गृहपृष्ठ बन्दीपुर केबलकार : स्थानीयका लागि सेयर खुला
बन्दीपुर केबलकार : स्थानीयका लागि सेयर खुला
बन्दीपुर केबलकार कम्पनीले तनहुँको बन्दीपुरवासीका लागि केबलकारको सेयर खुला गरेको छ । कम्पनीले पूर्वघोषणा गरे बमोजिम बन्दीपुर गाउँपालिकाभित्र बसोबास गर्ने सर्वसाधारणका लागि सेयर खुलाएको हो ।
बन्दीपुरमा बसोबास गर्नेले एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको सेयर खरिद गर्न सक्ने बन्दीपुर केबलकार प्रालिका अध्यक्ष तारानाथ उपाध्यायले जानकारी दिए । कम्पनीले बन्दीपुरवासीका लागि ११ लाख २० हजार कित्ता सेयर छुट्याएको छ । बन्दीपुर केबलकार कम्पनी प्रालि र आरकेडी रियलस्टेट कन्स्ट्रक्सनको लगानीमा बन्दीपुरमा केबलकार निर्माण हुनलागेको हो ।
केबलकारको गत साउनमा शिलान्यास गरिएको थियो । हाल केबलकार जडानको काम भइरहेको छ ।
केबलकारमा स्थानीय अपनत्व बढाउन कम्पनीले केबलकार कम्पनीलाई पब्लिक कम्पनीको रूपमा विकास गर्ने जनाएको छ । बन्दीपुर आसपासका नागरिकलाई साढे सात हजार रुपैयाँ तिरेपछि १० वर्षसम्म केबलकारको सेवा प्रदान गरिने आरकेडी रियलस्टेटका अध्यक्ष रामचन्द्र शर्माले बताए ।
पत्रकारिता क्षेत्रबाट केबलकार प्रवद्र्धनमा सहयोग पुर्याउने तीन पत्रकारलाई वार्षिक रु एक-एक लाखको सेयर दिइने भएको छ । सामाजिक क्षेत्रमा उल्लेखनीय योगदान पुर्याएबापत एक समाजसेवीलाई समेत प्रत्येक वर्ष रु एक लाखको सेयरले सम्मानित गरिने भएको छ ।
बन्दीपुरको पर्यटन प्रवद्र्धनका लागि छिमेकी देश भारतमा ‘चलिए बन्दीपुर’ अभियान तथा धार्मिक पर्यटनको विकास गर्न ‘चार धाम बन्दीपुर जाम’ अभियान सञ्चालन गरिनेछ । करीब ५६ करोड रुपैयाँको लागतमा निर्माण हुन लागेको केबलकार १५ महीनाभित्र सक्ने लक्ष्य छ ।
ठूल्ढुंगास्वाँराबाट बरालथोकसम्म जोडिने केबलकारबाट एक घण्टामा दुई सय जनाले वारपार गर्न सक्ने बताइएको छ । एसियाकै ठूलो सिद्धगुफा र प्राकृतिक दृश्यावलोकनका लागि उपयुक्त बन्दीपुर घुम्न आउने पर्यटकका लागि आकर्षणको केन्द्रबिन्दु बनाइने बताइएको छ ।
डुम्रे बजारदेखि बन्दीपुर पुग्न सात किलोमिटरको उकालो चढ्नु पर्छ । केबलकार निर्माण भएपछि सो दूरी पार गर्न नौ मिनेट लाग्नेछ । (रासस)
प्रकाशित समय ०९:५५ बजे

















