गृहपृष्ठ नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी

नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी

३६ प्रतिशत नेपालीले पिउँछन रक्सी, रक्सीमै हुन्छ ६० अर्ब खर्च

liquor consumption Nepal_NewsKarobar
  • नेपालीले पिउँछन् वार्षिक साढे १० करोड लिटर रक्सी
  • महिला र युवामा रक्सी पिउने प्रवृत्ति बढ्दो
  • मदिरामै हुन्छ ६० अर्ब खर्च
  • ३६ प्रतिशत नेपालीले पिउँछन रक्सी
  • घरेलु रक्सी नै सबैभन्दा लोकप्रिय
  • बियर पिउने ३१ प्रतिशत

चाहे जन्मदिनको पार्टी होस् या बिवाह ब्रतबन्ध अथवा अन्य कुनै भेटघाट मदिराबिनाको पार्टी अधुरो नै मानिन्छ । धेरैजसो नेपालीहरू हिजोआज ‘सोसल’ हुने नाममा मदिराको लतमा यतिधेरै परिसकेका छन् कि मदिराबिनाको समाज कल्पना गर्नै मुश्किल हुन थालेको छ ।
सुरुमा साथीभाइसँग, पार्टीमा, भेटघाटमा ‘अलिकति’ ‘यसो’ लिने नेपालीहरू पछि रक्सीमै यति चुर्लम्म भइसकेका छन् कि नेपालमा वार्षिक साढे १० करोड लिटर मदिरा खपत हुने गरेको छ,जसका लागि हरेक वर्ष नेपालीहरूले ६० अर्ब रुपैयाँभन्दा खर्च गरेका छन् ।

नेपालभित्र वार्षिक ७० लाख लिटर मदिरा, ९ करोड ६६ लाख लिटर बियर उत्पादन हुन्छ भने बियर, वाइन, व्हीस्कीसहितका सबै किसिमका मदिरा करिब २८ लाख लिटर आयात हुने गरेको छ । नेपालमा फ्रान्स, अमेरिका, अष्ट्रेलिया, स्पेन, बुल्गेरिया, पोर्चुगल, चिली, साउथ अफ्रिका, भारत, चीन लगायतका दर्जनौं देशबाट रक्सी आयात हुने गरेको छ ।

यसमा घरेलु तबरबाट उत्पादन हुने रक्सी, जाँड, छाँङ, निगारको तथ्यांक भने जोडिएको छैन । कुल मदिरा पिउनेमध्ये अधिकांशले घरेलु तबरबाट उत्पादित हुने यस्ता मदिराजन्य पदार्थ पिउने गरेका छन् । सन् २००६ मा काठमाडौं उपत्यकाभित्र गरिएको गरिएको एक सर्वेक्षणअनुसार उपत्यकामा ३४ प्रतिशतले घरेलु मदिरा सेवन गर्ने गरेका छन् विश्व स्वास्थ्य संगठनको सन् २००४ को अर्को सर्वेक्षणअनुसार ग्रामीण क्षेत्रमा झन्डै ६० प्रतिशतले घरेलु मदिरा नै सेवन गर्ने गर्छन् । आफैले उत्पादन गरेर उपभोग गरिनेबाहेक झन्डै दुई तिहाइले बजारमा पाइने स्थानीय मदिरा सेवन गर्ने गरेका छन् ।
घरपरिवार सर्वेक्षणअनुसार नेपालीहरूले आफ्नो कुल खर्चको ४ प्रतिशत रकम रक्सी, चुरोटमा खर्च गर्ने गरेका छन् । यस तथ्यांकका आधारमा मात्र हेर्दा नेपालमा मदिराका खपतका लागि मात्र वार्षिक ६० अर्ब रूपैयाँभन्दा बढी खर्च हुने गरेको छ ।
विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का अनुसार नेपालमा १५ वर्षभन्दा माथिका ३६.७ प्रतिशतले मदिरा पिउने गरेका छन्, यो अनुपात सन् २०१० मा २८.८ प्रतिशतमात्रै थियो । एक दशकको अवधिमा रक्सी पिउनेहरूको अनुपात ८ प्रतिशतको हाराहारीमा बढ्नुले नेपालमा रक्सीको संस्कार बढेको देखाउँछ ।

मदिरा पिउने महिला पनि बढे

विश्व स्वास्थ्य संगठनद्वारा प्रकासित ‘ग्लोबल स्टाटस रिपोर्ट अन अल्कोहल एन्ड हेल्थ–२०१८’ प्रतिवेदनअनुसार ४६.८ प्रतिशत पुरुषले रक्सी पिउँछन् भने १६.५ प्रतिशत महिलाले रक्सी पिउँछन् । सन् २०१० मा ३६.२ प्रतिशत पुरुष रक्सी पिउँदा ६.६ प्रतिशत महिलाले मात्रै रक्सी पिउँथे ।
रक्सी पिउनेहरूले प्रतिव्यक्ति औसत ७.४ लिटर रक्सी पिउँछन्, यसमा पुरुषले प्रतिव्यक्ति ९.४ लिटर र महिलाले ३.५ लिटर पिउँछन् ।
प्रतिवेदनअनुसार रक्सी पिउँदै नपिउनेहरूको संख्या पनि उल्लेख्य छ । औसत ६६.९ प्रतिशतले जीवनभरि रक्सी पिउँदै नपिएको र ६ प्रतिशतले १ वर्षभित्रमा रक्सी छाडेको बताएका छन् । सन् २०१० मा जीवनभर रक्सी पिउँदै नपिउनेको अनुपात ८८.४ प्रतिशत र एक वर्षभित्र रक्सी छाड्नेको अनुपात ८ प्रतिशत रहेको डब्लूएचओको प्रतिवेदनमा उल्लेख छ ।
मदिरा पिउनेहरूमध्ये ४९ प्रतिशतले वाइन, ३१ प्रतिशतले बियर र २० प्रतिशतले विभिन्न नामका रक्सी (रक्सी, व्हीस्की, स्कचसहितका स्प्रिट) पिउने गरेको यो अध्ययनले देखाएको छ । यद्यपि, नेपालमा स्थानीय तबरबाट उत्पादित छ्याङ, जाँड, निगार, घरपारुवा रक्सी सबैभन्दा बढी लोकप्रिय रहेको सन् २००४ मा डब्लूएचओले नै गरेको मदिरा सेवनसम्बन्धी अर्को अध्ययनले देखाएको थियो ।
नेपालका तराई, पहाड र हिमाल तीनै क्षेत्रलाई प्रतिनिधित्व हुने गरी १६ जिल्लामा गरिएको उक्त अध्ययनमा १५ देखि ५९ वर्षसम्मका ६७.५ प्रतिशतले विगत एक वर्षभित्रमा कुनै न कुनै किसिमका मदिरा सेवन गरेको बताएका थिए ।
डब्लूएचओको प्रतिवेदनअनुसार सबैभन्दा चिन्तालाग्दो विषय युवा वर्गमा मदिरा सेवन गर्ने प्रवृत्ति डरलाग्दो ढंगले बढेको छ । नेपालमा मदिरा नियमनसम्बन्धी प्रभावकारी व्यवस्था नहुँदा मदिरा सेवन बढेको र यसकै कारण कलेजोजन्य रोगसहित अन्य थुप्रै नसर्ने प्रकृतिका रोग बढेको ठहर अध्ययनले गरेको छ ।

 

प्रकाशित समय १५:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु