गृहपृष्ठ ‘कर छल्ने व्यवसायीलाई कारबाही गरिने’
‘कर छल्ने व्यवसायीलाई कारबाही गरिने’
मुलुक समृद्धिको मूल आधार नै कर भएकाले समयमा कर तिर्न सबैलाई आग्रह गरिएको छ ।
नेपाल व्यापार संघ न्युरोडले आठौँ कर सप्ताहका अवसरमा बिहीबार यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण कार्यक्रम’ मा सो आग्रह गरिएको हो ।
कार्यक्रममा आन्तरिक राजस्व कार्यालय न्युरोडका प्रमुख डा. रामप्रसाद मैनालीले प्रचलित कानुनअनुसार कर नतिर्नेलाई कारबाही गर्ने बताउँदै समयमा बिल, बिजक र कागजपत्र राखेर कारोबार गर्नुपर्नेमा जोड दिए । ‘कर छलेर कारोबार गर्ने व्यवसायीलाई छापा मारेर कडा कारबाही गर्नेछौँ,’ उनले भने ।
नेपाल व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष नरेश कटुवालले सरकारले साना व्यवसायीको हकहितमा काम गर्न नसकेको आरोप लगाउँदै पछिल्लो चरणमा भन्सार सहजीकरण भए पनि व्यवसायीले दुःख पाइरहेकाले भन्सारमा दिइने कर र मूल्य अभिवृद्धि कर (भ्याट) स्पष्ट हुनुपर्ने बताए । ‘व्यक्ति विशेषका लागि कानुन बनेको छ, समग्र व्यवसायीका लागि कानुन बन्नुपर्यो,’ उनले भने ।
नेपाल व्यापार संघका अध्यक्ष कुमार कार्कीले करको दरभन्दा दायरा बढाउनेतर्फ सरकार लाग्नुपर्ने बताउँदै व्यवसायीले भन्सार क्षेत्रमा भोग्नुपरेको समस्याबारे सरकार गम्भीर बन्नुपर्नेमा जोड दिए ।
विसं २०४७ माघ ४ मा स्थापना भएको नेपाल व्यापार संघले व्यापारीको हकहितमा काम गर्नुका साथै सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको संघका महासचिव कृष्ण अधिकारीले जानकारी दिए । (रासस)
प्रकाशित समय ११:०७ बजे

















