गृहपृष्ठ विद्युत् चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ
विद्युत् चोरीको आरोपमा वडा अध्यक्ष पक्राउ
विद्युत चोरी गरेको आरोपका सप्तरीको एक गाउँपालिकाका वडा अध्यक्ष पक्राउ परेका छन् । सप्तरीमा जारी विद्युत् हुकिङ नियन्त्रण अभियानअन्तर्गत तिरुहत गाउँपालिकाबाट वडा अध्यक्षसहित २१ जनालाई आज पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजको संयुक्त अनुगमन टोलीले तिरुहत गाउँपालिका–५ का वडा अध्यक्ष रमानन्द चौधरीसहित २१ जनालाई विद्युत् चोरी गरेको आरोपमा पक्राउ गरेको विद्युत प्राधिकरण राजविराजले जनाएको छ ।
पक्राउ परेका वडा अध्यक्षसहितको नाम जिल्ला प्रहरी कार्यालय, सप्तरी र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले संयुक्तरुपमा तयार गरिएको मुचुल्कामा उल्लेख गरिएको छ ।
विद्युतको पोलमा हुकिङ् गरिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण साहले बताए । पक्राउ परेकाहरुको साथबाट दुई थान पानी तान्ने मोटर, दुई थान एलएडी टेलिभिजन एक थान पङ्खालगायतका सामान बरामद गरिएको प्रमुख साहले जानकारी दिए ।
(रासस)
प्रकाशित समय १७:०५ बजे
















