गृहपृष्ठ व्यावसायिक प्यान र भ्याट दर्तामा कडाइ गर्दै सरकार
व्यावसायिक प्यान र भ्याट दर्तामा कडाइ गर्दै सरकार
सरकारले व्यावसायिक स्थायी लेखा नम्बर (प्यान) र मूल्य अभिवृद्धि कर (भ्याट) दर्तामा कडाइ गर्ने भएको छ । अन्य व्यक्तिका नाममा भ्याट वा प्यानमा दर्ता गरेर कर छल्ने प्रवृत्ति बढेपछि सरकारले यी करमा दर्ता हुने प्रक्रियामा निगरानी बढाउने निर्णय गरेको हो ।
आन्तरिक राजस्व विभागले आफूमातहतका सबै आन्तरिक राजस्व कार्यालय र करदाता सेवा कार्यालयका नाममा परिपत्र गरेर वास्तविक कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्क वा कम्पनी दर्ता गराउन निर्देशन दिएको छ ।
‘करदाता दर्ता हुँदा यदाकता वास्तविक रूपमा कारोबारमा संलग्न व्यक्ति/निकाय दर्ता नभइ कामदार वा अन्य असम्बिन्धत व्यक्तिका नामा कारोबार दर्ता गरी कारोबार गर्ने व्यक्तिले अन्य सामान्य अनजान व्यक्तिको नामबाट फाइला लिइ करको दायित्व सिर्जना गर्ने प्रवृत्ति देखिएको हुँदा वास्तविक रूपमा कारोबारमा संलग्न व्यक्तिका नाममा मात्र फर्म वा कम्पनी दर्ता भइ आफ्नो कारोबारको सुनिश्चितता गरी दर्ता गर्न/गराउन हुन जानकारी गराइन्छ,’ विभागको परिपत्रमा भनिएको छ ।
यस्तै राजस्व कार्यालय र करदाता सेवा कार्यालयहरूले करदाता दर्ता गर्दा गुणस्तरीय दर्तामा ध्यान दिएर वास्तविकत करदातामात्र एकीन गरेर दर्ता गराउन निर्देशन दिइएको छ ।
विभागले आर्थिक क्रियाकपापमा संलग्न सबैले स्थायी लेखा नम्बर र मूल्य अभिवृद्धि कर लाग्ने वस्तु तथा सेवाको कारोबार गर्नेहरूले सो करमा दर्ता भएर बिलबिजक जारी गरेको, खरिद बिक्री कारोबारको अभिलेख राखेको तथा समयमा कर दाखिला गरेको सुनिश्चित गर्नसमेत निर्देशन दिएको छ ।
चालू आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा लक्ष्यभन्दा कम राजस्व असुली भएसँगै सरकारले कर असुलीमा कडाइ गर्ने निर्णय गरेको हो ।
प्रकाशित समय १६:२५ बजे

















