गृहपृष्ठ उपभोक्ता ठग्ने अनलाइन व्यापारमाथि वाणिज्य विभागको कारबाही
उपभोक्ता ठग्ने अनलाइन व्यापारमाथि वाणिज्य विभागको कारबाही
दराज क्येमु ‘पटके’ मा
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले गुणस्तरहीन सामान बेच्ने, एकथरि भनेर अर्कोथरि सामान बेच्ने, दर्तै नभइ सामान बेच्ने, कानुनविपरीत दर्तै नभइ व्यापार गर्नेलगायतका उपभोक्ता हितविपरीत काममा संलग्न भएका १७ वटा ‘अनलाइन व्यापार’लाई कारबाही गरेको छ ।
यसरी उपभोक्ता ठग्ने र कानुनविपरीत काम गर्ने अनलाइन व्यापारीहरूमा दराज अनलाइन (दराज केबु) ‘पटके’ मा परेको छ । गुणस्तरहीन सामान बेचेको, एकथरि भनेर अर्कोथरि सामान बेचेको र प्रचलित कानुनविपरीत स्थान परिवर्थन गरी कारोबार गरेकोलगायतका कारणले पटक–पटक विभागका कारबाहीमा पर्नुलाई ‘पटके’ भनिएको छ ।
यसअघि नै उपभोक्ता हितविपरीत काम गरेको भन्दै ३ लाख रूपैयाँ जरिवानमा परिसकेको दराज केमु प्रालिमाथि यस पटक नियमविपरीत ठेगाना परिवर्तनमा कारबाहीका लागि फायल तयार भएको विभागले जानकारी दिएको छ ।
विभिन्न व्यक्ति तथा समूहले विदेशबाट ल्याएका गुणस्तरहीन सामान कुनै सरकारी निकायमा दर्तै नभइ दराजमार्फत बेच्ने गरेको पाइएकाले तिनीहरूमाथि छानबिन गरी कारबाही तीव्र पारिएको विभागका निर्देशक रविन्द्र अधिकारीले जानकारी दिए ।
यसैगरी, फेसबुकमा ‘अनलाइन व्यापार’का नक्कली व्यापारिक कम्पनीजस्तो बनाएर उपभोक्ता ठग्ने क्रम बढेपछि तिनीहरूउपर पनि प्राप्त उजुरीका आधारमा कारबाही गरिएको अधिकारीले बताए ।
विभागका अनुसार साउनदेखि असोज ३० गतेसम्म कुल २१ वटा अनलाइन कारोबार गर्ने कम्पनीहरूको अनुगमन गरिएकोमा १७ वटामाथि ५ लाख ८० हजार रूपैयाँ जरिवाना गरिएको छ भने ३ वटालाई आवश्यक कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको र दुई वटालाई सुधारका लागि निर्देशन दिइएको छ ।
जरिवाना गरिएका अनलाइन व्यापार कम्पनीहरूमा दराज केमुलाई ३ लाख, ग्रिन बजार र न्यूट्रिक एयर अगोनिक्सलाई ५०/५० हजार रूपैयाँ, सिद्धार्थ बिजनेस इनटरप्राइजेनलाई २० हजार, मेक इन नेपाल ग्रुप प्रालि, खोपी ट्रेडर्स स्मार्ट ग्यालरी प्रालिलाई १५/१५ हजार, कन्काइ हर्बो होम प्रालि र पीआर सप प्रालिलाई १०/१० हजारका दरले जरिवाना गरिएको विभागले जानकारी दिएको छ ।
चार महिनामा १३७ संस्थालाई कारबाही
विभागले विगत चार महिनाको अवधिमा बजार अनुगमन तीव्र बनाइ उपभोक्ता हितविपरीत काम गर्ने १३७ व्यापारिक कम्पनीहरूमाथि कारबाही गरी ७८ लाख ५७ हजार रूपैयाँ जरिवाना गराइएको जनाएको छ ।साउनदेखि असोजसम्म विभागले सबैभन्दा ठूलो कारबाही विभिन्न चकलेट, बिस्कुट, दूधसहित वस्तुको ‘रिलेबलिङ’मा संलग्न विशाल ग्रुपसँग सम्बन्धित आयन र अमेजन डिस्ट्रिब्युटर्समाथिका गरिएको कारबाहीलाई लिएको छ ।
करिब २ करोढ ९३ लाख रूपैयाँ मूल्यबराबरको उपभोग्य वस्तुको ‘रिलेबलिङ’ कार्यमा संलग्न आयन डिस्ट्रिब्युटर्सका म्यानेजर रोनक बोथरा अहिले थुना छन् भने सोही डिस्ट्रिब्युटर्सकी अध्यक्ष पुष्पादेवी अग्रवाल १ करोड रूपैयाँ धरौटीमा छुटेकी छिन् । यो मुद्दा अहिले अदालतमा अभियजोन अगाडि बढाइएको अधिकारीले जानकारी दिए ।
विभागले चाडपर्वका बेला हुने ठगी नियन्त्रणका लागि देशैभरि अनुगमनलाई तीव्रता दिएको निर्देशक अधिकारीले जानकारी दिए ।
प्रकाशित समय १६:१२ बजे

















