गृहपृष्ठ अख्तियारद्वारा ४९ जनाविरुद्ध मुद्दा दायर, ९ करोड २४ लाख बिगो दाबी

अख्तियारद्वारा ४९ जनाविरुद्ध मुद्दा दायर, ९ करोड २४ लाख बिगो दाबी

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुसमा मात्रै ४९ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अख्तियारले भ्रष्टाचार आरोपमा पक्राउ परेका ४९ जनाविरुद्ध ९ करोड २४ लाख १५ हजार ८९७ रुपैयाँबराबरको बिगो दाबीसहित मुद्दा दायर गरेको हो ।

आधारभूत प्राथमिक विद्यालय सिराहाका शिक्षक भोगिलाल यादवले नक्कली स्थायी अध्यापन अनुमति–पत्र बनाई अस्थायी शिक्षकमा नियुक्ति लिएको अभियोगमा उनीविरुद्ध अख्तियारले मुद्दा चलाएको छ ।

बाराको बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना प्रमुख राजकुमार श्रीवास्तवले ग्याबियन तारको गुणस्तर परीक्षण नगरी गुणस्तरयुक्त भएको भनी अन्तिम बिल र कार्यसम्पादन प्रतिवेदन प्रमाणित गरी भुक्तानी गराएको र इन्जिनियर पाण्डवप्रसाद देवले ग्याबियन तार गुणस्तरयुक्त भएको भनी अन्तिम बिल र कार्यसम्पादन प्रतिवेदन तयार गरी भुक्तानीका लागि सिफारिस गरेको अनुसन्धानबाट देखिएपछि अख्तियारले दुवै जनाविरुद्ध मुद्दा दायर गरेको छ ।

निर्धारित सर्त र सम्झौताविपरीत ग्याबियन तार गुणस्तरयुक्त भनी दस्तखत गरी भुक्तानी लिने जेभी पार्टनर थोदुंग कन्सट्रक्सन प्रालिका डाइरेक्टर ङबाङ क्षोदेन शेर्पा, जेभी पार्टनर अजम्वर निर्माण सेवाका प्रोपाइटर बैकुण्ठप्रसाद भण्डारी र जेभी पार्टनर शिवराम कन्सट्रक्सन प्रालिका प्रोपाइटर शिवजी सापकोटा गरी तीन जनालाई मुद्दा दायर गरेको छ । अख्तियारले राजकुमार श्रीवास्तवसहित पाँच जनालाई बिगो रकम ९६ लाख ६४ हजार २९६ रुपैयाँ कायम गरी विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाई स्याङ्जाका असिस्टेन्ट सब–इन्जिनियर भगवती रावत गुरुङले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणबाट भूकम्पपछिको पुनर्निर्माणमा उपलब्ध हुने रकममध्ये अन्तिम किस्ताको रकम भुक्तानीमा सहजीकरण गरिदिएबापत सेवाग्राहीबाट घुस लिएको पुष्टि भएपछि अख्तियारले ५ हजार रुपैयाँ बिगो कायम गरी मुद्दा चलाएको छ ।

अख्तियारले मालपोत कार्यालय दाङमा कार्यारत नरेशकुमार खड्कासहित केशवकुमार अधिकारी, पुष्पराज गिरी र मीनराज गैरेले सेवाग्राहीले सुकुमबासीको हैसियतले जग्गाको श्रेष्ता कायम गरी जग्गाधनी प्रमाणपुर्जा उपलब्ध गराउने काममा स्थलगत सर्जमिन गर्ने काम अड्काएर दुःख दिने, झुलाउने गरेको पाइएको भन्दै जनही ३ लाख २० हजारका दरले बिगो कायम गरी विशेष अदालतमा मुद्दा चलाएको छ ।

सशस्त्र प्रहरी बल कपिलवस्तुमा कार्यरत सहायक हबल्दार लीलबहादुर गुरुङले सशस्त्र प्रहरी निरीक्षक निरञ्जनराज कार्कीको निर्देशनमा सेवाग्राहीलाई भारतबाट सामान ल्याउन सहजीकरण गरिदिने भनी घुस लिएको पुष्टि भएपछि अख्तियारले उनीहरुलाई जनही ३५ हजार रुपैयाँ बिगो रकम कायम गरी मुद्दा दायर गरेको छ ।

नवलपरासी (बर्दाघाट सुस्तापश्चिम)मा कार्यरत लेखन्दास रविन्द्रप्रसाद यादवले सेवाग्राही र वडाध्यक्षबीच रकमको बार्गेनिङ गरी घुस लिएको पाइएपछि रंगेहात पक्राउ परेका उनीविरुद्ध अख्तियारले २ लाख बिगो रकम मागदाबी गर्दै मुद्दा चलाएको छ ।

बागमती तथा लालबकैया नदी नियन्त्रण आयोजना बाराका प्रमुख राजकुमार श्रीवास्तव र इन्जिनियर पाण्डवप्रसाद देवविरुद्ध ग्याबियन तारको गुणस्तर यकिन गर्नुपर्नेमा प्रथम रनिङ बिलदेखि सातौँ रनिङ बिलसम्मको भुक्तानी गर्दा परीक्षण नै नगरी गुणस्तरयुक्त भनी इन्जिनियर देवले सिफारिस गरेको र श्रीवास्तवले बिल स्वीकृत गरी भुक्तानी गराएको पाइएको अख्तियारले जनाएको छ ।

त्यस्तै ग्याबियन तार गुणस्तरयुक्त भनी भुक्तानी लिने महादेव खिम्ती/मैनाचुली जेभीका मुख्य पार्टनर महादेव खिम्ती प्रालिका म्यानेजिङ डाइरेक्टर रवि सिंह र महादेव खिम्ती/मैनाचुली जेभीकाका साझेदार मैनाचुली निर्माण प्रालिका डाइरेक्टर मदनकुमार अधिकारीविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

महादेव खिम्ती/मैनाचुली जेभीका आधिकारिक प्रतिनिधि सन्तोष प्रधानले कम गुणस्तरको ग्याबिनबाट निर्मित स्टुडहरुलाई गुणस्तरयुक्त भनी महादेव खिम्ती/मैनाचुली जेभीका तर्फबाट भएको बिलबमोजिमको रकम बुझ्ने र दस्तखत गरेको आरोपमा मुद्दा अघि बढाएको छ । यो मुद्दामा अनियमितताको आरोप लागेका राजकुमार श्रीवास्तवसहित पाँच जनालाई ३ करोड ६५ लाख ९ हजार ४५६ रुपैयाँ बिगो रकम दाबी गरी मुद्दा चलाइएको छ ।

राष्ट्रिय वाणिज्य बैँक नेपालगन्जमा कार्यरत प्रबन्धक ललितबहादुर शाहीसहित आठ जनाले किर्ते कागजका आधारमा किर्ते धितो मूल्यांकन गरी उक्त कागजात वाणिज्य बैँकमा पेस गरी कर्जा लिने कार्य गरी गैरकानुनी लाभ पु‑याउने, गलत लिखत र प्रतिवेदन तयार पारी भ्रष्टाचार गरेको पुष्टि हुन आएकाले उनीहरुविरुद्ध अख्तियारले १ करोड करोड २५ लाख रुपैयाँबराबर बिगो दाबी गरी मुद्दा अघि बढाएको छ ।

जिल्ला खेलकुद समिति काठमाडौँका सहायक द्वितीय पदमा कार्यरत तिलकप्रसाद घिमिरेले क्लबको प्रमाणपत्र नवीकरणका लागि सेवाग्राहीसँग अतिरिक्त रकम लिएको अनुसन्धानबाट खुल्न आएकाले उनीविरुद्ध १५ हजार बिगोदाबी कायम गरी मुद्दा दायर गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै काठमाडौँको टुकुमा पुल निर्माणका क्रममा अनियमितता भएको अभियोगमा पाँच जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बेलबहादुर नेपालीले काठमाडौँको टुकुमा निर्माण व्यवसायीद्वारा निर्माणाधीन पुल ठेक्काअन्तर्गतको कार्यसम्पादन जमानत नवीकरण नगरी म्याद सकिसकेको अवस्थामा समेत आयोजना कार्यान्वयन इकाइको तर्फबाट निमित्त आयोजना प्रमुखले नै टिप्पणी उठाई ठेक्काको तेस्रो पटकका लागि म्याद सिफारिस गरेको र सोही सिफारिसका आधारमा कार्यसम्पादन जमानत बराबरको रकम फुकुवा हुन गई सरकारलाई हानी पुगेका कारण उनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

आयोजना कार्यान्वयन इकाइका तत्कालीन लेखा अधिकृत नारायणबहादुर थापाले ठेक्काको म्याद थप गर्ने सिलसिलामा गलत टिप्पणी उठाई सिफारिस गरेको र उनले उठाएको टिप्पणीको आधारमा कार्यसम्पादन जमानतबराबरको हुने रकम फुकुवा हुन गई सरकारलाई हानी पुगेको कारण उनविरुद्ध पनि अख्तियारले मुद्दा चलाएको छ ।

त्यस्तै तत्कालीन लेखापाल गिरीप्रसाद श्रेष्ठ र तत्कालीन लेखा अधिकृत श्यामबहादुर खत्रीले ठेक्का तोड्ने र कालोसूचीमा राख्ने र ठेक्काको कार्यसम्पादनका सम्बन्धमा केही उल्लेख नगरेको तथा र सुमित रौनियारले ठेक्का म्याद थप माग गर्दा काय सम्पादन जमानत नवीकरण नल्याएकाले उनीविरुद्ध मुद्दा दायर गरेको अख्तियारले जनाएको छ । अख्तियारले पाँचै जनाविरुद्ध १ करोड १४ लाख ७६ हजार बिगो मागदाबी गरेको छ ।

प्रहरी चौकी सप्तरीका प्रहरी नायब उपरीक्षक सिकन्दरप्रसाद कानुविरुद्ध बराम गरेर चौकीमा राखेका मोटरसाइकल फिर्ता दिने भन्दै सेवाग्राहीसँग घुस मागेको आरोपमा अख्तियारले ५० हजार बिगो माग दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

यस्तै नापी कार्यालय ललितपुरका कार्यालय प्रमुख बुद्धिमान जैसीसहित १७ जनाविरुद्ध ललितपुर महानगरपालिका २८ र २३ स्थित सिलौटेमा पर्ने कर्मनासा नामको सार्वजनिक खोला र आसपासको सरकारी जग्गा कर्मचारीहरुको मिलोमतोमा २०२२ सालको नक्सालाई तोडमोड गरी नयाँ फाइल नक्सा बनाई वितरण गरेको आरोपमा अख्तियारले २ करोड २ लाख ३३ लाख ६७१ रुपैयाँ बिगो दाबीसहित अदालतमा मुद्दा चलाएको छ । मुद्दा चलाइएकाहरुमा जैसीसहित नापी अधिकृत बालेश्वर यादव, सर्वेक्षक केशव थापामगर, तत्कालीन कार्यालय प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, नासु दिनेश न्यौपाने, खरिदार आत्माराम लुइँटेल, गुनीकाजी मानन्धर, योशेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर, उज्ज्वल मानन्धर, डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोशी र दुर्गेशनन्दिनी भट्टचन छन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ चितवनमा कार्यरत तत्कालीन कार्यालय प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सोमनाथ घिमिरेविरुद्ध कतिपय योजनामा बिल पेस गरेरमात्रै कामै नगरी किर्ते गरी रकम हिनामिना गरेको र नारायणी एग्रो कम्पनीलाई अधिकांश योजना वितरण गरेको आरोपमा मुद्दा दायर भएको छ ।

जोन सञ्चालक समितिका अध्यक्ष बालिका कुमारी गिरीले उक्त परियोजनाको रकम नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको पूर्ण काम नै नगरी रकमको झुद्दा बिल भरपाई पेस गरी भुक्तानीसमेत लिएको अख्तियारको आरोप छ ।

त्यस्तै एग्रो कम्पनीका संस्थापक गोपीनाथ भुसालले उक्त परियोजनाको प्राविधिक शिक्षालयको नाममा प्राप्त हुने रकम विद्यालयको प्रधानाध्यापक नभएको समयमा आफ्नै सेयर गरेको नारायणी एग्रो कम्पनीको नाममा निकासा गराई सो रकमबाट सम्झौताबमोजिमको काम नै नगरी झुटो बिल भरपाई पेस गरेको पुष्टि भएपछि अख्तियारले उनीविरुद्ध पनि मद्दा चलाएको हो । सोमनाथ घिमिरेसहित तीन जनालाई अख्तियारले ४ लाख १२ हजार ४७४ रुपैयाँ बिगो कायम गरेको छ ।

पुसमा ९ जना अख्तियारको फन्दामा

पुसमा अख्तियारले आर्थिक अपचलनको आरोपमा नौ जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुलाई २ लाख ३५ हजार रकमसहित नियन्त्रणमा लिइएको अख्तियारका प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ (शिक्षा) अन्तर्गत तनहुँका सब–इन्जिनियर सुरेन्द्र अधिकारी सबैभन्दा बढी घुस लिएको अभियोगमा पक्राउ परेका छन् । उनी पुस २२ गते १ लाख ५० हजार रकमसहित पक्राउ परेका हुन् । अधिकारी आफ्नो कार्यालय क्षेत्रभित्रको विद्यालयको भौतिक संरचना निर्माणमा निकासा दिलाइदिएबापत अतिरिक्त रकम माग गरिरहेको अवस्थामा पक्राउ गरेको अख्तियारले जनाएको छ ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय बालाजुका कम्प्युटर अपरेटर राजन शर्मा र टिमुर किचन रेस्टुरेन्टका सञ्चालक सन्तोष थापामगरलाई ४३ हजार रकमसहित रंगेहात अख्तियारले नियन्त्रणमा लिएको छ ।

पुस ६ गते १५ हजार घुस रकमसहित पक्राउ परेका खेलकुद विकास समिति काठमाडौँका खरिदार तिलकप्रसाद घिमिरेविरुद्ध अख्तियारले मुद्दा चलाइसकेको छ । अख्तियारले पुस १७ गते पक्राउ परेका इलाका प्रहरी कार्यालय सुनसरीमा कार्यरत हबल्दार भोला यादव र स्थानीय व्यापारी विनोद शाहलाई ६ हजार घुससहित अख्तियारले पक्राउ गरेको छ ।

त्यस्तै पुस २३ गते मालपोत कार्यालय सर्लाहीका नायब सुब्बा बेथनिधि बराल र लेखपढी व्यवसायी रामसुन्दर महतोलाई ११ हजार रकसहित अख्तियारले नियन्त्रणमा लिएको छ । पुस २८ गते इलाका प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी हबल्दार शान्ति भण्डारी १० हजार घुससहित पक्राउ परेका छन् । उनी आफू कार्यरत कार्यालयबाट नियन्त्रणमा लिइएका व्यक्तिलाई छुटाइदिएबापत घुस लिएको आरोपमा पक्राउ परेकी हुन् ।

अख्तियारमा चालू आर्थिक वर्ष ०७७/७८ को पुससम्ममा ६ हजार ८४६ उजुरी परेका छन् । पुसमा मात्रै ९९९ उजुरी परेको अख्तियारको तथ्यांकले देखाउँछ । पुसमा सबैभन्दा बढी लिखित ३२६ उजुरी परेका छन् । त्यस्तै हुलाकबाट १८५, इमेलबाट १५६, टेलिफोनबाट ११०, वेबसाइटबाट १६९, मोबाइल एपबाट ३०, भाइबरबाट ४, फेसबुकबाट १७ र एसएमएसबाट दुईवटा उजुरी परेको अख्तियारले जनाएको छ ।

प्रकाशित समय १३:३० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु