गृहपृष्ठ नीति तथा कार्यक्रम ‘भिजन डकुमेन्ट’: डा. भट्टराई
नीति तथा कार्यक्रम ‘भिजन डकुमेन्ट’: डा. भट्टराई
‘जागिरे मानसिकता बोकेको कर्मचारी पालेर हुँदैन’
काठमाडौं– पूर्वप्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले बाह्य पुँजी नल्याएसम्म मुलुकको तीव्र आर्थिक विकास सम्भव नभएको बताएका छन् । बिप्पामाथि आफ्नो कपिराइट अन्त्य भएको घोषणा गर्दै सांसद भट्टराईले नयाँ ढंगले सम्झौता गर्न सरकारलाई आग्रह गरे ।
भू–राजनीतिक सन्तुलन मिलाउन र बाह्य पुँजी ल्याउन सरकारलाई उनले सुझाव दिए । ‘संकेत त छन् तर भन्न हिचकिचाहट देख्छु । बाह्य पुँजीको स्वागत र संरक्षण गर्नुको विकल्प छैन । राष्ट्रिय हितअनुकूल हुनेगरी भारत र चीनबाट पुँजी भित्र्याई लगानी गरेर वस्तु निर्यात नगरेसम्म देशको विकास हुँदैन,’ उनले भने, ‘त्यसो गर्न सुरक्षा र संरक्षणको नीति हुनैपर्छ, बिप्पा सम्झौता गर्नैपर्छ ।’
बिप्पा शब्दले किन संकोच पैदा गरेको छ आफूले बुझ्न नसकेको डा. भट्टराईले बताए । ‘बाबुराम भट्टराईको प्रधानमन्त्रीत्वकालमा उठाएको विषय भन्ने लागेको हो भने त्यसमा मेरो कपिराइट छैन,’ उनले भने, ‘यही मञ्चबाट कपिराइट खारेज गरेको घोषणा गर्छु ।’
नीति तथा कार्यक्रमलाई ‘भिजन डकुमेन्ट’को संज्ञा दिँदै उनले स्वागत र समर्थन गरे । ‘नीति र कार्यक्रम अन्त्यन्त सुन्दर छ, राम्रा सपना देखाइएको छ,’ उनले भने, ‘कछुवा गतिले हुँदैन, भ्यागुतोको उफ्राइमा जानुपर्छ भन्ने संकेत यसले गरेको छ ।’
दोहोरो अंकको आर्थिक वृद्धिदर हासिल गर्न २५ खर्ब खर्च गर्नुपर्ने तर यो आन्तरिक स्रोतबाट मात्र सम्भव नहुने पूर्वप्रधानमन्त्री भट्टराईको भनाइ छ ।
कम्युनिस्ट पार्टी भनिए पनि बाह्य पुँजी ल्याउन मिल्ने उनको भनाइ छ । ‘कम्युनिस्ट पार्टी भनिहालियो, कम्युनिस्ट भन्नासाथ बाह्य पुँजी ल्याउनु हुँदैन भन्ने होइन,’ उनले भने, ‘हिजो साम्राज्यवादी पुँजीको विरोध गरियो । अब के गर्ने भन्न थाल्नुभयो भने आफैंले खनेको खाल्डोमा आफैं परिन्छ ।’
‘जागिरे मानसिकता बोकेको कर्मचारी पालेर हुँदैन’
तीव्र विकासको लागि संस्थागत संरचनामा ठूलो परिर्वतन अत्यावश्य रहेको उनले प्रस्ट पारे । कर्मचारी प्रशासन प्रक्रियामुखी र ‘राजाको काम कहिले जाला घाम’ भन्ने सोचको रहेको सांसद भट्टराईको टिप्पणी छ । उनले कर्मचारीबाट काम लिन सकिन्छ भने तलब बढाउन कन्जुस्याइँ नगर्न सरकारलाई सुझाव दिए । ‘राम्रो सुविधा दिऔं, तलब पनि कति बढाउनुपर्छ बढाऔं,’ डा. भट्टराईले भने, ‘तर पर्फमेन्सका आधारमा सम्झौता गरेर काम गराउनुपर्छ । जागिरे मानसिकता बोकेको कर्मचारी पालेर हुँदैन ।’
यद्यपि, नीति तथा कार्यक्रमले कुन वर्ष के गर्ने भन्ने प्रस्ट पार्न नसकेको उनको भनाइ छ ।
प्रकाशित समय १२:५१ बजे