकारी दिए ।
प्रकाशित समय १६:२४ बजे

















