गृहपृष्ठ कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो
कोकद्वारा १ अर्बमा स्वामित्व किनबेच भएको बयान, अमेरिकी दूतावासको चासो
बहुराष्ट्रिय कम्पनी कोकाकोलाको नेपालस्थित बोटलिङ तथा व्यापार कम्पनी बोटलर्स नेपालको ७६ प्रतिशत सेयर नेपालबाहिर नै किनबेच भएको कम्पनीका व्यवस्थापकहरूले स्वीकार गरेका छन् ।
राजस्व अनुसन्धान विभागको अनुसन्धानका क्रममा बोटलर्स नेपालका अधिकारीहरूले दुबईस्थित कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड (साब्को)ले कम्पनीको ७६.१६ प्रतिशत सेयर अमेरिकाको एटलान्टास्थित कोकाकोला बोटलिङ ग्रुपलाई १ अर्ब रूपैयाँमा किनबेच गरिएको बयान दिएका हुन् ।
यद्यपि, बोटलर्स नेपालका तर्फबाट सेयर किनबेच भएको कुनै दस्तावेज भने विभागमा पेश नगरिएको विभाग स्रोतले बतायो । ‘उहाँहरूले मौखिक बयानका क्रममा १ अर्ब रूपैयाँमा मूल स्वामित्व सेयर किनेबेच भएको बताउनुभएको छ, कम्पनीको प्रचलित सेयर मूल्य र सम्पत्तिका आधारमा जुन स्वाभाविक देखिँदैन,’ विभागका एक उच्च अधकारीले भने, ‘हामीले कम्पनीको सेयर कहाँ, कति मूल्यमा, कसरी किनबेच भयो भन्ने आधिकारिक दस्तावेज मागेका छौँ ।’
बोटलर्स नेपालमा कोकाकोला साउथवेस्ट होल्डिङ लिमिटेड (कोकाकोला साब्को)को १४ लाख ८४ हजार ३०१ कित्ता सेयर छ । जुन कुल सेयर स्वामित्वको ७६.१६ प्रतिशत हो । सन् २०१४/१५ मा स्वामित्व किनबेच हुँदा सेयर बजारमा यसको प्रतिसेयर मूल्य औसत १६५० रूपैयाँ थियो ।
सन् २००४ र २०१४ मा गरी दुई पटकसम्म बोटलर्स नेपाल लिमिटेडको मुख्य सेयर नेपालबाहिर नै किनबेच गरिएको छ । अघिल्लो पटक सन् २००४ मा अमेरिकी कोकाकोला कम्पनीले आफ्नो ७६ प्रतिशत सेयर कोकाकोला साब्को पीटीई लिमिटेडलाई १ करोड ४० लाख अमेरिकी डलरमा बेचेको थियो । जुन कारोबारमा लाग्ने पुँजीगत लाभकर पछि चुडामणी शर्माको कर फर्छ्योट आयोगमार्फत थोरैमात्र कर तिरेर मिलान गरिएको थियो ।
त्यसबेला बोटलर्स नेपालले तिर्नुपर्ने कुल कर ६६ करोड ५० लाख ८१ हजार ६९१ रुपैयाँमध्ये चुडामणी आयोगले २३ करोड रुपैयाँ तिर्नुपर्ने ठहर गरी बाँकी साढे ४३ करोड मिन्हा गराइदिएको थियो ।
पछिल्लो पटकको सेयर किनबेच र मूल स्वामित्व हस्तान्तरणबारे नेपालका सम्बद्ध जानकारी नदिइ पुँजीगत लाभकर छलेको उजुरी परेपछि राजस्व अनुसन्धान विभागले गत मंसिरमा कम्पनीका दस्तावेज, विद्युतीय उपकरण कब्जामा लिएर अनुसन्धान गरिरहेको छ ।
विभागको अनुसन्धान अगाडि बढेसँगै कोकाकोलाले सेयर किनबेच र सहायक कम्पनीको सेयर स्वामित्व नामसारी प्रक्रियामा संलग्न रहेका कर्मचारीहरूलाई नेपालबाट सरुवा गरेको छ । स्रोतका अनुसार सहायक कम्पनीमध्ये ट्रोयका ट्रेडर्स प्रालिको स्वामित्व आफ्नो नाममा ल्याउने प्रक्रिया अघि बढाएका सुमित गोयल र रजनिस शर्मालाई नेपालबाट क्रमसः मलेसिया र भारत सरुवा गरिएको हो ।
अमेरिकी राजदूतावासको चासो
यसैबीच, अमेरिकी कम्पनीमा बहुमत सेयर स्वामित्व गइसकेको बहुराष्ट्रिय कम्पनी बोलटर्स नेपाल लिमिटेडको स्वामित्व किनबेचका विषयमा अनुसन्धान सुरु गरिएपछि नेपालस्थित अमेरिकी राजदूतावासले चासो देखाएको छ । दूतावासका अधिकारीहरू गत साता बोटलर्स नेपालको कार्यालयमा गएर त्यहाँका उच्च व्यवस्थापकहरूसँग यस विषयमा छलफल गरेको स्रोतले बतायो ।
सेयरधनीलाई थाहै दिइएन
कम्पनीको सेयर स्वामित्व किनबेच भएको र यस विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान थाले पनि बोटलर्स नेपालले कम्पनीका सेयरधनीहरूलाई यस विषयमा थाहै दिइएको छैन । बोटलर्स नेपाल र उसको सहायक कम्पनी बोटलर्स नेपाल (तराई) दुवै सेयरबजारमा सूचिकृत कम्पनी हुन् ।
कम्पनीको गत पुस २२ गते भर्चुअल रुपमा सम्पन्न साधारण सभामा यस विषयमा केही थाहा नदिइ छोटो समयमै औपचारिकता पूरा गरेर सम्पन्न गरिएको सेयरधनीहरू बताउँछन् ।
व्यवस्थापनमा हेरफेर
मूल स्वामित्व सेयर किनबेच भएको विषयमा राजस्व अनुसन्धान विभागले अनुसन्धान थालेपछि कम्पनीका सूचनाहरू ‘मिडियामा चुहिएको’ भन्दै कोकाकोलाले नेपाली उच्च कर्मचारीहरूको जिम्मेवारी हेरफेर गरेको छ । निर्णय र कार्यान्वयन प्रक्रियामा समेत फेरबदल गर्दै केही नेपाली कर्मचारीको ‘टिम’ बनाएर सरकारी र मिडिया सम्बन्ध सुधार गर्ने जिम्मेवारी दिइएको कम्पनीका अधिकारीहरूले बताए ।
यो पनि पढ्नु होस्
कोकाकोलामा राजस्वको छापा, पुँजीगत लाभकर हिनामिनामा अनुसन्धान
कोकाकोलाको सहायक कम्पनीको सेयर स्वामित्वमा समेत चलखेल
नेपाली कर्मचारीलाई ‘गोटी’ बनाउँदै कोकाकोलाका व्यवस्थापक
राष्ट्र बैंकद्वारा कोकाकोलाको लाभांश फिर्ता लैजान रोक
प्रकाशित समय १२:४२ बजे

















