गृहपृष्ठ विजयबाबु : सम्बन्ध र सम्झनाका दुई दशक

विजयबाबु : सम्बन्ध र सम्झनाका दुई दशक

gajen-bijayababu म दुर्घटनामा परेको समयमा साथमा विजयबाबु ।

विजयबाबुको निधन भएको पनि आठ वर्ष बितेछ । केही स्मृति, केही विस्मृतिका बीचमा उसलाई सम्झिरहेको छु । सम्झनाहरू असरल्ल छरिएका छन् । कहाँबाट थालौं, अन्योलमा छु । विजय र म, स्वभावले दुई ध्रुवका । ऊ ‘कुल’ मानिस, म अलिकता तातो । ऊ विशुद्ध शाकाहारी, म सर्वहारी । कसरी मित्रता भयो, दैव जाने ।

न्युज कारोबार टिमको अनुरोधमा विजयबाबुको स्मृतिमा केही लेखिरहँदा, एउटा कुरा नलेखी रहन सकिन । हामीले पत्रकारिताका आरम्भिक दिनहरूमा संघर्ष गरिरहँदा पत्रकारहरूमा पनि एउटा ‘क्लास’ थियो, कम्युनिस्टहरूका भाषामा वर्ग विभेद । अझै पनि छ । सायद यही वर्ग विभेदले हामीलाई नजिक्याएको थियो ।

०५४/५५ ताका विजयबाबु कविर राणाको अखबार पत्रिका सातदिनेमा काम गर्थे । म पनि राजधानीमा करिअर बनाउन भर्खर आफूलाई सक्रिय बनाउँदै थिए । नढाँटी भनौं- ऊ पनि ‘जुनियर’, म पनि ‘जुनियर’ । पछि उसले कान्तिपुरमा अवसर पाए । म त्यसबेलाका दोस्रो स्थानका अखबारमा । लामो समयसम्म विजयबाबु कान्तिपुरमा ‘स्ट्रिन्जर’ थिए । उनमा समाचार खोजको गजबको घ्राणशक्ति थियो । उनी समाचारका विषय वस्तु पहिल्याउँथे, टिप्थे, फिचर बनाउँथे ।

रिपोटर्स क्लबको स्थापनाताका उनी कोषाध्यक्ष थिए । पछि उनले क्लबमा सहभागिता छाडे । नेपाल आर्थिक पत्रकार समाज त्यसबेलाका ‘दाइ पत्रकार’हरू अर्थात् सिनियर आर्थिक पत्रकारहरूको क्लब थियो । त्यसबेला कम्प्युटरमै टाइप गरेर समाचार लेख्नसक्ने थोरै पत्रकारहरू थियौं, अर्थात् सूचना प्रविधिलाई बुझ्न सक्ने पत्रकारहरू निकै थोरै थियौं । राजीव सुब्बा त्यसबेला द काठमाण्डू पोष्टमा नियमित सूचना प्रविधि कोलम लेख्नु हुन्थ्यो । हामी दुई भाइ (विजय र म) कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान)मा गइरहन्थ्यौं । पहिलो क्यान इन्फोटेकदेखि नै हामी झन् बढी नजिकियौं । एक दिन राजीव दाइले तिमीहरू आईटी लेख्ने पत्रकारहरूले संस्था बनाओ भनेर सुझाव दिनुभयो । विजयले त्यसका खाका बनायो, विधान पनि बनायो । उसले नेता दाइ तिमी आइटी जर्नालिस्ट फोरमको अध्यक्ष बस भनेर प्रस्तावित ग-यो । तर, विभिन्न कारणले संस्था दर्ता भएन ।

लामो समयसम्म विजयबाबु कान्तिपुरमा ‘स्ट्रिन्जर’ थिए । उनमा समाचार खोजको गजबको घ्राणशक्ति थियो । उनी समाचारका विषय वस्तु पहिल्याउँथे, टिप्थे, फिचर बनाउँथे ।

मैले सेजनमा सदस्यका रूपमा भूमिका पाउन थालिसकेको थिएँ । एभरेष्ट नेट (इनेट)बाट पहिलो पटक सेजनका लागि एक वर्षे इन्टरनेट जडान गराएँ । विजयले आर्थिक पत्रकारहरूका लागि इन्टरनेटमा समाचार खोजीका तालिम गराउने प्रस्ताव राखे । लोचनलाल आमात्य क्यानका अध्यक्ष हुनुहुन्थ्यो । राजीव दाइका मध्यस्ततामा त्यो प्रस्ताव पारित भयो ।

माथि नै चर्चा गरेजस्तो कान्तिपुरमा विजयबाबुभन्दा अलिकता ‘सिनियर’ आर्थिक पत्रकारहरू धेरै जना भएकाले उनीहरू नै आर्थिक पत्रकार समाजको कार्यसमितिमा जान सक्रियताका साथ लागिरहेकाले विजयबाबुले सेजनमा आफ्नो भूमिका प्रत्यक्ष भूमिका देखाएनन्, तर उनी मलाई सेजनमा नेतृत्वका लागि सधैँ उकासिरहन्थे । विजयबाबु मलाई ‘नेता दाइ’ भन्थे र सेजनमा प्रस्तावहरू लैजानका लागि उनले मलाई सधैँ साथ दिन्थे । विजयबाबुसँग हिँड्दा मलाई कहिल्यै दुई वटा फरक-फरक र प्रतिष्पर्धी अखबारहरूमा काम गरिरहेको अनुभूति हुँदैन थियो ।

कहिलेकाहीँ त लाग्छ, समय आफ्नो गतिभन्दा अलि छिट्टै पनि हिड्छ अनि केही नमेटिने घाउहरू, चोटपटक अनि विस्मृतिहरू छाडेर जान्छ । जब ०६५ सालमा मेरो सडक दुर्घटना भयो मेरो उपचार प्रक्रियामा खटिने साथीहरूमध्ये विजयबाबु एक थिए । म दैनिकी.कममा सम्पादकका रूपमा सक्रिय हुँदाहुँदै विजयबाबुले नै आर्थिक दैनिक पत्रिका छाप्ने प्रस्ताव अगाडि बढाए । मैले नामाकरणदेखि खाका बनाउनेसम्म भूमिका निभाएँ । प्रतीक प्रधान दाइले त्यसको नेतृत्व गर्नुभयो । कारोबार दैनिकमा थुप्रै नयाँ पुस्ताका आर्थिक पत्रकारहरूलाई विजयबाबुको समाचार कक्ष नेतृत्वमा ‘ग्रो’ गराइयो ।

साथीका रूपमा बिताएका एक दशक, सहकर्मीका रुपमा बिताएका तीन वर्ष, अनि उनका सम्झनामात्रका यी ८ वर्ष । विजयबाबु यतै कतै भएझैं लाग्छ ।

मानवीय स्वभाव हो, हिँड्दा कतै ठेस लाग्छ, बोल्दा कतै चोट लाग्छ अनि पाइला चाल्दा पनि त्यस्तै हुन्छ । सानै उमेरमा एउटा संस्था सिर्जना गरेर त्यसलाई औपचारिक/अनौपचारिक नेतृत्व गर्दै जाँदा विजयबाबुले जति गर्नसके, छोटो अवधिमा नै गरेर देखाए । ०६८ सालको अकल्पनीय, असोचनीय र दुर्भाग्यपूर्ण- उनको परिवारका लागि, हामी सबै साथीभाइका लागि, आर्थिक पत्रकारिताका लागि- सडक दुर्घटनापछि उनको भौतिक शरीर हामीमाझ रहेन । तर, उनको सक्रियता, जुझारुपन, सोच र कार्यशैली सबैका लागि जीवनभर सम्झना बनेर रह्यो ।

कहिलेकाँही विजयबाबु मेरो सपनामा आउँछन् । केही अधुरा कुराहरू गरेर जान्छन् । साथीका रूपमा बिताएका एक दशक, सहकर्मीका रुपमा बिताएका तीन वर्ष, अनि उनका सम्झनामात्रका यी ८ वर्ष । विजयबाबु यतै कतै भएझैं लाग्छ, नयाँ केही फिचरको खोजीमा, नयाँ ग्याजेट खल्तीमा । झल्याँस् ब्युँझदा पो ऊ नफर्कने गरी टाढा भएको थाह हुन्छ । अलबिदा कान्छा ।

प्रकाशित समय १७:४४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु