गृहपृष्ठ काभ्रे पनौतीका कुशादेवी र कलाँतीका बस्ती क्रसर उद्योगका कारण जोखिममा
काभ्रे पनौतीका कुशादेवी र कलाँतीका बस्ती क्रसर उद्योगका कारण जोखिममा
बनेपा । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–२ कुशादेवी र कलाँती भूमिडाँडाको गागल आसपासमा सञ्चालन हुँदै आएका ढुंगाखानी र क्रसर उद्योगका कारण यहाँका बस्ती विस्थापित हुने खतरा बढ्दै गएको छ ।
सञ्चालकले ढुंगाखानी र क्रसर उद्योग व्यवस्थित रूपमा सञ्चालन नगर्दा वनजंगललाई समेत असर पुगेको छ । केही परिवार विस्थापित भएका छन् । स्थानीयवासी अर्जुन आचार्य खानीका कारण विभिन्न समस्या झेल्दै आएको बताउँछन् ।
‘आवाज र धुलोले असर गरिरहेको छ, धुलोले बोटबिरुवा ढाक्नुका साथै उब्जनीमा कमी आएको छ,’ उनले भने, ‘कोलाहलले राति सुत्न सकिँदैन ।’ दूध र तरकारी ढुवानी गर्न समस्या भएको छ ।
पहिरोका कारण पनौती बजारसँगै खोला आसपासको अन्य क्षेत्रमा समेत क्षति पुग्ने देखिन्छ । बस्ती तलतिरबाट ढुंगा निकाल्दा पहिरो जान थालेपछि स्थानीय बासिन्दा त्रसित भएका छन् । बजगार्इंका अनुसार यसै वर्ष दुई परिवार विस्थापित भएका छन् ।
स्थानीय बासिन्दा साधुराम आचार्य खानीका कारण विभिन्न समस्या देखापरेको बताउँछन् । ‘गाउँमा बस्न सक्ने स्थिति छैन, चर्को आवाजले ओल्लो घरबाट बोलाएको अर्को घरमा सुनिदैन,’ उनले भने, ‘कि त खानी बन्द गर्नुप¥यो कि बस्ती नै हटाउनुप¥यो ।’
खानीका कारण पहिरो जाने, धुलोका कारण वातावरण प्रदूषित हुँदै जानुका साथै पर्यटकीय क्षेत्रमा प्रदूषण बढ्दै जाँदा पर्यटकको आगमनमा कमी आएको छ ।
पनौती नगरपालिका प्रमुख भीम न्यौपाने जनप्रतिनिधि आउनुअगाडि नै खानी विभागबाट दर्ता भई आएर सञ्चालन गरेका कारण त्यसका लागि केन्द्रले नै पहल गर्नुपर्ने बताउँछन् । ‘खानीका कारण खानेपानी आयोजनामा समेत असर गरेको छ, डाँडाडाँडा नै किसानले बेचेर जानुपर्ने अवस्था छ,’ उनले भने, हामी आएदेखि खानी दर्ता गर्न दिएका छैनौं ।’
प्रकाशित समय ०७:३८ बजे

















