गृहपृष्ठ लगानीका लागि नेपाल भर्जिनल्याण्ड : प्रधानमन्त्री
लगानीका लागि नेपाल भर्जिनल्याण्ड : प्रधानमन्त्री
तस्बिर : रासस
काठमाडाैंमा लगानी सम्मेलन सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा लगानी गर्न अन्तर्राष्ट्रिय लगानीकर्तालाई आग्रह गरेका छन् । सम्मेलनको उद्घाटन गर्दै ओलीले लगानीको लागि नेपाल भर्जिनल्याण्ड भएको बताए ।
प्रधानमन्त्री ओलीले नेपालमा जुन क्षेत्रमा लगानी गर्दा पनि नाफा हुने भन्दै बताए । नेपाली जनताको जीवनस्तर सुधार्न सरकारले काम गरिरहेको र लगानीको लागि वातावरण तयार गरेको प्रधानमन्त्री ओलीको भनाई थियो । नीतिगत स्थायित्व भएकोमा उनका जोड थियो ।
प्रधानमन्त्री ओलीले २०३० सम्म दीगो विकासको लक्ष्य हासिल गर्ने उदेश्य लिएको जानकारी गराए । दुई अंकको आर्थिक बृद्धि गर्न सरकारलाई ५ वर्षमा ९८ खर्ब रुपैयाँ आवश्यक पर्ने भएकाले पनि वैदेशिक लगानीको आवश्यकता परेको स्पस्ट पारे । आफ्नो सम्बोधनको सुरुमै प्रधानमन्त्री ओलीले ‘बुद्ध र सगरमाथाको देशमा ठूला लगानीको लागि स्वागत छ, सरकारले लगानीको सुरक्षा दिन्छ ।’ भनेका थिए । लगानीकर्ताको सानो लगानीले पनि नेपालमा ठूलो प्रभाव पर्न सक्न प्रधानमन्त्री ओलीको भनाई थियो ।
उद्घाटन सत्रमा बोल्दै अर्थमन्त्री युवराज खतिवडाले नेपालमा लगानी गर्न विदेशी लगानीकर्तालाई आग्रह गरेका छन् । अर्थमन्त्री खतिवडाले अन्तर्राष्ट्रिय लगानीकर्तासामु नेपालको कर प्रणाली वैज्ञानिक रहेको र कानुनमा सुधार गर्दै लगानीको वातावरण बनाएको जानकारी दिए । अर्थमन्त्री खतिवडाले नेपाल द्रूत आर्थिक विकाससहित अघि बढ्न चाहेको बताएका छन् ।
लगानी सम्मेलनका लागि सरकारले ५० र निजी क्षेत्रबाट २७ आयोजना गरी कूल ७७ आयोजनालाई ‘शो केश’ मा राखेको छ । यी आयोजनाको लागत ३१ खर्बको हाराहारीमा रहेको बताइएको छ । सम्मेलन भोली शनिबारसम्म चल्नेछ । सम्मेलनमा ४० भन्दा बढी देशका ६ सय लगानीकर्ता सहभागि भएका छन् ।
सम्मेलनलाई लक्षित गरी काठमाडौँको सुरक्षा व्यवस्थासमेत चुस्त बनाइएको गृहमन्त्रालयले जनाएको छ ।
प्रकाशित समय ०९:५३ बजे

















