गृहपृष्ठ २१ वर्षीया काइली विश्वकै कान्छि अर्बपति, जुकर्बर्गलाई उछिनिन् ?
२१ वर्षीया काइली विश्वकै कान्छि अर्बपति, जुकर्बर्गलाई उछिनिन् ?
२१ वर्षमा मान्छेले कति पैसा कमाउला ? देश, भूगोल र पेसा, परिवेशअनुसार यसको उत्तर फरक–फरक बन्न सक्छ । यो उमेरमा कोही अर्बपति हुन्छ भने यो धेरैका लागि नौलो कुरा पक्कै हुन्छ । अमेरिकाकी एक युवती श्रृंगारका सामान व्यवसायबाट २१ वर्षको उमेरमै अर्बपति बनेकी छन् ।
अमेरिकाकी काइली जेनर आफ्नै बलबुतामा अहिलेसम्मकै संसारको सबैभन्दा कान्छी अर्बपति सूचिमा परेकी हुन् । फोर्ब्स म्यागजिनले सार्वजनिक गरेको सन् २०१९ को अर्बपति सूचिमा परेकी २१ वर्षीया काइलीले आफ्नो भाग्य शृङ्गारका सामानको व्यवसायबाट कोरेकी फोर्ब्स्ले उल्लेख गरेको छ ।
उनको कम्पनी काइली कस्मेटिक्सले गत वर्ष मात्र आफ्नो बिक्रीबाट ३६ करोड अमेरिकी डलर रुपैयाँ कमाएको थियो । उनी चर्चित कार्ड्याशियन परिवारकी सदस्य हुन् ।
कान्छो उमेरमा अर्बपति बनेका फेसबुकका संस्थापक मार्क जुकरवर्गको रेकर्ड पनि काइलीले भंग गरेकी छन् । कान्छा अर्बपतिका रूपमा सूचीकृत हुँदा जुकर्बर्ग २३ वर्षका थिए ।
‘मैले यस्तो केही अपेक्षा गरेकी थिइनँ । मैले भविष्यको यस्तो लक्ष्य पनि राखेकी थिइनँ,’ काइलीले फोर्ब्ससँग भनिन्, ‘तैपनि यस्तो सूचीमा पर्दा साँच्चिकै खुसी लागेको छ । कसैले आफ्नो काँधमा धाप मारिदिएजस्तो लागेको छ ।’
सन् २०१९ को सूचीमा १३१ अर्ब अमेरिकी डलर सम्पत्तिसहित अमेजनका संस्थापक जेफ बेजोस शीर्ष स्थानमा छन् । उनको कुल सम्पत्ति गत वर्षको भन्दा १९ अर्ब अमेरिकी डलरले बढेको छ ।
अमेजनका संस्थापक जेफ बेजोस अर्बपतिहरूको शीर्ष स्थानमा छन् । तर, फेसबुकका मार्क जुकर्बर्गको सम्पत्ति भने घटिरहेको छ । फोर्ब्स सूचीका अनुसार गत वर्ष रहेको उनको सम्पत्ति ६२.३ अर्ब अमेरिकी डलर रहेकोमा यो वर्ष त्यो ८.७ अर्ब डलरले घटेको छ ।
फेसबुकले गोपनीयतासम्बन्धी प्रकरणहरूमा मुद्दामामिला खेपिरहँदा जुकर्बर्गको सेयरको मूल्य एकतिहाइले घटेको थियो । उता, अमेजनको शेअरको मूल्य बढ्दा त्यसका संस्थापक बेजोसको ब्याङ्क खाता बढाएको छ र दोस्रा धनी बिल गेट्ससँगको दूरी थोरै बढाएको छ । माइक्रोसफ्ट संस्थापक गेट्सको सम्पत्ति भने ९० अर्ब डलरबाट बढेर ९६.५ अर्ब डलर पुगेको छ।
फोर्ब्सको गणनामा परेका दुई हजार एक सय ५३ धनी व्यक्तिमध्ये २५२ जना महिलाहरू छन् । आफ्नै पौरखमा सबैभन्दा धनी महिला भने चीनकी प्रभावशाली घरजग्जा व्यवसायी वू याजुन छिन्। उनको सम्पत्ति झन्डै ९.४ अर्ब डलर रहेको बताइन्छ ।
आफ्नै प्रयासमा अर्बपति हुने त्यस्ता महिलाको सङ्ख्या पहिलो पटक सबैभन्दा धेरै ७२ पुगेको थियो जुन गतवर्ष ५६ थियो । फोर्ब्सको सूचीमा पर्ने विनोद चौधरी एक मात्र नेपाली हुन् । अर्बपतिहरुको सूचिमा चौधरी १३४९ औं स्थानमा छन् । सबैभन्दा धेरै अर्बपति अमेरिकाका ६०७ जना छन् भने त्यसपछि चीनका ३२४ जना छन् ।
प्रकाशित समय १२:२४ बजे

















