गृहपृष्ठ जरैसम्म सल्किँदै कांग्रेस विवाद

जरैसम्म सल्किँदै कांग्रेस विवाद

काठमाडौं– चुनावमा पराजित भएपछि केन्द्रीय स्तरमा सुरू भएको कांग्रेस विवाद जरैसम्म सल्किएको छ । तत्कालीन एमाले र माओवादी पार्टी एकता गरेर बलियो बन्दै जाँदा प्रमुख प्रतिपक्षी कांग्रेसमा भने आन्तरिक विवाद चुलिँदै गएको हो । केन्द्रीय स्तरको विवाद सामसुम हुँदै जाँदा तल्ला निकायमा सल्किँदै गएको विवादले कांग्रेस थप कमजोर बन्ने देखिएको छ ।

केन्द्रबाट सुरु भएको पदाधिकारी विवाद नेविसंघ, महिला संघलगायतका भ्रातृ संगठनमा सरेको हो । नेपाल महिला संघमा पछिल्लो पटक मञ्जु खाण महामन्त्रीमा मनोनीत भएकी छन् । कांग्रेस असन्तुष्ट पक्ष रामचन्द्र पौडेल समूहले सभापति शेरबहादुर देउवाले पार्टीमा एकलौटी गरेको आरोप र गुनासो गरिरहँदा देउवा समूहका नेता एवं संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडकी पत्नी मञ्जुलार्इ महिला संघमा महामन्त्री बनाइएपछि विवाद चुलिँदै गएको छ ।

पार्टी उपसभापतिलगायतको मनोनयनका बेलादेखा नै असन्तुष्ट पौडेल र कृष्ण सिटौला समूह खाणको नियुक्तिले थप आक्रोशित भएको छ । यद्यपि, कांग्रेसभित्रको आक्रोस ‘लोग्नेस्वास्नीको झगडा परालको आगो’ जस्तै हुने गरेको छ । सुरूमा मच्चिने गरेका गगन थापा, चन्द्र भण्डारी, प्रदीप पौडेललगायतका नेताहरू कार्यकर्तालार्इ थामथुम पार्ने गरी प्रस्तुत हुने गरेका छन् । पछिल्ला विवादमा पनि कांग्रेस युवा नेताहरू मौन देखिएका छन् । मिडियामा चर्को स्वरमा प्रस्तुत हुने नेताहरूले पनि सभापति देउवाको कार्यशैलीविरूद्ध खुलेर आवाज उठाउन सकिरहेका छैनन् ।

अर्को भ्रातृ संगठन नेविसंघमा पनि विवाद चर्किंदै गएको छ । त्यहाँ पनि देउवा र सिटौला समूहले मिलेर चुनाव लडेका थिए । तर, अध्यक्ष नैनसिंह महरले गुन्डा नाइकेसहित एक सयभन्दा बढी आमन्त्रित सदस्यमात्र आफूखुसी मनोनीत गरेका छन् । पौडेल र सिटौला समूहका नेताहरुले पार्टीका भ्रातृ संगठनहरूमा विवाद बढाउने काम सभापतिबाटै भइरहेको आरोप लगाइरहेका छन् । एक कांग्रेस नेताले भने, ‘देउवाले पार्टीमा एकलौटी गरेको भनेर मिडियामा कराउने नेताहरू बैठकमा खुलेर विरोध गर्न सक्दैनन्, मिडियामा मात्र हल्ला गर्नुको कुनै तुक रहँदैन ।’

प्रकाशित समय १७:५८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु