गृहपृष्ठ अपीको १४ प्रतिशत बोसन सेयर प्रस्ताव पारित

अपीको १४ प्रतिशत बोसन सेयर प्रस्ताव पारित

api-power-newskarobar

अपी पावर कम्पनीले सोमबार भर्चुअल माध्यमबाट १६औं र १७औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ । कोभिड १९ महामारीले स्थगित भएको १६औं साधारणसभालाई समेत १७ औंसँग जोडेर एकैपटक दुईवटा साधारणसभा गरिएको हो ।

साधारणसभाले सेयरधनीलाई आर्थिक वर्ष २०७५/७६ को खुद नाफाबाट चुक्ता पुँजीको ५ प्रतिशत र गत वर्षको नाफाबाट चुक्ता पुँजीको ९ प्रतिशतका दरले गरी १४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ । यसैगरी साधारण सभाले नयाँ चुक्ता पुँजीको १ बराबर ०.८५६६ हकप्रद जारी गर्ने प्रस्ताव पनि सर्वसम्मतिले पारित गरेको छ ।

साधारण सभामा कम्पनीका अध्यक्ष गुरूप्रसाद न्यौपानेले वार्षिक प्रतिवेदन र वित्तीय व्यवस्थापन प्रमुख शाश्वत चालिसेले कम्पनीको वित्तीय विवरण प्रस्तुत गरेका थिए । साधारणसभाले चार वर्षका लागि नयाँ सञ्चालक समिति पनि चयन गरेको छ । सतीश न्यौपाने, सञ्जीव न्यौपाने, द्वारिकाप्रसाद न्यौपाने, इन्द्रमणि त्रिताल र सिर्जना खड्कालाई निर्विरोध निर्वाचित भएका हुन् ।

अपी पावरले भर्खरै हकप्रद सेयर निष्कासन गरेर चुक्ता पुँजी वृद्धि गरेको छ । अपी पावरको नाफामा पनि उल्लेख्य सुधार भएको छ । कम्पनीले चालू आवको पहिलो त्रैमासमा १० करोड ६४ लाख १ हजार रुपैयाँ खुद नाफा गरेको हो । गत वर्षको सोही अवधिमा अपीको नाफा ३ करोड ५९ लाख ५१ हजार रुपैयाँ थियो । विद्युत् बिक्रीबाट हुने आम्दानीमा वृद्धि भएसँगै नाफामा १९५.९६ प्रतिशतले बढोत्तरी आएको हो ।

असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी (वार्षिक) १२ रुपैयाँ ८ पैसाबाट बढेर ३५ रुपैयाँ ७४ पैसा पुगेको छ । यस्तै, प्रतिसेयर नेटवर्थ पनि १०९ रुपैयाँ ८२ पैसाबाट बढेर १२४ रुपैयाँ ३० पैसा कायम भएको छ । अपीको चुक्ता पुँजी १ अर्ब १९ करोड ७ लाख रुपैयाँ छ । कम्पनीले वितरण गर्ने बोनस सेयर र हकप्रदबाट जुटाइएको रकमसमेत गरेर चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख पुग्नेछ ।

प्रकाशित समय २०:०८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु