गृहपृष्ठ जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम, संसदमा उठेका विषयसमेत समेट्ने तयारी

जेठ ७ गते सरकारको नीति तथा कार्यक्रम, संसदमा उठेका विषयसमेत समेट्ने तयारी

काठमाडौं । मन्त्रिपरिषद् बैठकले आगामी जेठ ७ मा सरकारको नीति तथा कार्यक्रम संघीय संसदको संयुक्त सदनमा सम्बोधन गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ । बैठकले जेठ ७ गते अपराह्न ४ बजे नीति तथा कार्यक्रम पेश गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको प्रवक्ता एवं सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।

त्यस्तै, बैठकले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो बनाएको निष्कर्ष समेत निकालेको छ । ‘नेपालका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको निमन्त्रणमा भएको मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको यसपटकको नेपाल भ्रमण अत्यन्त सफल र नेपालको हितमा रहेको निष्कर्ष मन्त्रिपरिषद् बैठकले गरेको छ’, बैठकपछि पत्रकारहरुसँग बास्कोटाले भने, ‘यो भ्रमणले  दुई देशको सम्बन्ध थप मजबुत भएको अनुभूति र विश्वास सरकारले गरेको छ ।’

सरकारले आगामी वर्षको बजेट सार्जजनिक गर्नुपूर्ण आफ्नो आगामी वर्षको नीति तथा कार्यक्रमहरु प्रस्तुत गर्ने गर्दछ । सोही अनुसार आगामी वर्षको बजेटका विषयमा पूर्व छलफलसमेत संसदमा भैसकेको छ । संसदमा भएको छलफलका विषय तथा कार्यक्रमहरुलाई समेत सरकारले आफ्नो नीति तथा कार्यक्रममा समेट्ने तयारी गरेको छ । ‘संसदमा उठेका विषयहरुलाई समेत समेट्ने गरी हामीले छलफल गरिरहेका छौं,’ अर्थमन्त्री डा युवराज खतिवडाले भने, ‘सबैको भावना तथा सबै पार्टीले देश र जनताको हीतिका लागि ल्याएका कार्यक्रमहरुलाई समेट्ने तयारी भैरहेको छ ।’

प्रकाशित समय ०८:३५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु