गृहपृष्ठ उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण
उपराष्ट्रपतिद्वारा नुवाकोटको पर्यटकीयस्थलको भ्रमण
उपराष्ट्रपति नन्दबहादुर पुनले नुवाकोटका विभिन्न धार्मिक एवं पर्यटकीयस्थलको भ्रमण तथा अवलोकन गरेका छन् ।
काठमाडौँको सुन्दरीजल, सिन्धुपाल्चोक हुँदै नुवाकोटको चिसापानीसम्म आइपुगेका उपराष्ट्रपति पुनले बिहीबार नुवाकोटको शिवपुरी, पञ्चकन्या, दुप्चेश्वरलगायत गाउँपालिकाका विभिन्न धार्मिक तथा पर्यटकीयस्थलको अवलोकन गरेका हुन् ।
अवलोकनका क्रममा उपराष्ट्रपति पुनले यस क्षेत्रलाई हाइकिङ, पदमार्ग एवं घारवस (होमस्टे) सहित पर्यटकीय गन्तव्य बनाउन सके यसबाट धेरै आम्दानी लिन सकिने बताए । उनले यो धेरै पर्यटकीय सम्भावना भएको क्षेत्र भएकाले यसलाई सोही अनुरुप विकास गर्न प्रतिनिधिसभा सदस्य हितबहादुर तामाङ र प्रदेश नं ३ का उपसभामुख राधिका तामाङलाई सुझाब दिए ।
सुन्दरीजल हुँदै चिसापानी आउने क्रममा उनले सुन्दरीजलस्थित विश्वेश्वरप्रसाद कोइराला र गणेशमान सिंहको शालिकमा पुष्पगुच्छा अर्पण गरे । सो क्रममा उनले बिपी र गणेशमानको जेल जीवन, उनीहरुले प्रयोग गरेका सामग्री, बहुदलीय व्यवस्था स्थापनाको संघर्षमा प्रयोग गरिएका तोपलगायतका फौजी सामग्री, विसं २०३३ मा नगदसहित अपहरण गरिएको हवाईजहाजलगायत ऐतिहासिक सामग्रीको समेत अवलोकन गरेका थिए। उपराष्ट्रपति पुनले बाग्मती सुधार आयोजनाको पनि अवलोकन गरेका थिए । (रासस)
प्रकाशित समय ०९:४२ बजे

















