गृहपृष्ठ स्ट्यान्डर्ड चार्टर्ड बैँकको नाफामा ४० प्रतिशत गिरावट
स्ट्यान्डर्ड चार्टर्ड बैँकको नाफामा ४० प्रतिशत गिरावट
स्ट्यान्डर्ड चार्टर्ड बैँकको ६ महिनाको नाफा ७२ करोडमा सीमित भएको छ । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार बैँकले ६ महिनामा ७२ करोड ७६ लाख रुपैयाँ खुद नाफा कमाएको हो । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ४९ करोड ९२ लाख रुपैयाँ अर्थात् ४०.६९ प्रतिशत कम हो । गत वर्षको पुससम्ममा बैँकले १ अर्ब २२ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
समीक्षा अवधिमा बैँकको खुद ब्याज आम्दानी ३७.२८ प्रतिशत घटेर १ अर्ब १५ करोड २१ लाख रुपैयाँमा झरेको छ । त्यसैगरी सञ्चालन नाफा ४०.६९ घटेर १ अर्ब ४ करोड ४० लाख रुपैयाँमा सीमित भएको छ ।
चुक्ता पुँजी ८ अर्ब ५७ करोड २२ लाख रुपैयाँ रहेको बैँकको जगेडा कोषमा ५ अर्ब ७७ करोड ६७ लाख रुपैयाँ छ । खुद नाफासँगै बैँकको प्रतिसेयर आम्दानी पनि घटेको छ । गत वर्षको पुससम्ममा ३०.६३ रुपैयाँ रहेको बैँकको प्रतिसेयर आम्दानी चालू आवको पुससम्ममा घटेर १६.९८ रुपैयाँमा झरेको छ । बैँकको प्रतिसेयर नेटवर्थ १८२.४७ रुपैयाँ छ भने मूल्य आम्दानी अनुपात ३९.४१ गुणा छ ।
बैँकको निक्षेप ९५ अर्ब २ करोड रुपैयाँबाट घटेर ८३ अर्ब ५० करोड रुपैयाँमा झरेको छ । त्यसैगरी, कर्जा लगानी ५३ अर्ब ९२ करोड रुपैयाँबाट घटेर ५३ अर्ब १२ करोड रुपैयाँमा सीमित भएको छ ।
बैँकको निष्क्रिय कर्जा पनि बढेको छ । गत वर्षको पुससम्ममा ०.१७ प्रतिशत रहेको बैँकको निष्क्रिय कर्जा चालू वर्षको सोही अवधिसम्ममा १.५४ प्रतिशत पुगेको हो । समीक्षा अवधिमा बैँकको आधार दर ७.३३ प्रतिशतबाट ६.०७ प्रतिशतमा झरेको छ भने स्प्रेड दर ५.९३ प्रतिशतबाट ४.२१ प्रतिशतमा झरेको छ ।
प्रकाशित समय १२:३७ बजे

















