गृहपृष्ठ पोखरामा बढे पर्यटक : शतप्रतिशतसम्म होटल बुकिङ

पोखरामा बढे पर्यटक : शतप्रतिशतसम्म होटल बुकिङ

अान्तरिक र बाह्य पर्यटक बढेपछि व्यवसायी दंग

tourist-pokhara-newskarobar पोखरामा अाएका पर्यटक

‘मलाई भोलि र पर्सिका लागि दुईवटा रुम चाहिएको थियो, तपाईंको होटलमा रुम छ ?’ यसरी पटक–पटक पोखराका विभिन्न होटलहरुको सम्पर्क नम्बर खोल्दै फोन गर्दा गर्दै ठूला तथा मध्यमस्तरका पाँचवटा होटलसम्म सम्पर्क गर्दा पनि कुनै होटलमा रुम नभएको जानकारी पाएपछि पोखरामा होटलको अकुपेन्सी निकै राम्रो भएको नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय पोखराका निर्देशक सूर्य थपलियाले बताए ।

उनले शुक्रबार र शनिबार दुई दिनका लागि पोखराका ठूला तथा मध्यमस्तरका करिब ५ वटा होटलसम्म सम्पर्क गर्दा रुम खोज्न नै मुस्किल परेकोमा एकातर्फ दुःख लागे पनि अर्काेतर्फ पोखरामा होटल अकुपेन्सि फुल भएकोमा निकै हर्षित भएका छन् । अतिथि रिसोर्ट, द यात्रा, सांग्रिला भिलेज, क्विन्स पार्क, कुटी रिसोर्ट लगायतका होटलमा रुम खोज्दा नभेटाउनु भनेको पोखरामा पर्यटकहरुको संख्यामा वृद्धि भएको उनको दावी छ ।

‘यस वर्षको पर्यटनको सिजनको अन्तिम समयमा पोखराका अधिकांश होटल बुकिङ भएको पाइयो,’ उनले भने, ‘यसले पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ, यो हाम्रो लागि निकै खुसीको कुरा हो ।’

यस वर्ष पर्यटनको सिजनमा पोखराका पर्यटकस्तरीय होटलहरुमा विदेशी तथा आन्तरिक पर्यटक आगमनले होटल व्यवसायीसँगै पर्यटन व्यवसायीहरु उत्साहित भएका हुन् । पोखराका ठूला तथा मध्यमस्तरका पर्यटकस्तरीय होटलमा हाल अधिकांश होटलको अकुपेन्सी करिब ७० देखि शतप्रतिशत रहेको व्यवसयीहरुले बताएका छन् भने साना होटलमा भने ६० प्रतिशत जसो अकुपेन्सी रहेको बताइन्छ ।

पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचनले हाल पोखरामा तेश्रो मुलुकका पर्यटकहरुको सङख्यामा बृद्धि भएको बताए । ‘दशैंको अवसरमा आन्तरिक पर्यटकहरुको संख्या पोखरामा बढी थियो भने यति बेला विदेशी पर्यटकको संख्या केही वृद्धि भएको छ,’ उनले भने, ‘यसबाट पर्यटन व्यवसायी केही उत्साहित भएका छौं ।’ पोखराका साना, ठूला सवै हिसाबले हेर्दा हाल करिब ७० प्रतिशत होटलको अकुपेन्सी रहेको अध्यक्ष तुलाचनले जनाए ।

यस बर्ष पर्यटनको सिजन अक्टुबर र नोवेम्बरमा पोखरामा उत्साहजनक रुपमा पर्यटक आएको कुटी रिसोर्ट एण्ड स्पाका सञ्चालक देवेन्द्र केसीले बताए । उनको होटलमा हाल ५१ रुम भए पनि केहि दिनअघिदेखि नोभेम्बर महिनासम्म करिब शतप्रतिशत अग्रिम बुकिङ भएको छ ।

टुर्स एण्ड ट्राभल्स, अनलाईन र आफ्नो रिलेसनका आधारमा हाल विदेशी पर्यटकहरु बढी आफ्नो रिसोटमा होटल बुकिङ गरेको केसीले जनाए । उनको रिसोर्टमा प्रतिबेड प्रतिरातको ३ हजार ५ सय देखि १५ हजारसम्म शुल्क लाग्छ ।

पोखराको हाल सञ्चालनमा आएको एकमात्र पाँचतारे होटल पोखरा ग्राण्डमा यति बेला ९० प्रतिशत होटल बुकिङ भएको सिनियर सेल्स म्यानेजर कमल शेरचनले बताए । उनका अनुसार विदेशी तथा स्वदेशी पर्यटकले यस सिजनमा ९० प्रतिशत अग्रिम बुकिङ गरेका हुन् । एक सय ४० वटा रुम रहेको उक्त होटलमा प्रतिबेड प्रतिरातको ७ हजार ५ सय देखि ३० हजारसम्म पर्छ ।

त्यसैगरी, पोखराको दोनस्ती होटलमा करिब ८० प्रतिशत होटल अकुपेन्सी छ । ३० रुम रहेको उक्त होटलमा एक हजारदेखि ३ हजारमा रुम उपलब्ध गराएको होटल संचालक अशोक लामा रुम्बाले बताए । दशैं तथ तिहारको अवसरमा आन्तरिक पर्यटक बढी भए पनि हाल विदेशी पर्यटक बढी भएको उनले जनाए ।

प्रकाशित समय २०:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु