गृहपृष्ठ नेपाल टेलिकमले विद्यार्थीलाई सस्तो दरमा सेवा उपलब्ध गराउने
नेपाल टेलिकमले विद्यार्थीलाई सस्तो दरमा सेवा उपलब्ध गराउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको ‘विद्यालय शिक्षासम्बन्धी आकस्मिक कार्ययोजना २०७७’ बमोजिम विद्यालय जाने बालबालिकाहरुलाई आफ्नो परिवेश अनुकूल सिक्ने वातावरण सिर्जना गरी सिकाइमा सहजीकरण गर्ने कार्यमा सहयोग पुर्याउनका लागि नेपाल टेलिकमले निकै सस्तो दरमा सेवाहरु उपलब्ध गराउने भएको छ ।
यसअन्तर्गत नेपाल टेलिकमले शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD)सँग समन्वय गरी सरकारी र सामुदायिक विद्यालयका शिक्षक र विद्यार्थीबीच सिकाई सम्पर्क कायम गराउने प्रयोजनका लागि कम्पनीको प्रिपेड मोबाइल ‘पाठशाला CUG सिम’ निःशुल्क उपलब्ध गराउने भएकाे हो ।
प्रत्येक विद्यालयका शिक्षक, विद्यार्थी र अभिभावकलाई कम्पनीको Closed User Group (CUG)मा आबद्ध गरी मासिक जम्मा रु. ९९ मा क्लोज्ड ग्रुपभित्र असिमित कुराकानी गर्न सकिने भ्वाइस सेवा, शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (www.learning.cehrd.edu.np) चलाउन ५ जिबी डाटा सेवा र बल्क एसएमएस सुविधासमेत उपलब्ध गराइने छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रको वेबसाइट (www.learning.cehrd.edu.np) मा कक्षा १ देखि १० सम्मको सबै पाठ्यक्रम र पाठ्यसामग्रीहरु उपलब्ध हुनेछ ।
सो प्रिपेड सिमकार्डबाट शिक्षक-विद्यार्थी र अभिभावकबीच असीमित कुराकानी गर्न, शिक्षा तथा मानव स्रोत विकास केन्द्रको वेबपोर्टल निशुल्क चलाउन र शैक्षिक प्रयोजनका लागि बल्क एसएमएस पठाउन सकिने छ ।

कर्पोरेट युजर ग्रुप बनाउने प्रयोजनका लागि सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी भएका प्रत्येक घरधुरीलाई एउटा सिमकार्ड तथा सो विद्यालयका प्रत्येक शिक्षकको सिमकार्डको फोन नम्बर संकलन गर्ने, प्रत्येक विद्यालयका यी फोन नम्बरलाई Closed User Group (CUG) सेवामा आवद्ध गराउने र यो सेवा वापतको शुल्क नेपाल सरकार, प्रयोगकर्ता र सेवा प्रदायकले साझेदारीमा व्यहोर्ने व्यवस्था गरिएको छ ।
यदि कुनै विद्यालयका विद्यार्थी, शिक्षक र परिवारको एक सदस्यसँग नेपाल टेलिकमको सिम नभएको अवस्थामा मागबमोजिम कम्पनीले सिम निःशुल्क उपलब्ध गराउने छ । यो सेवाअन्तर्गत प्रत्येक विद्यार्थी र शिक्षकले निःशुल्क प्राप्त गर्ने सिमकार्डका लागि शिक्षक र विद्यार्थीको नागरिकता र परिचयपत्रको फोटोकपी, अभिभावकको नागरिकताको फोटोकपी र एकप्रति फोटो उपलब्ध हुनुपर्दछ । विद्यार्थीले सिमकार्ड उनीहरुकै वा अभिभावकको नाममा पनि लिन सक्नेछन् ।
विद्यार्थी वा अभिभावकलाई उपलब्ध गराइने ‘पाठशाला CUG सिम’ विद्यालयले रितपूर्वक भरिएको फाराममा स्थानीय निकायबाट सिफरिश लिई नजिकको नेपाल दुरसञ्चार कम्पनीको कार्यालयबाट एकमुष्ट लिन सक्नेछन् । त्यसैगरी कम्पनीले प्राविधिक दृष्टिकोणले सम्भव भएसम्म सहुलियत दरमा टोल फ्रि नम्बरसमेत उपलब्ध गराउने छ ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्रले इन्टरनेट सेवा नपुगेका सार्वजनिक विद्यालयहरुको गाउँपालिका सहितको नामवली संकलन गरी पठाएपश्चात् नेपाल टेलिकमले विद्यालयमा वैकल्पिक माध्यम वायरलेस ब्रोडब्यान्ड प्रविधिबाट इन्टरनेट सेवा उपलब्ध गराउन अध्ययन गरी पाइलटिङ गर्ने र उक्त स्थानहरुमा आफ्नो कार्ययोजना अनुसार मोबाइल र एफटीटीएच विस्तार गर्नेछ ।
मासिक लाग्ने रु. ९९ मा VAT/TSC /OT समावेश नगरिएको कम्पनीले जनाएको छ ।
प्रकाशित समय १८:३२ बजे

















