गृहपृष्ठ समानान्तर सहकारी बैंक बनाउँदै ठूला सहकारी सञ्चालकहरू
समानान्तर सहकारी बैंक बनाउँदै ठूला सहकारी सञ्चालकहरू
देशभित्र समानान्तर बैंकिङ कारोबार गर्दै आएका ठूला बचत तथा ऋण र बहुउद्देश्यीय सहकारी संस्थाहरू मिलेर ठूलो पुँजी भएको राष्ट्रिय स्तरको सहकारी बैंक स्थापनाको तयारी गरेका छन् । सम्बद्ध योजनाकारहरूले दिएको जानकारीअनुसार प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेडको चुक्ता पुँजी कम्तिमा विकास बैंकसरह हुनेगरि स्थापनाको तयारी भएको छ ।
१७ वर्षअघि स्थापना भएको राष्ट्रिय सहकारी बैंकबाट असन्तुष्ट रहँदै आएका सहकारी सञ्चालकहरूले समानान्तर रूपमा नेपाल सहकारी बैंक लिमिटेड नामक समानान्तर सहकारी बैंक स्थापनाको प्रक्रिया अगाडि बढाएका छन् ।
नेपालका ठूला सहकारीमध्येको श्रीलालीगुराँस बहुउद्देशीय सहकारीका कार्यकारी प्रमुख सुरेन्द्र भण्डारीको संयोजकत्वमा नेपाल सहकारी बैंक लिमिटेड स्थापनाका लागि कार्यदलसमेत गठन गरिसकिएको छ ।
कार्यदलमा नेपाल मर्चेन्ट सहकारीका डा. ज्ञानेन्द्र पौडेल, नमस्ते नेपाल बहुउद्देश्यीय सहकारीका पुष्पबहादुर पौडेल, मित्र लायन्स बहुउद्देश्यीय सहकारीका शम्भु घिमिरे, रोयल कोपअरेटिभका सीताराम काफ्ले, भानुभक्त ढकाल, जेपी दाहालसहितको ३२ जना छन् ।
‘अहिले हामी सहकारी बैंकमा सदस्य बन्न चाहने सहकारीहरूको फायलमात्रै संकलन गरिरहेका छौं, हालसम्म करिब ७ सय सहकारीहरूको फायल जम्मा भइसकेको छ,’ कार्यदलका सदस्य तथा प्रस्तावित नेपाल सहकारी बैंक लिमिटेड सचिवालय सदस्य जेपी दाहालले भने ।
देशभरिका ३५ हजारभन्दा बढी सहकारीको बढ्दो वित्तीय आवश्यकतालाई राष्ट्रिय सहकारी बैंक एक्लैले पूरा गर्न नसकेको महसुस गरेर नयाँ र ठूलो पुँजी भएको नेपाल सहकारी बैंक स्थापनाका लागि प्रक्रिया अगाडि बढाइएको उनको भनाइ थियो ।
राष्ट्रिय सहकारी बैंक लिमिटेडको आर्थिक वर्ष २०७६/७७ को प्रतिवेदनअनुसार सो बैंकको सेयर पुँजी २ अर्ब २२ करोड रूपैयाँ १२ हजार सहकारीहरू सदस्य छन् ।
सहकारी ऐन-२०७४ ले सहकारी बैंक स्थापनाका लागि न्यूनतम १ अर्ब ५० करोड रूपैयाँ पुँजी हुनुपर्ने व्यवस्था गरेकोमा त्यसभन्दा माथिको चुक्ता पुँजी नेपाल राष्ट्र बैंकले तोकेबमोजिम हुने व्यवस्था गरेको छ ।
‘राष्ट्र बैंकले कति चुक्ता पुँजी पुर्याएको हुनुपर्ने भनेर तोक्छ, हामी त्यहीअनुरुप पुँजी पुर्याएर दर्ता प्रक्रियामा जान्छौँ,’ दाहालले भने ।
उनका अनुसार सहकारी बैंक दर्ताका लागि यही शनिबार बृहत भेला बोलाइएको छ । भेलाबाट कार्यदललाई पूर्णता दिएर माघ महिनाभित्रै सहकारी विभागमा बैंक दर्ताका लागि प्रक्रिया अगाडि बढाइने दाहालले जानकारी दिए ।
यसरी खुलेको थियो राष्ट्रिय सहकारी बैंक
आर्थिक वर्ष २०५७/५८ को बजेटमा राष्ट्रिय सहकारी बैंक स्थापना गर्ने प्रक्रिया अगाडि बढाउने भनेर १ करोड रूपैयाँ बजेट विनियोजन गरिएको थियो । राष्ट्रिय सहकारी संघका तत्कालीन अध्यक्ष दीपकप्रकास बाँस्कोटाको संयोजकत्वमा गठित समितिले सो बैंक स्थापनाको पहल थालेको थियो भने २०५८ चैतमा सम्पन्न सहकारीहरूको राष्ट्रिय भेलाले यसका लागि तदर्थ समिति गठन गरेको थियो ।
तदर्थ समितिले ७८९ सदस्य सहकारीहरूबाट १ करोड रूपैयाँको सेयर पुँजी संकलन गरी २०६० साल असारमा दर्ता गरिएको राष्ट्रिय सहकारी बैंकले २०६१ साउनबाट कारोबार सुरु गरेको थियो । अहिले सो बैंकका सदस्य सहकारी संस्थाको संख्या १२ हजार ४६ पुगेको छ ।
सो बैंकले गत आर्थिक वर्ष २०७६/७७ को अन्त्यसम्ममा आफ्ना सदस्य सहकारीहरूबाट ४६ अर्ब ८८ करोड रूपैयाँ निक्षेप संकलन गरी २७ अर्ब १५ करोड रूपैयाँ कर्जा लगानी गरेको थियो ।
अहिले देशभरिका ३५ हजारभन्दा बढी सहकारी संस्थाहरूले वार्षिक ६ खर्ब रूपैयाँको हाराहारीमा वित्तीय कारोबार गर्ने गरेको सहकारी विभागको तथ्यांकले देखाउँछ । यीमध्ये वार्षिक ५० करोड रूपैयाँभन्दा बढीको कारोबार गर्ने बचत तथा ऋण र बहुउद्देश्यीय सहकारीहरूकै संख्या ५ सयभन्दा बढी भएको अनुमान छ ।
राष्ट्रिय सहकारी बैंकले सोचेजस्तो प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको, खासगरि बहुउद्देश्यीय सहकारीहरूको कारोबारको आकार बढ्दै गएसँगै उसको चुक्ता पुँजी र दायरा बढ्न नसकेको भन्दै समानान्तर प्रकृतिको नेपाल सहकारी बैंक स्थापनाको प्रक्रिया अगाडि बढाइएको हो ।
‘खुला बजार अर्थतन्त्रमा एउटैमात्रै सहकारी बैंकले बजारको आवश्यकता पूरा गर्नसक्ने अवस्था छैन । राष्ट्रिय सहकारी बैंकका लागि प्रतिष्पर्धी अर्को बैंक पनि आवश्यक छ भन्ने महसुस गरेरै नेपाल सहकारी बैंक स्थापनाको प्रक्रिया अगाडि बढाइएको हो,’ बैंक स्थापना कार्यदलका सदस्य रहेका नमस्ते नेपाल बहुउद्देश्यीय सहकारीका पुष्पबहादुर पौडेल भन्छन् ।
प्रकाशित समय ११:४७ बजे

















