गृहपृष्ठ बुटवल-बेलहिया सडक : काम नगर्ने ठेकेदारलार्इ धमाधम कारबाही

बुटवल-बेलहिया सडक : काम नगर्ने ठेकेदारलार्इ धमाधम कारबाही

समयमै काम सम्पन्न नगरेपछि कालिका–तामाङ–प्यासिफिक–जेभीलार्इ ३ करोड ८६ लाख जरिवाना

butwal-belahiya-sadak-newskarobar

बुटवल–बेलहिया व्यापारिक मार्ग निर्माणको कामले अहिले गति लिएको छ । पटक–पटक समय थप्दा पनि निर्माण सम्पन्न नगर्ने ठेकेदार कम्पनीलाई धमाधाम कारबाही गर्न थालिएपछि कामले गति लिएको हो ।

ठेकेदारलाई कारबाही गरेर भए पनि बुटवल–बेलहिया सडक व्यापारिक मार्ग विस्तार आयोजनाले चैतभित्र काम सक्ने योजना बनाएको छ । व्यापारिक मार्ग विस्तार आयोजनाका इन्जिनयर योगेन्द्रप्रसाद अधिकारीले पटक–पटक समय थप गर्दा पनि कामका लागि गम्भीर नबन्ने ठेकेदारलाई जरिवाना गर्न थालेपछि कामले तीव्रता पाएको बताए । उनका अनुसार ठेकेदार कम्पनीले जरिवानावापत नै करोडौं रकम बुझाइ सकेका छन् ।

बुटवल–बेलहिया सडकको दुई स्थानमा सडक निर्माणको जिम्मा पाएको कालिका–तामाङ– प्यासिफिक– जेभीले समयमै काम सम्पन्न नगरेपछि ३ करोड ८६ लाख ९० हजार ३ सय ९६ रुपैयाँ जरिवाना बुझाइसकेको छ । यस्तै, अलकापुरी निर्माण सेवाले पनि समयमा ५९ हजार ६ सय ४७ रुपैयाँ रकमा जरिवाना बुझाएको छ । इन्जिनियर अधिकारीका अनुसार म्याद गुज्रिएकापछि ठेकेदारले ०.००५ प्रतिशतका दरले प्रतिदिन जरिवाना रकम तिर्नुपर्ने हुन्छ ।

सडक विभागअन्तर्गत रहेको व्यापारिक मार्ग विस्तार आयोजनाले बेलहिया–बुटवल सडक, मणिग्राम, रुपन्देही सिद्धार्थ राजमार्गको सुरु विन्दु वेलहियादेखि बुटवल चौराहासम्मको २४ किमी सडकखण्डलाई ६ लेनमा निर्माण गर्ने गरी २०६९ असारमा कार्यालय स्थापना गरी काम अघि बढाएको थियो । आयोजनाको कार्यक्षेत्र २४ किमी भएकोमा २०७२ चैत १७ गतेको विभागीय निर्णयअनुसार यस आयोजनाको कार्यक्षेत्र बुटवलको चौराहादेखि गोलपार्क चिडियाखोलासम्म ३.५ किमी थप भई २७.५० किमी कायम भएको छ ।

butwal-belahiya-sadak-newskarobar

जसमध्ये १८ किमी सडक कालोपत्रे भइसकेको छ भने ५.२५ किमी सडक २०७५ चैत मसान्तसम्म सम्पन्न गर्ने गरी कामलाई तीव्रता दिइएको छ । चौराहादेखि चिडियाखोलासम्मको ३.५ किमी र बेलहियादेखि बाइपाससम्मको ०.७५ किमी गरी ४.२५ किमी सडकको समेत निर्माण कार्य धमाधम भइरहेको इन्जियर अधिकारीले जानकारी दिए । ०७७ साउनसम्ममा सबै सडक बनिसक्ने उनले बताए ।

आयोजनाको कुल लागत ५ अर्ब ८६ करोडमध्ये हालसम्म ४ अर्ब ४६ करोड खर्च भइसकेको छ, यो कुल लागतको ७६.२४ प्रतिशत हो । भौतिक प्रगति भने करिब ८० प्रतिशत भएको छ । प्रत्येक वर्ष विनियोजित बजेटको ९५ प्रतिशतभन्दा बढी रकम खर्च गर्न सफल भएको आयोजनाले जनाएको छ ।

प्रकाशित समय ०८:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु