गृहपृष्ठ भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न जोड

भुक्तानीमा डिजिटल प्रणाली ‘क्यूआर कोड’ लागू गर्न जोड

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले स्वदेशी श्रम र सिपलाई प्रवर्द्धन गर्न आग्रह गरेका छन् । नेपालको ठूलो जनशक्ति रोजगारीका लागि विदेश पलायन हुनुपरेको विद्यमान अवस्थामा पनि नेपालमा भने कयौं क्षेत्रमा अझै पनि विदेशी कालिगढको बाहुल्यता रहेको उल्लेख गर्दै उनले स्वदेशमा नै पर्याप्त तालिमको व्यवस्था गरी रोजगारी प्रवर्द्धन गर्न सकिने बताए ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका प्रतिनिधिमण्डलसँग बुधबार भएको छलफलमा गभर्नर अधिकारीले सुनचाँदीको क्षेत्रमा काम गर्नका लागि पर्याप्त मात्रामा स्वदेशी कालिगढ उत्पादन गर्न र विदेशी कालिगढलाई विस्थापित गर्न सुझाव दिए । स्वदेशी कालिगढ उत्पादनका लागि आवश्यक पर्ने सिप विकास तालिमका लागि राष्ट्र बैंकले समेत सहयोग गर्ने उनले प्रतिवद्धता व्यक्त गरे । एक तथ्यांकअनुसार नेपालको सुनचाँदी क्षेत्रमा मात्रै झण्डै ७० हजार विदेशी कालिगढले काम गर्दै आएका छन् ।

व्यवसायीसँगको छलफलका क्रममा गभर्नर अधिकारीले भुक्तानीमा डिजिटल प्रणाली ‘क्युआर कोड’ लागू गर्नसमेत जोड दिए । अहिलेको डिजिटल युगमा परम्परागत शैली प्रयोग गर्नु आफैँमा अव्यवहारिक भएको उल्लेख गर्दै सुनचाँदी व्यवसायमा हुने भुक्तानी प्रणालीलाई पनि तत्काल डिजिटल प्रणालीमा परिमार्जन गर्न उनले आग्रह गरे । ‘सुनचाँदीको क्षेत्रमा ठूला-ठूला कारोबार हुने गरेको भए पनि अझैसम्म पनि यस्तो कारोबार परम्परागत प्रविधिअनुरुप नै हुनेगरेको छ,’ उनले भने, ‘समयसापेक्ष रुपमा कारोबार प्रणालीमा परिमार्जन ल्याउन आवश्यक छ ।’

सुनचाँदी व्यवसायीले अगाडि सारेका मागहरुबारे आफू सकारात्मक रहेको उल्लेख गर्दै गभर्नर अधिकारीले सम्भव भएसम्म माग पूरा गराउन राष्ट्र बैंक तयार रहेको बताए । उनले सुनको आपूर्ति विदेशी मुद्राको सञ्चिसतसँग सम्बन्धित रहेको उल्लेख गर्दै बजारको मागअनुरुप त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंक सकारात्मक रहेको बताए ।

उनले तोकिएका नाकाहरुबाट पनि सरल र सहज रुपमा सुन वितरणको व्यवस्था मिलाउन, १५ दिनअगावै सिफारिसविना नै सुन विक्री गर्ने गरिएको भए त्यसलाई नियन्त्रण गर्न, आफूर्तिमा लागू हुँदै आएको कोटाको सीमा पुनरावलोकन गर्न र व्यवसायीले उठाएका अन्य जायज मागहरुको सम्बोधन गर्न राष्ट्र बैंक तयार रहेको बताए ।

त्यस क्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष माणिकरत्न शाक्यले व्यवसाय सञ्चालनका दौरानमा आइपरेका समस्याहरु जानकारी गराउँदै तिनलाई हल गर्नका लागि पहल गर्न आग्रह गरे । उनले व्यवसायीलाई परेका समस्या समाधान गर्न राष्ट्र बैंकको अहं भूमिका हुने उल्लेख गर्दै त्यसमा आवश्यक पहल गर्न आग्रह गरे ।

प्रकाशित समय १७:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु