गृहपृष्ठ किन बढ्दै छन् सम्बन्ध विच्छेदका घटना ?

किन बढ्दै छन् सम्बन्ध विच्छेदका घटना ?

सांकेतिक तस्बिर

अदालतमा सबैभन्दा धेरै सम्बन्ध विच्छेदका मुद्दा आउने गरेका छन् । आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा जिल्ला अदालत सुर्खेतमा दर्ता भएका मुद्दामध्ये सबैभन्दा बढी सम्बन्ध बिच्छेदका मुद्दा छन् ।

अदालतमा दर्ता भएका १ हजार ६०९ मुद्दामध्ये ३२७ मुद्दा सम्बन्ध विच्छेदका रहेको जिल्ला अदालत सुर्खेतका श्रेस्तेदार यामप्रसाद बास्कोटाले जानकारी दिए । ‘सुर्खेतमा मात्रै होइन,’ उनले भने, ‘देशभरि सम्बन्ध विच्छेदका घटना बढेका छन् ।’

महिलामा आएको चेतना, वैदेशिक रोजगारीका कारण आएको सामाजिक विचलनलगायतका कारण सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका हुन् । उनले अदालतमा सबै किसिमका मुद्दा आउने गरे पनि सबैभन्दा बढी दुनियावादी देवानीअन्तर्गत पारिवारिक विवादका घटना पनि धेरै आउने गरेको उनले जानकारी दिए ।

अदालतका अनुसार आर्थिक वर्ष २०७६/७७ को जेठ मसान्तसम्ममा दर्ता भएका ३२७ सम्बन्ध विच्छेदका मुद्दामध्ये १८४ वटा फर्छ्योट भएका छन् भने १४३ मुद्दा बाँकी छन् । त्यस्तै जबर्जस्ती करणीका ८७ मुद्दा अदालतमा दर्ता भएकोमा ४७ वटा फर्छ्योट भएका छन् । हाडनाता करणीका ७ मुद्दा दर्ता भएकोमा चार वटा फर्छ्योट भएको श्रेस्तेदार बास्कोटाले बताए ।

त्यस्तै जबर्जस्ती करणी उद्योगका २४ मुद्दा दर्ता भएका छन् भने १५ वटा फर्छ्योट भएका छन् । अदालतको तथ्यांकअनुसार लागु औषधका ८५ मुद्दा दर्ता भएकोमा ५७ र बहुविवाहका २७ मुद्दा दर्ता भएकोमा १४ वटा फर्छ्योट भए ।

ज्यानसम्बन्धी कसुरका ८३ मुद्दा दर्ता भएकोमा ५२, बालविवाहका पाँच मुद्दा दर्ता भएकोमा ४, छुवाछुत तथा भेदभावका दुई मुद्दा दर्ता भएकोमा एउटा, अपहरणसम्बन्धी कसुरका ११ मुद्दा दर्ता भएकोमा तीन, चोरी तथा डाँका कसुरका ८९ वटा मुद्दा दर्ता भएकोमा ४७ र आपराधिक लाभसम्बन्धी कसुरका २१ वटा मुद्दा दर्ता भएकोमा चारवटा फर्छ्योट भएको अदालतले जानकारी दिएको छ । त्यस्तै घरेलु हिंसाका ६६, किर्ते जालसाजीलगायतका ७५, गाली बेइज्जतीका २१ र चेक अनादरका ६१ मुद्दा सुर्खेत अदालतमा दर्ता भएका छन् ।

अधिवक्ता रमा प्याकुरेल सम्बन्ध विच्छेदका घटना बढ्नुका थुप्रै कारण रहेको बताउँछिन् । ‘महिलाले विस्तारै कानुन बुझ्दैछन्,’ उनी भन्छिन्, ‘आफू अन्यायमा परेको कुरामा समेत महिलाहरु जानकार हुँदै छन् ।’ महिला आत्मनिर्भर हुनु, चेतनाको स्तर बढ्नु र शिक्षित हुनुले पनि महिलाहरु पुरुषको अधिनमा बस्न नचाहनुका कारण भएको उनको बुझाइ छ ।

‘पहिले महिलाहरु श्रीमान्बाट धेरै पीडित हुन्थे,’ उनले थपिन्, ‘महिलाहरु सक्षम नहुँदा सबै अन्याय सहेर बस्नुको विकल्प थिएन । हिजोआज महिलाहरु जागरुक भई अदालतसम्म पुग्न सक्ने भएका छन् ।’

प्रकाशित समय ०९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु