गृहपृष्ठ जन्मिदै थाप्लोमा ३२ हजार ऋण

जन्मिदै थाप्लोमा ३२ हजार ऋण

विदेशीकै ऋणभार जनही १९ हजार

rinko-bhar-newskarobar

नेपालमा जन्मिने प्रत्येक बच्चाले जन्मिनेवित्तीकै ३२ हजार ३४७ रुपैयाँको ऋण थाप्लोमा बेहोर्नुपर्ने भएको छ । आफ्ना माता-पिता वा पुर्खाले खाएको ऋणले गर्दा होइन, देश चलाउनका लागि सरकारले लिएको ऋणका कारण यो अवस्था आएको हो ।

गत असार मसान्तसम्म प्रत्येक नेपालीको टाउकोमा ३१ हजार ४२० रुपैयाँ ऋणभार थियो । यसमा आन्तरिक रुपमा लिएको ऋणको अंश घटाउँदा विदेशी ऋणको प्रतिव्यक्ति ऋणभार १९ हजार ७२ रुपैयाँ हुन आउँछ । सरकारले लिएको ऋण बढेसँगै असोज मसान्तसम्ममा प्रतिव्यक्ति ऋणभार पनि बढेको हो ।

 

कुल ऋण ९ खर्ब ५३ अर्ब

महालेखा परीक्षकको कार्यालयका अनुसार असोज मसान्तसम्म देशले लिएको कुल ऋण ९ खर्ब ५३ अर्ब ९ करोड रुपैयाँ नाघेको छ, जसमध्ये ५ खर्ब ६१ अर्ब ९३ करोड रुपैयाँ विदेशी ऋण हो भने ३ खर्ब ९१ अर्ब १६ करोड रुपैयाँ आन्तरिक ऋण हो ।

असारदेखि असोजसम्म सरकारको कुल ऋणभार ४० अर्ब २१ करोड २६ लाख रुपैयाँले बढेको महालेखा परीक्षकको कार्यालयले उल्लेख गरेको छ । सरकारको कुल ऋणभार बढेसँगै प्रतिव्यक्तिको टाउकामा पर्ने ऋणको भारसमेत बढेको हो ।

 

सरकारले लिएन आन्तरिक ऋण

गत आर्थिक वर्षसम्म स्रोत नपुगेर व्यापक रूपमा आन्तरिक ऋण लिएको सरकारले यो वर्षको अहिलेसम्म १ रुपैयाँ पनि आन्तरिक ऋण लिएको छैन । सरकारको मुख्य ध्यान राजस्व संकलनमा मात्रै केन्द्रीत भएको र सरकारी खातामा जम्मा भएको पैसा नै खर्च गर्न नसकेर मंसिर मसान्तसम्म १ खर्ब १९ अर्ब ३८ करोड रुपैयाँ राष्ट्र बैंकमा थुप्रेर बसेको कारण सरकारले आन्तरिक ऋण नै नलिएको हो ।

सरकारले विकासतर्फ विनियोजित रकमसमेत खर्च नगरी बरु उल्टै आन्तरिक ऋण तिर्ने नीति लिएको देखिन्छ । पहिलो चौमासिक अवधिमा सरकारले ६ अर्ब २० करोड रुपैयाँ आन्तरिक ऋण तिरेको छ ।

चालू आर्थिक वर्षको पहिलो चौमासिकमा सरकारले कुल ८ अर्ब ७८ करोड ९२ लाख रुपैयाँ बाह्य ऋण लिएको छ, जसमध्ये ५ अर्ब ९७ करोड ५४ लाख रुपैयाँ विश्व बैंक, एसियाली विकास बैंकलगायतका बहु–पक्षीय दाताहरूबाट उठाएको हो भने २ अर्ब ८१ करोड ३८ लाख रुपैयाँ विभिन्न देश (द्विपक्षीय दाता)हरूबाट उठाएको हो ।

धेरै ऋण बोकेका देशका साहुहरू
१. विश्व बैंक
२. एसियाली विकास बैंक
३. जापान
४. चीन
५. भारत
६. साउदी अरब
७. आईफाड

प्रकाशित समय १३:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु