गृहपृष्ठ हकप्रदपछि मूल्य समायोजन गर्दा एभरेष्ट इन्स्योरेन्सलाई किन तनाव ?
हकप्रदपछि मूल्य समायोजन गर्दा एभरेष्ट इन्स्योरेन्सलाई किन तनाव ?
दोस्रो बजारमा कारोबार हुने कुनै पनि सूचीकृत कम्पनीले हकप्रद र बोनस सेयर जारी गरेपछि बुक क्लोजका दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सेयर मूल्य समायोजन गर्ने गर्छ । १०५ प्रतिशत हकप्रद जारी गरेको एभरेष्ट इन्स्योरेन्सको हकमा पनि २८ गतेको बुक क्लोज मितिका आधारमा नेप्सेले सेयर मूल्य समायोजन गर्यो । तर, त्यसमा असन्तुष्टि जनाउँदै एभरेष्ट इन्स्योरेन्सले मूल्य समायोजन रद्द गर्न नेप्सेलाई आग्रह गरेको छ ।
नेप्सेले नियमित प्रक्रियाअनुसार बुधबार (२८ गते) सेयर मूल्य समायोजन गरेपछि लगानीकर्ताहरुले नेप्सेका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चन्द्रसिंह साउदलाई भेटेरै असन्तुष्टि जनाएका छन् । उनीहरुले संस्थापक हकप्रद सेयरलाई साधारण सेयरको मूल्यमा समायोजन गरिएको भन्दै ‘व्यावहारिक पक्ष हेर्न’ नेप्सेलाई आग्रह गरेका थिए । लगानीकर्ताको आग्रहपछि शुक्रबार नै एभरेष्ट इन्स्योरेन्सले नेप्सेलाई फरक-फरक वर्गका सेयरलाई एक आपसमा समायोजन गर्नु व्यावहारिक नभएको जनाउँदै समायोजन प्रक्रिया रद्द गरिदिन पत्राचार गर्यो ।
लगानीकर्ता एवं एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि संस्थापक हकप्रद निष्कासन तथा सूचीकरणपश्चातको अहिलेको प्रकृतिको मूल्य समायोजन अव्यावहारिक भएको बताएका छन् । ‘पहिलो पटक आएको विषयले एउटै किसिमको सेयरको संख्या बढ्ने नभई नयाँ सेयर उत्पत्ति हुने भएकाले मूल्य समायोजन नगर्न आग्रह गरेका हौं,’ एभरेष्ट इन्स्योरेन्सका नायब महाप्रबन्धक प्रदीपमोहन धौभडेलले भने, ‘यो विषयलाई सरोकारवाला सबै निकायले गम्भीरतापूर्वक दिइदिनुपर्छ भन्ने हाम्रो अनुरोध हो ।’ एभरेष्ट इन्स्योरेन्सको पक्षमा आवाज बलियो बनाउन नेपाल इन्भेष्टर्स फोरमलगायतका लगानीकर्ता संघ-संस्थाले पनि सहयोग गरेका छन् ।
लगानीकर्ता, लगानीकर्ता संघ-संस्था एवं एभरेष्ट इन्स्योरेन्स कम्पनीको आग्रहसँगै नेप्सेले आइतबारको कारोबार रोकेको छ । नेप्सेका सीईओ चन्द्रसिंह साउदले फरक प्रकृतिको व्यवस्था भएकाले सबै सरोकारवाला निकायसँगको छलफलका लागि कारोबार रोकिएको बताए । ‘इस्यु रेज भएकाले लगानीकर्ताहरुलाई पनि छलफलका लागि बोलाएका हौं,’ साउदले न्युज कारोबारसँग भने, ‘सबै सरोकारवालासँग छलफल गरेपछि के गर्ने भन्ने निर्णय लिन्छौं ।’ यसअघिका कारोबार पनि खारेज हुने उनले बताए ।
विभिन्न निकायले बिमा समितिका कारण समस्या आएको बताएका छन् । यस्ता विषयमा निर्णय लिँदा नियामक निकायले ख्याल गर्नुपर्ने नेप्सेका सीईओ साउदले बताए । ‘अहिले कसैलाई आरोप-प्रत्यारोप गर्नुभन्दा समस्या समाधानमा लाग्नु श्रेयस्कर हुन्छ,’ उनी भन्छन्, तर दूरदर्शिता अपनाएन भने कहिलेकाहीँ सानो लागेका विषयले पनि ठूलो तनाव सिर्जना गर्न सक्छ भन्ने यो एउटा उदाहरण हो ।’
नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष भरत रानाभाट अहिलेको अवस्थाले सर्वसाधारण सेयर लगानीकर्ता बढी समस्यामा परेको बताउँछन् । सर्वसाधारण सेयर किनेका लगानीकर्ता बिमा कम्पनी र बिमा समितिका कारण संस्थापक सेयरधनी बन्नुपर्दा मर्कामा परेको उनको भनाइ छ । ‘यो विषयमा बिमा समितिले पर्याप्त गृहकार्य नगरी स्वीकृति प्रदान गरेको देखिन्छ,’ उनले भने ।
सेयर बजार विश्लेषकहरूले पनि बिमा समितिले ध्यान नदिएका कारण समस्या अाएको बताएका छन् । विश्लेषक रविन्द्र भट्टरार्इले पब्लिकलार्इ प्रोमोटर बनाउने तरिका गलत भएको बताए । ‘बिमा समिति सेयर बजारकाे ज्ञाता होइन, यस्ता निर्णय गर्नुअघि समितिले धितोपत्र बोर्ड र स्टक एक्सचेन्जसँग सल्लाह लिनुपर्थ्यो,’ उनले भने ।
विषय के हो ?
एभरेष्ट इन्स्योरेन्स कम्पनीको हालसम्म सर्वसाधारण सेयरमात्र छ । नियामक बिमा समितिको पछिल्लो प्रावधानअनुसार कम्पनीले संस्थापक र सर्वसाधारण सेयर हिस्सा कम्तीमा ५१/४९ कायम गर्न विशेष व्यवस्था मिलाइएको हो । एभरेष्ट इन्स्योरेन्सले साधारणसभाबाट पारित गरेको यो विषयलाई बिमा समितिले स्वीकृत गरेपछि नेप्सेमा आएको हो । नेप्सेले सर्वसाधारणबाट जारी भएको संस्थापक हकप्रद सेयरलाई सर्वसाधारणकै व्यवहार गरेपछि समस्या आएको हो ।
प्रकाशित समय १८:११ बजे

















