गृहपृष्ठ गर्भवती राईको हेलिकप्टरमार्फत उद्धार
गर्भवती राईको हेलिकप्टरमार्फत उद्धार
सोलुखुम्बुको महाकुलुङ गाउँपालिका–३ की एक गर्भवतीको उद्धार गरेर काठमाडौँ लगिएको छ । गाउँपालिका ३ छेस्कामकी २२ वर्षीया देवीकला राईलाई हेलिकप्टरमार्फत काठमाडौँ लगिएको हो ।
‘महिनाकी गर्भवती राईलाई कडा रक्तअल्पताका कारण उपचारमा समस्या भएको थियो,’ जिल्ला अस्पताल फाप्लुका प्रमुख डा. मिङ्मार छिरिङ शेर्पाले भने, ‘तीन पाउन्ड रगत दिएपछि त्यसको रियाक्सन (प्रतिक्रिया) सुरु भएपछि जीवन बचाउन काठमाडौँ सिफारिस गरिएको हो ।’
गाउँपालिका र अस्पतालको अनुरोधमा प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाको पहलमा नेपाली सेनाको हेलिकप्टरमार्फत उनलाई काठमाडौँ लगिएको छ । ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ अनुसार उद्धार गरिएकी उनको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ ।
उक्त कार्यविधिमा लगातार लामो प्रशव व्यथा लागेका, बच्चा जन्मिन कठिनाइ भएको, गर्भमै बच्चाको मृत्यु भएको, गर्भावस्थामा हातखुट्टा, शरीर सुन्निएको, अधिक रक्तश्राव भएको, रक्तअल्पता भएका महिलालाई ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका रूपमा व्याख्या गरिएको छ ।
हवाई उद्धारकार्यको समन्वय गर्न महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको महिला सशक्तिकरण महाशाखा प्रमुखको संयोजकत्वमा गठित आठ सदस्य समितिले काम गर्छ । स्थानीय तहमा हवाई उद्धारकार्यका लागि समन्वय गर्न गाउँपालिका तथा नगरपालिकाका अध्यक्षको संयोजकत्वमा समिति बनाउने उल्लेख गरिएको छ । रासस
प्रकाशित समय १०:३७ बजे
















