गृहपृष्ठ सुदूरपश्चिम सरकारको बजेट खर्च २१ प्रतिशत मात्रै, आगामी वर्षको बजेट निर्माण सुरु
सुदूरपश्चिम सरकारको बजेट खर्च २१ प्रतिशत मात्रै, आगामी वर्षको बजेट निर्माण सुरु
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको तेस्रो चौमाससम्म कुल बजेटको २१ प्रतिशत मात्रै बजेट खर्च गरेको छ । यससँगै विकास निर्माणका कामलाई तीव्रता दिँदै बजेट खर्चको अवस्था सुधार गर्ने दाबी गर्दै आएको प्रदेश सरकारलाई लकडाउनको कारण खर्च हुन नसकेको बहाना बनाउन सहज भएको छ । यो वर्षको न्यून बजेट खर्चका बीच प्रदेश सरकार आगामी आर्थिक वर्ष २०७७/०७८ का लागि बजेट निर्माणको तयारीमा जुटेको छ ।
सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षका लागि प्रदेश सरकारले ल्याएको २८ अर्ब १६ करोडबराबर बजेटमध्ये चैत मसान्तसम्म २१ प्रतिशत खर्च गरेको छ । प्रदेश लेखा नियन्त्रण कार्यालय धनगढीका प्रमुख वासुदेव जोशीका अनुसार हालसम्म चालूतर्फ ३ अर्ब ३३ करोड ४० र पुँजीगततर्फ २ अर्ब ५० करोड २७ लाख बजेट खर्च भएको छ । चालू र पुँजीगत गरी कुल ५ अर्ब ५८ करोड २१ लाख खर्च भएको हो ।
गत वर्षको तुलनामा यो वर्ष बजेट खर्चको अवस्था सन्तोषजनक भए पनि लकडाउनका कारण ४० प्रतिशतको हाराहारी मात्रै बजेट खर्च हुने देखिएको छ । चालू आर्थिक वर्षको पहिलो र दोस्रो चौमासिकमा विभिन्न कारणले अपेक्षाकृत उपलब्धि हासिल गर्न नसकेको प्रदेश सरकारले तेस्रो चौमासिकमा बजेट खर्च हुने अनुमान गरे पनि सम्भव नभएको जनाएको छ ।
चालू वर्षको बजेट खर्च न्यून भए पनि प्रदेश सरकार आगामी आव २०७७/०७८ का लागि बजेट निर्माणको गृहकार्यमा जुटेको छ । प्रदेश सरकारले आगामी वर्ष ३३ अर्बको बजेट ल्याउने गरी तयारी थालेको आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले जानकारी दिए ।
मन्त्री बोहराले प्रदेशमा कोभिड- १९ ले पारेको असरलाई रिकभर गर्ने गरी बजेटको प्राथमिकता निर्धारण गरिने बताएका छन् । स्वास्थ्य, कृषि, रोजगार, साना तथा लघु उद्यम र विकास निर्माण नै प्रदेश सरकारको बजेटको प्राथमिकतामा पर्ने प्रारम्भिक अनुमान गरिएको मन्त्रालयले जनाएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्रालयले आर्थिक वर्षको अन्त्यसम्म कुल बजेटको ४०‑४२ प्रतिशत मात्रै खर्च हुने अनुमान गरेको छ । संघीय सरकारले सुदूरपश्चिम प्रदेश सरकारलाई वित्तीय समानीकरण र राजस्व बाँडफाँडको बजेट सिलिङसमेत पठाइसकको छ । सुदूरपश्चिमले संघीय सरकारबाट आउँदो आर्थिक वर्षमा आठ अर्ब ४२ करोड ४३ लाखको वित्तीय समानीकरण र सात अर्ब ८७ करोड ३६ लाखको राजस्व बाँडफाँडको बजेट पाउनेछ ।
प्रकाशित समय १२:१९ बजे

















