गृहपृष्ठ बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

बन्द हड्ताल नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

health-minister-newskarobar

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक तथा स्वास्थ्यकर्मीलाई बन्द हड्ताल नगर्न निर्देशन दिएको छ । जुम्लामा अनसनरत डा. गोविन्द केसीको मागमा सरकार गम्भीर नभएको भन्दै चिकित्सक संघको नेतृत्वमा आन्दोलनका कार्यक्रम हुन थालेपछि मन्त्रालयले यस्तो निर्देशन दिएको हो ।

निर्देशनात्मक पत्र पठाउँदै मन्त्रालयले वर्षाको मौसम भएकाले प्राकृतिक प्रकोप, बाढी, पहिरो र सरुवा रोगको संक्रमणले प्रभावित गर्न सक्ने भन्दै देशभरका स्वास्थ्य संस्थाका कर्मचारीलाई नियमित कामकाजमा रहन तथा अनुमतिबिना बिदा नबस्न निर्देशन दिइएको हो ।

मन्त्रालयका सहसचिव मधुसुदन बुर्लाकोटीले शुक्रबार देशभरका स्वास्थ्य संस्थाका नाममा निर्देशनात्मक पत्र जारी गरेका हुन् । स्वास्थ्यकर्मीलाई यो समयमा बन्द, हड्ताल नगर्न र बिदा नबस्न निर्देशन दिइएको छ ।

निर्देशन अवज्ञा गरी बिदामा बस्ने तथा बन्द र हड्ताल गरेमा कारबाही हुने चेतावनी दिँदै सहसचिव बुर्लाकोटीले उल्लेखित क्रियाकलाप गरेको÷गराएको पाइएमा आवश्यक सेवा सञ्चालन ऐन २०१४ को दफा ३ को उपदफा १ ले दिएको अधिकार प्रयोग गरी कारबाही गर्न मन्त्रालय बाध्य हुने चेतावनी दिएका छन् ।

यता नेपाल चिकित्सक संघले भने डा. केसीको जीवन रक्षाका लागि आकस्मिक बाहेकका सेवा ठप्प पार्नेसम्मको चरणबद्ध आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।

यसैबीच, नेपाल चिकित्सक संघले छुट्टाछुट्टै समयमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, कांग्रेस सभापति शेरबहादुर देउवा, प्रकाशमान सिंह, नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई र विवेकशील साझा पार्टीका संयोजक रविन्द्र मिश्र र उज्वल थापालगायतलाई भेट गरेको छ । उनीहरुले डा. केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गरेका छ ।

संघका महासचिव डा. लोचन कार्कीले संघीय समाजवादी फोरम नेपाल, राष्ट्रिय जनता पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनमोर्चा लगायत अन्य राजनीतिक दलका नेताहरुसमक्ष भेट गरी आन्दोलनको वास्तविकता र डा. गोविन्द केसीको जीवनरक्षाका लागि अविलम्ब निकास निकाल्ने वातावरण सिर्जना गरिदिन अपिल गर्ने पनि जानकारी दिए ।

(रासस)

प्रकाशित समय १९:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु