गृहपृष्ठ प्राविधिक कृषी शिक्षाका लागी ५४० युवा इजरायल पठाउदै

प्राविधिक कृषी शिक्षाका लागी ५४० युवा इजरायल पठाउदै

काठमाडाैं- सरकारले साना किसान विकास बैंकसंगकाे सहकार्यमा यो वर्ष मुलुकभरबाट ५४० जना युवालाई इजरायल पठाउने भएको छ । इजरायली दूतावाससँगको सहकार्यमा बैंकले प्राविधिक कृषि शिक्षाका लागि युवा छनोट गरी प्रत्येक वर्ष इजराइल पठाउँदै अाएकाे छ ।

इजरायलबाट कृषि तालिम लिएर फर्किने युवालाई विशेष अनुदान दिने तयारी भइरहेको कृषि, भूमि तथा सहकारीमन्त्री चक्रपाणि खनालले बताएका छन् । उनका अनुसार इजराइलमा गएर कृषिमा प्राविधिक शिक्षा हासिल गरेर आउने युवाहरूलाई नेपाल फर्केपछि नेपालमा केही गर्न प्रोत्सानका लागि अनुदान दिइन लागिएको हो । अघिल्लाे सातामात्रै इजरायलकाे भ्रमण गरेर फर्केका उनले याे अभियानलार्इ पूर्ण सहयाेग रहने बताएका छन् ।

कृषिलाई ध्यानमा राखेर सरकारले न्यूनतम ब्याजमा ऋण उपलब्ध गराउने व्यवस्थाका लागि पनि पहल गरिएको मन्त्री खनालले जानकारी दिए । ‘हामीले इजराइलबाट प्राविधिक कृषि सिकेर फर्केकालाई अनुदार तोकेर दिने कार्यक्रम नै राखेका छौं, त्यो कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयन गर्ने र समस्या भएका ठाउँमा समाधान खोज्दै अगाडि बढ्ने सोच छ,’ मन्त्री खनालले भने ।

उनले यस्तो कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा आउने दाबीसमेत गरे । इजरायलमा २ प्रतिशत मात्र किसान भए पनि विश्वभर तरकारी पुर्याउन सक्ने तर नेपालमा ६६ प्रतिशत किसान हुँदा पनि ५० प्रतिशत नेपालीलाई खान पुर्याउन मुस्किल पर्ने गरेको उनले बताए । प्राविधिक कुरामा नेपाल धेरै पछि परेकै कारण कृषिमा परिवर्तन अउन नसकेको उनको भनाइ छ ।

साना किसान विकास बैंकको पहलमा अहिलेसम्म ५ वर्षमा २ हजार १ सय युवा किसानले इजरायल गएर कृषि प्रविधि सिक्ने अवसर पाइसकेका छन् । यसरी इजरायल गएकामध्ये १७ युवा पुन नेपाल फर्किर कृषि पेसामा संलग्न रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत डा. शिवरामप्रसाद कोइरालाले जानकारी दिए ।

अहिलेसम्म इजराइल पुगेर फर्केर आएका ५० प्रतिशत युवाले नेपालमै व्यवसायिक खेती गरेको बैंकका मुख्य प्रवक्ता कृष्णप्रसाद लामिछाने बताउँछन् । यो वर्ष गोलाप्रथाबाट छनोट हुने युवाहरू अक्टुबरसम्ममा इजराइल गइसक्ने उनले बताए । यसअघि सरकारले इजराइलबाट फरकेर नेपालमा कृषि गर्नेलाई १ लाख अनुदान तोकेको भए पनि त्यो १ वर्ष मात्र लागू भएको त्यसपछि त्यसको कुनै कार्यन्वयन नभएको उनले बताए ।

प्रकाशित समय ०९:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु