गृहपृष्ठ तीन महिने समीक्षा : ग्लोबल आइएमई बैंकका सबै सूचक सकारात्मक

तीन महिने समीक्षा : ग्लोबल आइएमई बैंकका सबै सूचक सकारात्मक

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार ग्लोबल आइएमई बैंकका सबै सूचक सकारात्मक देखिएका छन् । यो तीन महिनाभित्र बैंकले ५२.४२ प्रतिशतले नाफा बढाएको छ । अघिल्लो वर्षको सोही अवधिमा ३३ करोड ९६ लाख रुपैयाँ नाफा गरेको बैंकले यसपटक ५१ करोड ७६ लाख रुपैयाँ नाफा गरेको छ ।

गत वर्षको यही अवधिमा ७७ करोड ३५ लाख रहेको बैंकको खुद ब्याज आम्दानी यसपटक ५५ प्रतिशतले बृद्धि भइ एक अर्ब २० करोड रुपैयाँ पुगेको छ । व्यवसाय बिस्तारमा ध्यान दिएका कारण बैंकको खूद ब्याज आम्दानीमा प्रगति देखिएको हो ।

यस्तै बैंकको निक्षेप ६.२२ प्रतिशतले बढेर एक खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । बैंकले १ खर्ब ११ अर्ब निक्षेप संकलन गरी ९९ अर्ब ५० करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्षको तुलनामा निक्षेतर्फ बैंकको प्रगति ६.२२ प्रतिशतले बढी हो । बैंकको ऋण लगानी भने १४.५५ प्रतिशतले बढेर ९९ अर्ब ५० करोड रुपैयाँ पुगेको विवरणमा उल्लेख छ ।

बैंकले चुक्तापूँजीमा १० प्रतिशतले वृद्धि गरी ८ अर्ब ८८ करोड रुपैयाँ पुर्याएको छ । जगेडा कोषमा ५ अर्ब ७३ करोड रुपैयाँ जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा बैंकको जगेडा कोषमा ४ अर्ब ६४ करोड रुपैयाँ थियो । पूँजी कोष अनुपात ०.४६ प्रतिशतले बढेर ११.२७ प्रतिशत पुगेको छ । आधार व्याज दर १०.५९ प्रतिशत छ । यो अवधिमा बैंकले खराब कर्जा घटाएको छ । बैंकले १.५७ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा घटाएर १.०५ प्रतिशतमा झारेको छ भने प्रति सेयर आम्दानी १६४.५३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १३.१९ गुणा कायम भएको छ । अब प्रति शेयर आम्दानी ४.६६ रुपैयाँले बढेर २४.११ रुपैयाँ पुगेको छ ।

 

प्रकाशित समय १२:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु