गृहपृष्ठ सामाजिक सुरक्षा योजना ‘वृद्धभत्ता’ अवधारणाको बृहत रुप : प्रधानमन्त्री

सामाजिक सुरक्षा योजना ‘वृद्धभत्ता’ अवधारणाको बृहत रुप : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सुरक्षा योजना तत्कालीन नेकपा एमालेको ‘वृद्धभत्ता’ अवधारणाको विस्तारित र उन्नत रुप भएको बताएका छन् । तेस्रो सामाजिक सुरक्षा दिवसका अवसरमा सामाजिक सुरक्षा कोषले बिहीबार आयोजना गरेको भर्चुअल कार्यक्रममा उनले भने, ‘२०५१ सालमा बनेको अल्पमतको नौ महिने तत्कालीन नेकपा एमालेको सरकारले नै सामाजिक सुरक्षाको अवधारणालाई जनस्तर खासगरी ज्येष्ठ नागरिकबाट सुरु गरेको थियो, आज त्यसकै विकासक्रमको रुपमा व्यवस्थित सामाजिक सुरक्षा योजनामा हामी आइपुगेका छौँ ।’

तत्कालीन वृद्धभत्ता कार्यक्रमको महत्व र प्रभाव बृहत् र दूरगामी रहेको पनि उनले स्पष्ट पारे । ‘अहिले अघि सारिएको सामाजिक सुरक्षा योजनाले त्यसलाई पुष्टि गरिसकेको छ,’ प्रधानमन्त्रीले भने, ‘सामाजिक सुरक्षा योजनाले औपचारिक र अनौपचारिक क्षेत्रलाई समेत समेटेर जाने भएकाले हामी सामाजिक सुरक्षाको उच्च स्तरमा जाँदै छौँ ।’

सामाजिक सुरक्षा योजना सरकारले सभ्य मावन समाज निर्माण गर्ने कर्तव्य, भावना र चेतनाबाट निर्देशित भएर अघि बढाएको प्रधानमन्त्रीको भनाइ छ । ‘संविधानले निर्देशित गरेअनुसार नै सामाजिक सुरक्षाको अवधारणालाई व्यापक बनाइएको हो,’ उनले भने, ‘यसले दिगो विकास लक्ष्य हासिल गर्ने दिशामा हामी अग्रसर छौँ भन्ने पनि दर्शाउँछ ।’

दुई वर्षको अवधिमा कोषमा १२ हजार ९१५ रोजगारदाता र १ लाख ७९ हजार ७९१ योगदानकर्ता आबद्ध भइसकेका छन् । यो अवधिमा ३ अर्ब १० करोड १० लाख योगदान रकम जम्मा भइसकेको छ ।

हालसम्म ७१८ जना योगदानकर्ताले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत १ करोड ४७ लाख ५५ हजार ४५९ रुपैयाँ दाबी भुक्तानी पाइसकेका छन् । जसअन्तर्गत ६१८ जनाले औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी भुक्तानी लिएका छन् । त्यस्तै ४३ जनाले दुर्घटना तथा अशक्तता सुरक्षा दाबी भुक्तानी र २४ जनाले आश्रित परिवार सुरक्षा दाबी भुक्तानी पाएका छन् । कोषबाट ३३ जनाले उपादान दाबी भुक्तानी पाइरहेका छन् ।

कोषको शुभारम्भ २०७५ मंसिर ११ गते भएको हो ।

प्रकाशित समय १२:२५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु