गृहपृष्ठ सुदूरपश्चिम प्रदेशमा झाँगियो भ्रष्टाचार, बढी अनियमितता स्थानीय तहमा

सुदूरपश्चिम प्रदेशमा झाँगियो भ्रष्टाचार, बढी अनियमितता स्थानीय तहमा

सुदूरपश्चिम प्रदेशका स्थानीय तह भ्रष्टाचारमा लिप्त बन्दै गएको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कञ्चनपुर कार्यालयमा परेका उजुरी र भ्रष्टाचारमा संलग्नहरू पक्राउ परेको आधारमा स्थानीय तहमा भ्रष्टाचार झाँगिएको पाइएको हो ।

आयोगको कार्यालय स्थापना भएदेखि चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो चौमाससम्ममा ३५ सय ८२ उजुरी दर्ता भएको कार्यालयले जनाएको छ । पहिलो चौमासिकमा मात्र भ्रष्टाचारसम्बन्धी ३६१ उजुरी दर्ता भएका छन् । ‘हाल अख्तियारमा १ हजार १४२ उजुरी छन्, अख्तियार कञ्चनपुरका सूचना अधिकारी हरिशचन्द्र जोशीले भने, ‘गत वर्षका ७४१ उजुरी फर्छ्योट हुन बाँकी छन्, ३६१ नयाँ दर्ता भएका छन् । यसमा अधिकांश स्थानीय तहसम्बन्धी उजुरी छन् ।’

अधिकांश उजुरी स्थानीय तहका, सबैभन्दा बढी कैलालीका

अख्तियारको कञ्चनपुर कार्यालयमा परेका उजुरीमध्ये अधिकांश गाउँको सिंहदरबार भनिने स्थानीय तहका छन् । सूचना अधिकारी जोशीका अनुसार सबैभन्दा बढी कैलालीका २२५, कञ्चनपुरका १८५, बैतडीका १८०, बझाङका १२३, डोटीका ९७, दार्चुलाका ८१, डडेल्धुरा ७९, अछामका ७२ र बाजुराका ४९ र एक स्थान नखुलेको उजुरी छन् ।

अधिकांश उजुरी स्थानीय तहका रहेको सूचना अधिकारी जोशीले बताए । उनका अनुसार कैलालीका पालिकाहरूविरुद्ध बढी उजुरी परिरहेका छन् ।

जिल्ला समन्वय समितिले पनि स्थानीय तहसम्बन्धी गुनासो बढी आउने गरेको बताएका छन् । ‘स्थानीय तहहरूमा व्यापक अनियमितता र भ्रष्टाचारसम्बन्धी गुनासो हामीकहाँ बढी आउने गरेका छन्,’ जिल्ला समन्वय समिति कैलाली प्रमुख सूर्यबहादुर थापाले भने, ‘पालिकाका अन्यखाले विवाद छलफलको माध्यमबाट समाधान गर्छौं तर अनियमिततासम्बन्धी गुनासो भने अख्तियारकहाँ नै पठाउने गर्छौं ।’

स्थानीय सरकार आएपछि सुशासन बढ्नुपर्नेमा भ्रष्टाचार बढेको अनुभूति भइरहेको सरोकारवालाहरूले बताएका छन् । जनप्रतिनिधिमा कानुनसम्बन्धी ज्ञान र अहंका कारण अनियमिततासम्बन्धी घटना भइरहेको अर्थसम्बन्धी जानकार गगन घिमिरे बताउँछन् । यसबाहेक अख्तियारले सक्रियता बढाएको र नागरिक पनि चेतनशील भएकाले उजुरी बढ्दै गएको उनको बुझाइ छ । स्थानीय तहमा अझ बढी भ्रष्टाचार मौलाएको अख्तियारका कञ्चनपुर कार्यालय प्रमुख खगेन्द्रप्रसाद रिजालले बताए ।

चार वर्षमा २७ स्टिङ अपरेसन : ४० लाखसहित ४४ जना रंगेहात पक्राउ

अख्तियारको कञ्चनपुर कार्यालयले गरेको २७ स्टिङ अपरेसनबाट चार वर्षमा ४० लाखभन्दा बढी रकमसहित ४४ जना रंगेहात पक्राउ परेका छन् । अख्तियारको कञ्चनपुर प्रमुख रिजालका अनुसार आर्थिक वर्ष २०७२/७३ देखि चालू वर्षको हालसम्म भएका २७ स्टिङ अपरेसनबाट ४० लाख ५५ हजार ६५० नगदसहित ४४ जना रंगेहात पक्राउ परेका छन् ।

१ लाख नगदसहित ५ जना पक्राउ

कार्यालयका अनुसार आर्थिक वर्ष २०७२/७३ मा तीन स्टिङ अपरेसन भएका थिए । सेवाग्राहीसँग ३८ हजार घुस लिँदै गरेको अवस्थामा महाकाली यातायात व्यवस्था कार्यालय कञ्चनपुरका कार्यालय सहयोगी भीमराज भट्ट रंगेहात पक्राउ परे । सेवाग्राहीसँग २४ हजार घुस लिँदै गरेको अवस्थामा छोटी भन्सार कार्यालय खक्रौलाका नायब सुब्बा यादवकुमार श्रेष्ठ पक्राउ परे ।

यस्तै, सेक्टर वन कार्यालय बलचौर कैलालीका सहायक वन अधिकृत राजकुमार मल्ल सेवाग्राहीबाट २ हजार ५५० र इलाका वन कार्यालय जगतपुर टीकापुरका रेन्जर बाबुराम सेवाग्राहीबाट ५१ हजार घुस लिँदै गरेको अवस्थामा पक्राउ परेका थिए ।

वर्ष २०७३/७४ मा ५०० भन्दा बढी उजुरी

आर्थिक वर्ष २०७३/७४ मा सुदूरपश्चिमका विभिन्न जिल्लाबाट अख्तियारको कञ्चनपुर कार्यालयमा शिक्षा क्षेत्रका सबैभन्दा बढी ९२ वटा उजुरी परेका थिए । संघीय मामिला तथा स्थानीय विकास र स्वास्थ्य तथा जनसंख्या क्षेत्रका २६‑२६ तथा अर्थ, सूचना तथा सञ्चार र कृषि विकास क्षेत्रका एक/एक उजुरी परेका थिए । २०७३/७४ मा ५०० भन्दा बढी उजुरी परेका थिए ।

२१ लाख नगदसहित ८ जना रंगेहात

आर्थिक वर्ष २०७४/७५ मा पनि अख्तियारले तीन स्टिङ अपरेसन गर्‍यो । सेवाग्राहीसँग ४५ हजार घुस लिँदै गरेको अवस्थामा राजस्व अनुसन्धान कार्यालय कोहलपुरको अस्थायी चेकपोस्ट अत्तरियामा कार्यरत नायब सुब्बा नरेन्द्र साउद र कार्यालय सहयोगी टीकाराम जोशी पक्राउ परे । त्यसको केही समयमै २० लाख ७० हजार घुस लिँदै गरेको अवस्थामा जिल्ला प्राविधिक कार्यालय कञ्चनपुरका प्रमुख केदार शर्मा, सब‑इन्जिनियर डण्डीराज पाण्डे, वीरेन्द्रसिंह बडाल, नवीनकुमार दुवे र लेखापाल केशवराज जोशीसहितका कर्मचारी रंगेहात पक्राउ परे ।

घरको छानामाथि परेको विद्युत् लाइन कटाइदिने भन्दै सेवाग्राहीसँग ५ हजार घुस लिँदै गरेको अवस्थामा कञ्चनपुरको विद्युत् फ्युज सेवागड्डा चौकीका ज्यालादारी कर्मचारी हर्कबहादुर चन्द अख्तियारको फन्दामा परेका थिए ।

०७५/७६ मा १० जना अख्तियारको नियन्त्रणमा

अख्तियारको टोलीले आर्थिक वर्ष २०७५/७६ मा ७ वटा स्टिङ अपरेसन गर्‍यो । सेवाग्राहीसँग २५ हजार रकम घुस लिएको अवस्थामा कैलाली गाउँपालिका ४ स्थित प्रधानमन्त्री कृषि आधुनिकीकरण (गहुँ) सुपरजोन परियोजना कार्यरत प्रमुख वरिष्ठ कृषि अधिकृत रामनन्दन यादव पक्राउ परे । अर्को अपरेसनका क्रममा सामुदायिक वन उपभोक्ता समितिका पदाधिकारीबाट १० हजार घुस लिएका भजनी नगरवालीका १ स्थित सब‑डिभिजन वन कार्यालय भजनीका फरेस्टर हरिशचन्द्र कुमार रंगेहात समातिए । यस्तै ३० हजार घुस लिएको आरोपमा सब‑डिभिजन वन कार्यालय तारानगर कैलालीका सहायक वन अधिकृत भरत शाह र लेखापढी व्यवसायी पुष्प जोशी रंगेहात अख्तियारको फन्दामा परे ।

भारतको दिल्लीबाट टीकापुर भन्सार हुँदै सामान आयात गर्दै आएकोमा रितपूर्वक पूर्ण भन्सार कटाई आउँदासमेत भन्सार महसुलमा छुट गराइदिएको भनी १५ हजार घुस लिएका टीकापुर भन्सार कार्यालयका एजेन्ट सहयोगी रामबहादुर साउद र एक नायब सुब्बा पक्राउ परे । गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुरका नायब सुब्बा रामप्रसाद भट्टराई पनि १० हजार घुस लिएको आरोपमा पक्राउ परे । सेवाग्राहीबाट रकम लिएको आरोपमा बेलौरी नगरपालिकाका सब–इन्जिनियर हृदयराज बजगाईलाई अख्तियारले समात्यो ।

यस्तै निर्माण सम्पन्न भइसकेको चौधर नदी नियन्त्रण योजनाको उपभोक्ता समितिको अन्तिम रनिङ बिल फरफारक गराएबापत २ लाख घुस लिएका भीमदत्त नगरपालिका १९ महेन्द्रनगरस्थित जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय महेन्द्रनगरका कार्यालय प्रमुख अजितकुमार श्रीवास्तव र इन्जिनियर गृष्मा ठगुन्ना रंगेहात अख्तियारको फन्दामा परे ।

गत वर्ष झन् धेरै भ्रष्टाचार

आर्थिक वर्ष २०७६/७७ मा अख्तियारको कञ्चनपुर कार्यालयबाट १२ स्टिङ अपरेसन भए । लालपुर्जाको प्रतिलिपि बनाएबापत ८ हजार घुस लिएको अवस्थामा मालपोत कार्यालय टीकापुरका नायब सुब्बा सिंहबहादुर कुँवर र खरिदार नरराज पाण्डे रंगेहात पक्राउ परे । यस्तै मारुती सुजुकी कार नामसारी गरिदिएबापत सेवाग्राहीबाट १ लाख ६६ हजार १ सय रकम घुस लिएको अवस्थामा यातायात व्यवस्था कार्यालय सेतीका निमित्त कार्यालय प्रमुख गम्भीरसिंह विष्ट, अधिकृत (सातौँ) भुवन जोशी र अधिकृत छैटौँ जयराज कारिगर रंगेहात पक्राउ परे । त्यसपछि छुटपुर्जी सिफारिस सहज गराइदिएबापत ३ लाख २६ हजार घुस लिएको अवस्थामा सब–डिभिजन वन कार्यालय बीपीनगर डोटीका वन अधिकृत (आठौँ तह) सुरेश चन्द्र डिसी पक्राउ परे ।

भारतबाट स्थानीय भजनी बजारमा व्यवसायीको मागबमोजिम मालसामान क्यारिङ गरी ल्याउने क्रममा शुल्क तिरिसकेपछि पनि २० हजार घुस लिँदै गरेको अवस्थामा सशस्त्र सीमा सुरक्षा बल भजनी कैलालीका घुमुवा सशस्त्र प्रहरी सहायक हवल्दार ज्ञानबहादुर चौधरी र रतिराम चौधरी रंगेहात समातिए । त्यसको केही समयमै ५ हजार घुस लिँदै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय गड्डाचौकीका प्रहरी जवान दीपक चौधरीलाई रंगेहात अख्तियार टोलीले रंगेहात नियन्त्रणमा लियो ।

स्टिङ अपरेसनकै क्रममा भवन निर्माण गर्ने ठेक्का सम्झौताको रनिङ बिल, म्याद थपलगायतका काम गरिदिएबापत २ लाख ५० हजार घुस लिएको अवस्थामा सहरी विकास तथा भवन निर्माण विभाग संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका इन्जिनियर त्रिलोक जोशी रंगेहात अख्तियारको नियन्त्रणमा परे । जग्गाको नामसारी गरिदिने भन्दै सेवाग्राहीबाट १ लाख ५० हजार घुससहित मालपोत कार्यालय कञ्चनपुरमा कार्यरत खरिदार ललिता रोकाया पनि रंगेहात पक्राउ परिन् ।

जेसीबी र ट्रयाक्टर नियन्त्रणमा लिएर १ लाख ६० हजार घुस लिएको अवस्थामा कञ्चनपुरको सिद्धनाथ सामुदायिक वनका अध्यक्ष कुवेरसिंह थापा र कोषाध्यक्ष प्रेमबहादुर सिंह रंगेहात पक्राउ परे । चमेलिया खोला तटबन्ध नियन्त्रण निर्माण योजना कार्यको सम्झौता गर्न १ लाख घुस मागेको भन्ने सूचनाको आधारमा अपरेसनमा जाँदा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय पाटन बैतडीका निमित्त कार्यालय प्रमुख इन्जिनियर सुरेशराज भट्ट रंगेहात पक्राउ परे । झुटा जाहेरी दर्ता गरी थुनामा राखेर पटक–पटक गरेर ५० हजार घुस लिएको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक प्रकाशसिंह कार्की र कानुन व्यवसायी हिमालय विक्रम विष्ट पक्राउ परेका थिए ।

त्यस्तै राइजिङ स्टार तालिम केन्द्र र मोहन्याल एजुकेसन एन्ड टेक्निकल इन्स्टिच्युट प्रालि नामक संस्थाले जोशीपुर गाउँपालिका कैलालीबाट सिलाइकटाइ, सैलुन र चुरा बनाउने तालिम दिई तालिम सफलतापूर्वक सम्पन्न गरेपश्चात् सञ्चालन गरेबापतको रकम चेकबाट भुक्तानी लिने क्रममा धम्क्याएर ८५ हजार घुस माग गरेको भन्दै उजुरी परेपछि खटिएको टोलीले नगदसहित जोशीपुर गाउँपालिकाका नायब सुब्बा (सूचना अधिकारी) सिद्धराज जोशीलाई पक्राउ गरेको थियो ।

तीन महिनामा १ लाख घुससहित ३ जना रंगेहात

चालू आर्थिक वर्षको हालसम्म अख्तियारको कञ्चनपुर कार्यालयले दुईपटक स्टिङ अपरेसन गरेको छ । घोडथर–सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपछि पनि सडकको इस्टिमेट, नापजाँच, मूल्यांकनलगायतका काम गरिदिएबापत २० हजार माग गरेको सूचना पाएपछि खटिएको टोलीले नगदसहित चुरे गाउँपालिकाका सब–इन्जिनियर चन्द्रदेव भट्टलाई पक्राउ गरेको छ ।  काठ चोरी निकासी गर्दा पक्राउ परेका गोदावरी नगरपालिका ९ का रामबहादुर रानाको मुद्दा कमजोर गराउने भन्दै ८० हजार घुस माग गरेको भन्ने सूचना पाएपछि खटिएको टोलीले सब–डिभिजन वन कार्यालय तारानगर कैलालीका रेन्जर रामअवतार चौधरी र सीताराम सामुदायिक वनका अध्यक्ष रामप्रसाद राना रंगेहात पक्राउ परेका छन् ।

प्रकाशित समय ११:४८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु