गृहपृष्ठ नेपालगन्जबाट उड्ने चार्टर्ड उडान बन्द

नेपालगन्जबाट उड्ने चार्टर्ड उडान बन्द

नेपालगञ्ज- बाँकेको नेपालगञ्जबाट प्रदेश नम्बर ५, ६ र ७ का पहाडी जिल्लाहरूमा गरिने चार्टर्ड उडान बिहीबारबाट बन्द भएको छ । चार्टर्ड उडानका नाममा यात्रुबाट चर्को भाडा असुली भएकाे गुनासाे अाइरहेकाे समयमा उडान बन्द गर्ने निर्णय गरिएको नागरिक उड्डयन कार्यालय नेपालगन्जका प्रमुख प्रतापबाबु तिवारीले जानकारी दिए ।

निजी विमानले चार्टर्ड उडानको नाममा दोब्बरभन्दा बढी भाडा असुल्दै आएका थिए । तिवारीका अनुसार अब समान भाडादर कायम गरिएको छ । नयाँ भाडादर पहिलेको सहुलियत दरभन्दा अलिक महँगो र चार्टरभन्दा सस्तो पर्ने छ ।

यसअघि सातामा एक दिन मात्र सहुलियत उडान हुने गरेको थियो । चार्टर्ड उडान बन्द गरेर समान भाडादर तोकिएपछि सबै यात्रुले तोकिएको समान भाडामा यात्रा गर्न पाउने सुनिश्चित भएको छ ।

हाल नेपालगन्जबाट तारा, सीता, समीट र नेपाल एयरलाइन्सले पहाडी जिल्लामा विमान सेवा सञ्चालन गर्दै आएका छन् ।

प्रकाशित समय ०९:०१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु