गृहपृष्ठ पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा

पैसा कमाउन मुलुककै इज्जतमाथि प्रहार : रक्सीको बोतलमा राष्ट्रिय झण्डा

rajbahadur-newskarobar

 

पैसा कमाउनकै लागि नेपालका ठूला उद्योगीमध्येका राजबहादुर शाहले राष्ट्रिय झण्डाको दुरुपयोग गरी अपराध गरेका छन् । उद्योगी शाहले देशको शान र पहिचानका रुपमा रहेको नेपालको झण्डा रक्सीको विज्ञापनमा दुरुपयोग गरेका हुन् ।

जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको राज ब्रुअरीका मालिक शाहले जर्मनी बियर वार्सटाइनसँग सहकार्य गर्दै उत्पादन सुरु गरेको ‘नमस्ते बियर’को लोगो नेपालको राष्ट्रिय झण्डा राखिएको छ । राष्ट्रिय झण्डा बढी प्रचलित भएकाले रक्सीको झण्डाबाटै रक्सीको विज्ञापन होस् भन्ने कम्पनीको उद्देश्य रहेको बुझिन्छ ।

पैसा कमाउनका लागि राष्ट्रिय विज्ञापनमा राखिएपछि धेरैले आलोचना गरेका छन् । राष्ट्रिय स्वाधीनताको प्रतीक र पहिचानको परिचायक राष्ट्रिय झण्डाको दुरुपयोग गर्न संविधानले नै सख्त रोक लगाएको छ ।

राज ब्रुअरीले रक्सीको बोतलमा चन्द्रसूर्य अंकित नेपालको झण्डा राखेर लोगो टाँसेको छ । बाक्सा (कार्टुनमा) र व्यापार प्रवर्धनका लागि होटलको ‘मेनु’मा पनि सोही लोगो प्रयोग गरिएको छ । कम्पनीले होडिङ बोर्ड, ब्रोसर तथा विभिन्न विद्युतीय सामग्रीमा समेत यसको दुरुपयोग गरेको छ ।

नेपालको राष्ट्रिय झण्डाको दुरुपयोग हुन नदिन सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि नै बनाएको छ । ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कायविधि २०६९’ ले कुनै व्यापारिक प्रयोजनका लागि राष्ट्रिय झण्डा प्रयोग गर्नु अपराध हुने भनिएको छ ।

karyabidhi
राष्ट्रिय झण्डा प्रयोग कार्यविधि

 

कार्यविधिले मात्र होइन, भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिताले पनि व्यापारिक प्रयोजनमा झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न निषेध गरेको छ । त्यसको उल्लंघन गर्नुलाई जघन्य अपराधका रुपमा लिइन्छ । तर, राज ब्रुअरीले राष्ट्रिय झण्डाको मर्यादा र सम्मानमा आँच आउने काम गरेको छ । कम्पनीले कानुनको बर्खिलापमात्र गरेको छैन, नेपाल र नेपालीकै इज्जतमाथि खेलवाड गरेको छ ।

रक्सी व्यवसायको प्रचारका लागि झण्डा प्रयोग हुनु नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिले समेत ठीक नहुने अधिवक्ता एवं सामाजिक अभियन्ता ओमप्रकाश अर्यालले बताउँछन् । ‘रक्सीको विज्ञापनमा राष्ट्रिय झण्डाको दुरुपयोग अपराध हो,’ उनले भने, ‘यस गर्नेलाई काननुअनुसार कारबाही हुनुपर्छ ।’

 

प्रक्रिया नै अपुरो
वार्सटाइन ग्रुप जर्मनीको अग्रणी स्वतन्त्र ब्रुअरी हो । जुन उत्कृष्ट बियर उत्पादन गर्न २६० वर्षभन्दा पहिलेदेखि प्रख्यात छ । त्यति ठूलो कम्पनीसँग ब्रान्ड साझेदार गरेका उद्योगी शाहले जानाजान राष्ट्रियतामाथि आँच आउने लापर्बाही गरेका छन् ।

राज ब्रुअरीले उद्योग विभागबाट प्रक्रियासमेत पूरा नगरी रक्सी उत्पादन गरेको छ । रक्सी उत्पादन तथा बिक्री-वितरण जस्तो संवेदनशील विषयमा उद्योग मन्त्रालयमा गरिनुपर्ने प्रक्रियामा समेत लापर्बाही गर्नुले राज्यको कानुनी शासनको समेत खिल्ली उडाएको छ । यस विषयमा राज ब्रुअरीको धाराणा बुझ्न खोज्दा सम्बन्धित कसैले बोल्न चाहेनन् । न्युज कारोबारले फ्याक्ट्री म्यानेजर उदय विष्टसँग पटक-पटक सम्पर्क गर्न खोज्दा जावलाखेल ग्रुप अफ इन्डस्ट्रिजले उनीसँग कुरा गर्नै दिएन ।

 

झण्डा दुरुपयोग गर्नेलाई के सजाय हुन्छ ?
भदौ १ देखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहिता ऐनले पनि नेपाली झण्डाको दुरुपयोग गरेमा कडा सजाय हुने भनेको छ । प्रचलित मुलुकी ऐन २०२० लाई प्रतिस्थापन गर्ने यी संहितामा राष्ट्रिय झण्डाको अपमान गर्नेलाई ३ वर्षसम्म कैद सजाय तोकिएको छ । अपराध संहिताअनुसार यस्तो कार्य गर्ने वा गराउने व्यक्तिलाई तीन वर्षसम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।

muluki-aparadh-newskarobar

ऐनको दफा १५१ मा राष्ट्रिय गान, झण्डा वा निशान छापको अपमान वा क्षतिसम्बन्धी शीर्षकमा भनिएको छ, ‘कसैले नेपाल वा नेपाल सरकारविरुद्ध घृणा फैलाउने नियतले नेपालको राष्ट्रिय गानको अपमान गर्न, नेपालको झण्डा जलाउन, त्यसको जानीजानी अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिले प्रयोग गर्न नहुने ठाउँ, वस्तु वा अवस्थामा त्यस्तो गान, झण्डा वा नेपालको निशाना छाप प्रयोग गर्न हुँदैन ।’

muluki-ain-newskarobar
मुलुकी अपराध संहिता

 

कार्यविधिमा के छ ?
नेपालको राष्ट्रिय झण्डाको धेरै दुरुपयोग हुन थालेपछि सरकारले ‘राष्ट्रिय झण्डाको प्रयोगसम्बन्धी कार्यविधि २०६९’ बनाएको छ । २०६९ जेठ २२ गतेदेखि लागू सो कार्यविधि राष्ट्रिय झण्डाको प्रयोगमा विभिन्न सातवटा कार्य गर्न निषेध गरिएको छ । निषेध गरिएका कार्यमध्ये ‘३’ नम्बरमा (घ) मा भनिएको छ- ‘व्यापारिक प्रयोजनका लागि विज्ञापनको उद्देश्यले राष्ट्रिय झण्डाको दुरुपयोग गर्न पाइनेछैन ।’

तर, राज ब्रुअरीले सो कार्यविधिको खुलेआम उल्लंघन गरेको छ । मुलुकको झण्डा व्यापारिक प्रयोजन त्यो पनि रक्सीको बोतलमा राखेर राष्ट्रकै इज्जतमाथि खेलवाड गरिएको छ । राष्ट्रिय चिन्हहरूको प्रयोग कहाँ कसले गर्ने र गर्न पाउने भन्ने प्रस्ट उल्लेख भए पनि रक्सीको बोटलमा राष्ट्रिय झण्डा राखेर जघन्य अपराध भइरहँदा सम्बन्धित निकाय मौन छ ।

 

के भन्छ सरकार ?

ramkrishnaa-subedi

गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले कार्यविधिविपरीत राष्ट्रिय झण्डाको प्रयोग गर्नेलाई कानुनबमोजिम सजाय हुने बताए । ‘सरकारले राष्ट्रिय झण्डा र गानको प्रयोगसम्बन्धी कार्यविधि २०६९ बनाएको छ, जसमा कहाँ र कुन अवस्थामा यसको प्रयोग गर्ने भन्नेबारे प्रस्ट व्यवस्था छ,’ उनले भने, ‘त्यसविपरीत राष्ट्रिय झण्डा वा राष्ट्रिय निशानी प्रयोग भएमा कानुनबमोजिम कारबाही गरिन्छ, अपराध गर्नेले उन्मुक्ति पाउँदैन ।’

कसैले प्रमाणसहित उजुरी गरेमा मुलुकी फैजदारी अपराध संहिताअनुसार दोषीले सजाय पाउने प्रवक्ता सुवेदीले बताए । राष्ट्रिय झण्डा, गान र निशानको दुरुपयोग गरेको कसुरको हकमा ६ महिनाभित्र उजुरी दिन सकिनेछ ।

प्रकाशित समय २०:०७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु