गृहपृष्ठ सिटिजन्स बैंकमा गाभिने भयो सिर्जना फाइनान्स

सिटिजन्स बैंकमा गाभिने भयो सिर्जना फाइनान्स

सिटिजन्स बैंक इन्टरनेसनले सिर्जना फाइनान्सलाई गाभ्ने भएको छ । मर्जरसम्बन्धी प्रारम्भिक समझदारी पत्रमा दुई संस्थाबीच बुधबार हस्ताक्षर भएको हो ।

विराटनगरमा एक कार्यक्रम गरी बैंकका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सिर्जना फाइनान्सका सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक सुवास आचार्यले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

नेपाल राष्ट्र बैंकको अन्तिम स्वीकृतिपश्चात संयुक्त कारोबारको प्रक्रिया अघि बढ्नेछ । २०७७ साल माघ २७ गतेसम्मको तथ्यांकका आधारमा सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई प्राप्ति गरेपछि निक्षेप करिब १ खर्ब ३४ अर्ब रुपैयाँ र कर्जा प्रवाह करिब १ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ । प्राप्तिपश्चात बैंकको कुल शाखा संख्या १८८ हुनेछ ।

सेयर स्वाप रेसियो विस्तृत मूल्यांकन प्रतिवेदनद्वारा सिफारिस भएबमोजिम निर्धारण गर्न दुवै कम्पनी सहमत भएका छन् । बैंकले ‘बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली २०७३’ बमोजिम फाइनान्सलाई प्राप्ति गर्न लागेको हो ।

सिटिजन्स बैंकको केन्द्रीय कार्यालय काठमाडौंको नारायणहिटीमा छ भने सिर्जना फाइनान्सको मोरङको भानु टोलमा छ । हाल सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड र सिर्जना फाइनान्सको ८४ करोड ७८ लाख रुपैयाँ छ ।

प्रकाशित समय ०७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु