गृहपृष्ठ बालविवाह रोक्न बालिकाको बैंक खातामा २५ हजार बचत
बालविवाह रोक्न बालिकाको बैंक खातामा २५ हजार बचत
बच्चुलाल केवट, अध्यक्ष, गैडहवा गाउँपालिका, रुपन्देही
रुपन्देहीको गैडहवा गाउँपालिकामा अब बालविवाह निरुत्साहित हुने भएको छ । तराई समुदायमा छोरीको लागि ‘केटाबेटा’ खोज्ने प्रचालन अहिले पनि छ । उमेर पुगेकी छोरीलाई ‘यति दाइजो (दहेज) दिन्छु मेरो छोरी विवाह गरिदेऊ’ भन्दै बुबाआमा र अभिभावक नै हिँड्ने गर्छन् । यही कुरालाई मध्यनजर गर्दै उक्त गाउँपालिकाले अब छोरीका लागि केटा माग्ने नभई केटापक्ष छोरी माग्न आउने वातावरण बनाउन लागेको हो ।
अधिकांश यादव, केवट, लोध र मुस्लिम समुदायको बाहुल्य रहेको गाउँपालिकामा अहिले पनि बालविवाह व्यप्त छ भने उमेर पुगेकी छोरीको विवाह गराउन अभिभावकहरुले घरजग्गासमेत बिक्री गर्नुपर्ने बाध्यता छ ।
यस्तो प्रथालाई सधैंका लागि रोक्न गाउँपालिकाले योजना अघि सारेको हो । ‘बालिका संरक्षण अभियान’अन्तर्गत अब गाउँपालिकाका प्रत्येक बालिकाको मुद्धति खातामा निश्चित रकम बचत गर्ने र २० वर्षको उमेर पुगेपछि ती बालिकाले रकम निकाल्न पाउने र सोही रकमबाट केही उद्यमको काम गरी केटाहरु नै छोरीको हात माग्न आउने अवस्था बनाउन यो व्यवस्था गर्न लागिएको हो ।
अध्यक्ष बच्चुलाल केवटका अनुसार गाउँपालिकाले बैंक खाता खोलेर २० वर्ष नुग्दासम्म झिक्न नमिल्ने गरी २० हजार रुपैयाँ मुद्धति बचन गर्ने गरी कार्यविधि तयार गरेको छ । जसमा जुन घरकी बालिका हुन् उनका परिवारले ५ हजार थपेर २५ हजार एक बालिकाको खातामा जम्मा गरिनेछ । उनले २० वर्ष पुगेपछि साँवा-ब्याज निकाल्न पाउनेछिन् ।
उनका अनुसार यो अभियान भदौदेखि नै सुरु हुनेछ । जसका लागि गाउँपालिकाले ४० लाख रुपैयाँ पहिलो चरणमा छुट्टयाएको छ । ‘अपुग भएमा अझ थप्ने योजना रहेको अध्यक्ष केवटले बताए ।
कुनै पनि बालिकाले उमेर नपुग्दै विवाह गरेमा उनको नाममा रहेको रकम पूरै गाउँपालिकाको खातामा फिर्ता आउने गरी कार्याविधि निर्माण गरिँदै छ । यसका लागि स्थानीय सुनगाभा समुदायिक विकास केन्द्रसँग सहकार्य गरिनेछ । तथ्यांक संकलनका लागि सामाजिक संघ–संस्थाको सहयोग लिइने गाउँपालिकाले जनाएको छ ।
यसअघि सुनगभा सामुदायिक विकास केन्द्र र नमुना एकीकृत विकास परिषद (नमुना)ले साविक सूर्यपुरा गाविसको वडा नम्बर ९ लाई बाल विवाहमुक्त घोषण गरेको थियो । साविक सूर्यपुरा, जोगडा, विष्णुपुरा र साडी गाविस मिलेर गैडहवा गाउँपालिका बनेको हो । २०६८ सालको जनगणनाअनुसार यो गाउँपालिकामा ४७ हजार जनसंख्या छ ।
प्रकाशित समय ०८:५४ बजे
















