गृहपृष्ठ समयमा काम नगर्ने, ३८ ठेकेदारको सूची गृह मन्त्रालयमा
समयमा काम नगर्ने, ३८ ठेकेदारको सूची गृह मन्त्रालयमा
चितवन- गृह मन्त्रालयले काम नगर्ने ठेकेदारलाई कारबाही गर्ने चेतावनी दिइरहेका बेला गृहमन्त्रीकै गृह जिल्ला चितवनमा पनि काम नै नगर्ने ठेकदारहरू फेला परेका छन् ।
निर्माणको जिम्मा लिएर समयमा काम नसक्ने ३८ ठेकेदारको नामावली जिल्ला प्रशासन कार्यालय चितवनले गृह मन्त्रालयमा पठाएको छ । विभिन्न सरकारी कार्यालयबाट आयोजनाको ठेक्का लिएका तर समयमा काम नगर्ने ठेकेदारहरूको नामावली संकलन गरी गृह मन्त्रालयमा पठाइएको तिवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले जानकारी दिए ।
ती निर्माण कम्पनीहरूको ठेक्का आयोजना र कार्यप्रगति विवरण संकलन गरिएको बताउँदै प्रजिअ बस्नेतले सुस्त काम गर्ने ठेकदारको विवरणसमेत गृह मन्त्रालयमा पठाइसकिएको जानकारी दिए । उनका अनुसार चितवनमा सडक, सिँचाइ र पुलको काममा ठेकदार पक्षबाट लापर्बाही भएको देखिएको छ ।
जिल्लामा ३८ योजनाको जिम्मा लिएर तोकिएकोे समयमा काम नगर्ने ठेकेदारको विवरण केन्द्रमा पठाइएको जानकारी दिँदै उनले कतिपय आयोजनामा पेस्की रकम लिएर पनि काम नगरेको पाइएको जानकारी दिए ।
डिभिजन सडक कार्यालय चितवनअन्तर्गत आयोजनाको जिम्मा लिएर काम नगर्ने ३१ वटा निर्माण कम्पनी रहेका छन् । यसैगरी, भूमिगत तथा जल सिँचाइ विकास डिभिजन कार्यालयअन्तर्गत तीन, जिल्ला प्राविधिक कार्यालयअन्तर्गत एक र सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालयअन्तर्गत दुई ठेकेदारले समयमा काम सकेका छैनन् । कार्यप्रगतिका हिसाबले हेर्दा जम्मा ३८ आयोजनाका ठेक्कामध्ये १२ ठेकेदार कम्पनीले ५० प्रतिशत पनि काम सकेका छैनन् । ३८ आयोजनामा २६ वटा ५० प्रतिशतदेखि ९० प्रतिशतसम्म काम सक्ने ठेकदारहरू रहेको जिल्ला प्रशासनले जनाएको छ । काम सम्पन्न गर्नुपर्ने मितिबाट केही ठेकेदारले काम नै गर्न छाडेको पनि देखिएको छ । समयमा काम नगर्ने ठेकेदारलाई कामको प्रकृति र अवस्था हेरेर तत्काल कारबाहीको प्रक्रिया अघि बढाइने प्रजिअ बस्नेतले बताए ।
समयमा काम नसक्ने निर्माण कम्पनीहरूमा पूजा कन्स्ट्रक्सन (दुई आयोजना), भिजन कन्स्ट्रक्सन, नाना कन्स्ट्रक्सन, प्याल्दोर हिमाल निर्माण सेवा (तीन आयोजना), भरतपुर ब्रदर्स कन्स्ट्रक्सन, पृथ्वी निर्माण सेवा (दुई आयोजना), ओएस इन्जिनियरिङ निर्माण सेवा, विराज शिवशक्ति, प्यासिफिक बिल्डर्स प्रालि (दुई आयोजना) रहेका छन् ।
त्यसैगरी, आजीवन निर्माण सेवा, जेएनडी कन्स्ट्रक्सन, दीपाश्री इन्जिनियरिङ (दुई आयोजना), काष्ठमाण्डप कन्स्ट्रक्सन, आजीवन न्यु तीनकन्या जेभी, आजीवन निर्माण सेवा, ईशान कन्स्ट्रक्सन, त्रिशूली कन्स्ट्रक्सन, शारदा निर्माण सेवा, बज्रडङ कन्स्ट्रक्सन एन्ड सप्लायर्स पनि समयमै काम पूरा नगर्ने निर्माण कम्पनीहरू हुन् ।
त्यस्तै, अन्य कम्पनीहरूमा रूपल सुप्रिम कन्स्ट्रक्सन, डिभाइन लाइट कन्स्ट्रक्सन (तीन आयोजना), सूर्यश्री कन्स्ट्रक्सन, इको इन्जिनियरिङ, नेपाल तराई निर्माण तथा डिप ट्युबवेल, श्रीमन ड्रिलिङ एन्ड कन्स्ट्रक्सन प्रालि, महादेव ड्रिलिङ उद्योग, भमज्योति एमआर जेभी, चिता एन्ड सल्लेरी एसोसियट्स र पाल्पा इन्जिनियरिङ एन्ड बिल्डर्स छन् ।
प्रकाशित समय ०९:०२ बजे

















